25th August | 2019 | Sunday | 5:28:09 PM

सन्दीपलाई भिसाले दिएको तनाव

हिमालय टाइम्स   POSTED ON : श्रावण २९, २०७६ (१०:३३ AM)

सन्दीपलाई भिसाले दिएको तनाव

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले मंगलबार काठमाडौंस्थित अमेरिकी राजदूतावासबाट भिसा लिन तनाव झेल्नु परेको छ । सम्पूर्ण आवश्यक कागजातहरु बुझाउदा पनि अमेरिकाले भिसा नदिदा सन्दीपले तनाव बेहोर्नुपरेको हो । तर, मिडिया तथा सामाजिक सञ्जालमा तीव्र आलोचना भएपछि दिउँसो पुनः दूतावासले सन्दीपलाई बोलाउँदै भिसा दिएको थियो ।

क्यारिबियन प्रिमियर लिग(सीपीएल) खेल्न वेष्ट इण्डिज जानका लागि सन्दीपका लागि अमेरिका ट्रान्जिट पर्ने गर्छ । त्यसैका लागि सम्पूर्ण कागजात बुझाउँदै सन्दीप मंगलबार दिउँसो अन्तर्वार्ताका लागि दूतावास पुगेका थिए । तर, दूतावासका कर्मचारीले भने उनलाई भिसा दिन अस्वीकार गरे ।

लगत्तै सन्दीपले ट्विटरमा गुनासो पोख्दै लेखे, ‘आउँदो क्यारिबियन प्रिमियर लिग–२०१९ का लागि मंगलबार म नेपालस्थित अमेरिकी राजदूतावासमा गएको थियो । राष्ट्रिय खेलाडीका रुपमा मैले २०१६ देखि विभिन्न विश्वका लिगमा सहभागिता जनाउँदै आएको  छु। मेरो भिसा अस्वीकार हुँदा म ठूलो आश्चार्यमा परे ।’

‘म निः शब्द भए र म हास्दै ती सबैकुरा हेरिरहेको थिए,’ उनले थपेका छन्, ‘मैले सम्पूर्ण आवश्यक कागजातहरु पूरा गर्दा पनि भिसा नपाउँदा आश्चार्यमा परे । खेलाडीका रुपमा यसले मलाई सीपीएलमा खेल्न समस्या पार्नेछ ।’

सन्दीपले ट्वीटमा नेपालस्थित अमेरिकी राजदूतावास, राजदूत एन्डी बेरी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली लगायतलाई मेन्सन गरेका थिए । त्यसलगत्तै मिडिया र सामाजिक सञ्जालमा सन्दीपको भिसा अस्वीकृत भएको खबर भाइरल बनेपछि दिउँसो पुनः दूतावासले रिभ्यू गर्ने भन्दै सन्दीपलाई बोलाएर भिसा दिएको हो । भिसा पाएपछि सन्दीपले सहयोगका लागि सबैप्रति आभार व्यक्त गरेका छन् ।

आगामी सेप्टेम्बर ४ तारिखबाट सुरु हुने यस सिजनको सीपीएलमा बार्बाडोस ट्रिडेन्ट्सबाट खेल्ने सन्दीप सेप्टेम्बर सुरुमै त्यसतर्फ प्रस्थान गर्ने योजनामा छन् । यस सिजनका लागि भने उनलाई बार्बाडोस ट्रिडेन्टस् क्लबले ७० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो । सीपीएलको अघिल्लो सिजनमा सन्दीपले सेन्ट किट्स एण्ड नोभिस प्याट्रियोट्सबाट खेलेका थिए । जसमा ५ खेल खेल्दै सन्दीपले ७ विकेट लिएका थिए । 

सन्दीपले सीपीएलसँगै इण्डियन प्रिमियर लिग, ग्लोबल टि–२० क्यानडा, अष्ट्रेलियाको बिगबास लिग, बंगलादेश प्रिमियर लिग, पाकिस्तान सुपर लिग र अफगानिस्तान प्रिमियर लिग लगायतका विदेशी लिगहरु खेलिसकेका छन् ।

 


Views: 112