25th August | 2019 | Sunday | 6:41:28 PM

एभिसी सेन्ट्रल जोन भलिबलको तयारी पूरा

हिमालय टाइम्स   POSTED ON : श्रावण २९, २०७६ (१०:३५ AM)

एभिसी सेन्ट्रल जोन भलिबलको तयारी पूरा

काठमाडौं । नेपालमा आयोजना हुन लागेको हालसम्मकै सबैभन्दा ठूलो भलिबल प्रतियोगिता एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ ।

नेपाल भलिबल संघले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । संघका महासचिव जितेन्द्रबहादुर चन्दले प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको, अफगानिस्तानको टोली आइसकेको छ बाँकी टोलीहरु आउने एकदुई दिनभित्रै नेपाल पुग्ने जानकारी दिए ।

लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा हुने प्रतियोगिता भदौ २ देखि भदौ ७ गतेसम्म संचालन हुनेछ । प्रतियोगिताका लागि आयोजनास्थलको तयारी पनि अन्तिम अवस्थामा रहेको चन्दले बताए ।

एसियन भलिबल संघको संयोजनमा हुने प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्किमिनिस्तान र उज्वेकिस्तानसहित ७ टोलीले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको खेल तालिका टेक्निकल टिमको बैठकपछि केहि दिनमा सार्वजनिक गर्ने उनलेब बताए ।

‘हामीले घरेलु तथा विदेशी टोलीका लागि सम्पूर्ण व्यवस्थापन गरिसकेका छौं,’ चन्दले भने, ‘यो नेपालको भलिबल इतिहासकै ठूलो प्रतियोगिता भएकाले यसलाई सफल पार्न कुनै कसुर बाँकी राख्नेछैनौं ।’ संघले विदेशी टिमलाई मध्यनजर गर्दै त्रिभुवन विमानस्थलमै हेल्प डेक्स स्थापना गरिएको जनाएको छ ।

यही च्याम्पियनसिपमा नेपालले दुई वर्षअघि माल्दिभ्समा भएको काँस्य पदक जितेको थियो । नेपालले हालसम्म अन्तर्राष्ट्रिय भलिबलमा प्राप्त गरेको त्यो एकमात्र पदक हो । नेपालले नेदरल्याण्डका प्रशिक्षक हान एबिङलाई असार पहिलो साता नेपाल झिकाएर आफ्नो तयारी सुरु गरिसकेको छ ।

एबिङले यसअघि नै इमबहादुर रानाको कप्तानीमा नेपाली टोली घोषणा गरिसकेका छन् । टोलीमा इमसँगै हरिहजुर थापा, नरेन्द्र गिरी, विशाल विक, राजकुमार निरौला, हरि अधिकारी, दुर्गा खड्का, दीपकराज जोशी, धनबहादुर भट्ट क्षेत्री, राजेन्द्र विष्ट, कुलबहादुर थापा, टेकराज अवस्थी, विनोदबहादुर चन्द र ईश्वर थापा मगर छन् ।

अफगानी टोली नेपालमा

नेपालसँगको मैत्रीपूर्ण खेलसँगै प्रतियोगितामा सहभागिता जनाउन अफगानिस्तानको पुरुष भलिबल टोली मंगलबार नेपाल आइपुगेको छ । टोलीलाई मंगलबार नेपाल भलिबल संघका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

नेपालले अफगानिस्तानसँग यही साउन २९ र ३० गते दुई मैत्रीपूर्ण खेल खेल्दैछ । उक्त खेल लगनखेलस्थित आर्मीको कभर्डहलमा हुनेछ । विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अफगानी टोलीका प्रशिक्षक मोहमद युसुफ सादेकले उपाधि जित्ने लक्ष्यसहित नेपाल आएको बताए ।

‘हाम्रो लक्ष्य उपाधि जित्नु नै हो । हामीले राम्रो तयारी गरेका छौं,’ उनले भने, ‘नेपालसँगै मैत्रीपूर्ण खेलले पनि प्रतियोगितामा सहयोग पुर्याउँनेछ । म मेरो टोलीमा केही कमजोरी देख्दिन ।’

Views: 117