7th July | 2020 | Tuesday | 4:24:45 AM

पाँच टोली नेपालमा

हिमालय टाइम्स   POSTED ON : श्रावण ३२, २०७६ (१०:२६ AM)

पाँच टोली नेपालमा

काठमाडौं । नेपालमा आयोजना हुन लागेको हालसम्मकै सबैभन्दा ठूलो भलिबल प्रतियोगिता एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा सहभागिताका लागि पाँच टोली नेपाल आइपुगेको छन् ।

भदौ २ गतेबाट सुरु हुने प्रतियोगितामा सहभागिताका लागि अफगानिस्तान, माल्दिभ्स, बंगलादेश, काजकिस्तान र तुर्ककिस्तान गरी पाँच टोली नेपाल आइपुगेका हुन् । अफगानिस्तान भने मंगलबार नै नेपालविरुद्ध दुईवटा मैत्रीपूर्ण खेलका लागि आइसकेको थियो । अफगानिस्तानले बुधबार र बिहीबार नेपालसँग दुईवटा मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलसमेत खेलेको थियो । जसको दुवैमा नेपाल विजयी रहृयो ।

त्यसबाहेक मादिल्स, बंगलादेश, काजकिस्तान र तुर्ककिस्तान भने शुक्रबार त्रिभुवन विमानस्थलमा उत्रेका हुन् । उनीहरूलाई नेपाल भलिबल संघका पदाधिकारीले स्वागत गरेका थिए । अन्तिम टोली उजेकिस्तान भने शनिबार बिहान नेपाल आइपुग्ने नेपाल भलिबल संघले जनाएको छ ।   

एसियन भलिबल संघको संयोजनमा हुने प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्किमिनिस्तान र उज्वेकिस्तानसहित ७ टोलीले प्रतिस्पर्धा गर्दैछन् । शुक्रबार बिहान माल्दिभ्सको टोली सबैभन्दा पहिले त्रिभुवन विमानस्थलमा ओर्लिएको थियो । मध्यान्न बंगलादेश, काजकिस्तान र तुर्ककिस्तान विमानस्थलमा ओर्लिएका थिए ।

बंगलादेशी टिमका प्रशिक्षक सइद लतिफले च्याम्पियन बन्ने लक्ष्य लिएर नेपाल आएको प्रतिक्रिया दिए ।  ‘प्रतियोगितामा सहभागिता जनाउने सबै टिमको लक्ष्य च्याम्पियन बन्ने नै हो,’ लतिफले भने, ‘हामी यसअघि नै च्याम्पियन भइसकेका छौं । यसपटक खेल्ने टोलीको तयारीकबारे म त्यति जानकार त छैन् । तर सबै टिम उत्तिकै बलिया भएकाले कडा प्रीतस्पर्धा हुने अनुमान गरेको छु ।’

यस्तै यसअघि नै नेपाल आइपुगेका अफगानी टोलीका प्रशिक्षक मोहमद युसुफ सादेकले उपाधि जित्ने लक्ष्यसहित नेपाल आएको बताएका छन् । ‘हाम्रो लक्ष्य उपाधि जित्नु नै हो । हामीले राम्रो तयारी गरेका छौं,’ उनले भने, ‘नेपालसँगै मैत्रीपूर्ण खेलले पनि प्रतियोगितामा सहयोग पु¥याउँनेछ । म मेरो टोलीमा केही कमजोरी देख्दिन ।’

नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको बताए । ‘हामीले घरेलु तथा विदेशी टोलीका लागि सम्पूर्ण व्यवस्थापन गरिसकेका छौं,’ चन्दले भने, ‘यो नेपालको भलिबल इतिहासकै ठूलो प्रतियोगिता भएकाले यसलाई सफल पार्न कुनै कसुर बाँकी राख्नेछैनौं ।’ संघले विदेशी टिमलाई मध्यनजर गर्दै त्रिभुवन विमानस्थलमै हेल्प डेक्स स्थापना गरिएको जनाएको छ ।

लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा हुने प्रतियोगिता भदौ २ देखि भदौ ७ गतेसम्म सञ्चालन हुनेछ । यही च्याम्पियनसिपमा नेपालले दुई वर्षअघि माल्दिभ्समा भएको कास्य पदक जितेको थियो । नेपालले हालसम्म अन्तर्राष्ट्रिय भलिबलमा प्राप्त गरेको त्यो एकमात्र पदक हो । नेपालले नेदरल्याण्डका प्रशिक्षक हान एबिङलाई असार पहिलो साता नेपाल झिकाएर आफ्नो तयारी सुरु गरिसकेको छ ।

एबिङले यसअघि नै इमबहादुर रानाको कप्तानीमा नेपाली टोली घोषणा गरिसकेका छन् । टोलीमा इमसँगै हरिहजुर थापा, नरेन्द्र गिरी, विशाल विक, राजकुमार निरौला, हरि अधिकारी, दुर्गा खड्का, दीपकराज जोशी, धनबहादुर भट्ट क्षेत्री, राजेन्द्र विष्ट, कुलबहादुर थापा, टेकराज अवस्थी, विनोदबहादुर चन्द र ईश्वर थापा मगर छन् ।

 


Views: 207