15th September | 2019 | Sunday | 8:02:32 PM

नेपालको शानदार जित

हिमालय टाइम्स   POSTED ON : भदौ २३, २०७६ (१०:३३ AM)

नेपालको शानदार जित

काठमाडौं । नेपालले किर्गिस्तानमा आइतबारबाट सुरु भएको नादेझ्दा कप महिला फुटबल प्रतियोगितामा शानदार सुरुवात गरेको छ । फरवार्ड सावित्रा भण्डारीले हृयाट्रिकलेसहित ४ गोल गरेपछि नेपालले आयोजक किर्गिस्तानलाई ८–२ गोलअन्तरले पराजित गरेको हो । 

नेपालको जितमा सावित्राले ४, अनिता बस्नेतले २ तथा दीपा राई र कप्तान निरु थापाले समान १–१ गोल गरे । चार राष्ट्र सहभागी प्रतियोगितामा किर्गिस्तानविरुद्ध नेपालले पहिलो हाफमा आधा दर्जन गोल गरेको थियो भने दोस्रो हाफमा थप दुई गोल थप्यो ।

तेस्रो मिनेटमै सावित्राले नेपाललाई सुरुवाति अग्रता दिलाइन् । विपक्षी गोलरक्षकले गरेको प्रहार डी बक्स नजिकै नेपाली खेलाडीको खुट्टामा पुगेका बेला निरु थापाको पासमा सावित्राले पोष्टको बायाँ क्षेत्रबाट सुरुवाति गोल गरेकी थिइन् ।

१५औं मिनेटमा सावित्राले उत्कृष्ट दोस्रो गोल गरिन् । मैदानको मध्यभागबाट पाएको पासमा उनले डी बक्सको बाहिरबाट सुन्दर गोल गरेकी थिइन् । १९औं मिनेटमा डीबक्स बाहिरबाट वान भर्सेस वानमा किर्गिस्तानका खेलाडीले एक गोल फर्काए । २२औं मिनेटमा मैदानको मध्यभागबाट किर्गिस्तानका खेलाडीले प्रहार गरेको सट नेपाली गोलपोष्टको माथिल्लो भागमा लाग्दै फर्किएको थियो । उक्त बललाई डी बक्सभित्र रहेका किर्गिस्तानका खेलाडीले गोलमा परिणत गर्दै खेल २–२ को बराबरीमा ल्याएका थिए । 

२५औं मिनेटमा सावित्राको पासमा दीपाले पेनाल्टी क्षेत्रबाट गोल गर्दै पुनः नेपाललाई अग्रता दिलाइन् । ३०औं मिनेटमा किर्गिस्तानका खेलाडीलाई लाग्दै डी बक्समा पाएको बललाई जाली चुमाउँदै सावित्राले हृयाट्रिक पूरा गरिन् ।

३४औं मिनेट सावित्राले पोष्ट नजिकै अनिता बस्नेतलाई मिलाइदिएको पासमा अनिता चुकिनन् । यस्तै ३७औं मिनेटमा अनिताको पासमा निरुले गोल गरेपछि पहिलो हाफमा नेपाल ६–२ ले अघि रहृयो ।

दोस्रो हाफको खेलको ५३औं मिनेटमा सावित्राले पेनाल्टी एरिया भन्दा बाहिरबाट फ्रिकिकमा गोल गर्दै व्यक्तिगत चौथो गोल पूरा गरिन् । अन्तिम मिनेटमा अनिता बस्नेतले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ८–२ को जित दिलाइन् ।

नादेझ्दा कपमा नेपालससहित आयोजक किर्गिस्तान, उज्वेकिस्तान र ताजकिस्तान भिड्दै छन् । राउन्ड रोविनका आधारमा हुने खेलमा नेपालले अर्को खेल भदौ २३ गते उज्वेकिस्तानसँग र भदौ २४ गते ताजिकिस्तानसँग खेल्नेछ । भदौ २६ गते शीर्ष २ टोलीले उपाधिका लागि र त्यसपछिका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले आगामी मंसिरमा हुने दक्षिण एसियाली खेलकुद सागको अन्तिम तयारीका लागि यो प्रतियोगिता खेलेको हो । सागमा नेपालले स्वर्ण ल्याउने लक्ष्य लिएको छ । नेपालले घरेलु मैदानमा ३ महिनाको अभ्यास गरेको थियो । 


Views: 58

सम्बन्धित सामग्री:

एनओसीकोे निर्वाचन शनिबार

: भदौ २६, २०७६ (१:४१ PM)