15th September | 2019 | Sunday | 8:53:23 PM

अंक जोड्ने अवसर

हिमालय टाइम्स   POSTED ON : भदौ २४, २०७६ (१०:०५ AM)

अंक जोड्ने अवसर

काठमाडौं । कतार विश्वकप २०२२ को दोस्रो चरण र एसियन कप २०२३ को छनोट अन्तर्गतको दोस्रो खेलमा नेपालले मंगलबार चाइनिज ताइपेको सामना गर्दैछ । खेल नेपाली समयानुसार दिउँसो ४ बजेर ५५ मिनेटमा ताइपे रंगशालामा हुनेछ । 

प्रतियोगिताका लागि नेपाली टोली आइतबार बिहानै ताइपे पुगिसकेको छ । त्यहाँ दुई दिनको अभ्यासपश्चात् नेपाल मंगलबार घरेलु टोलीको सामना गर्न लागेको हो । छनोटको पहिलो खेलमा नेपाल र कुवेत दुवै पराजित भएका थिए । नेपाल कुवेतसँग ७–० गोलअन्तरले पराजित हुँदा कुवेत जोर्डनसँग २–१ गोलअन्तरले हारेको थियो । 

समूह बीमा रहेका दुवै टोली अंकविहीन हुँदै पुछारमा छन् । गोलअन्तरका आधारमा ताइपे तेस्रो र नेपाल चौथो स्थानमा छ । त्यसैले दुवै टोलीले यस खेललाई अंक जोड्ने अवसरका रूपमा प्रयोग गर्नेछन् । खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान किरण चेम्जोङ र प्रशिक्षक योहान कालिनले नेपाल खेलका लागि तयार रहेको बताए । 

नियमित कप्तान विराज महर्जनले आराम पाएपछि कप्तानको जिम्मेवारी सम्हालिरहेका किरणले भने, ‘हामीले ताइपेई आएर आइतबार नै हल्का प्रशिक्षण गर्यौं । हाम्रो तयारी यहाँ आउनुअघि नै भएको थियो । कुवेतविरुद्ध खेलपछि नै यस खेलबारे हामीले सोच्न थालेका छौं । हामी खेलका लागि तयार छौं ।’ 

नेपालले यसअघि यसै वर्ष जुलाईमा चाइनिज ताइपेविरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो । नेपालले ताइपेविरुद्ध हालसम्म खेलेको एकमात्रै खेल त्यही हो । उक्त खेलमा बलियो ताइपेविरुद्ध नेपालले १–१ को बराबरी खेलेको थियो । 

फिफा वरियतामा ताइपे नेपालभन्दा ४१औं स्थानमाथि छ । ताइपे १ सय २५औं स्थानमा हुँदा नेपाल १ सय ६६औं स्थानमा छ । यसअघिको मैत्रीपूर्ण खेलमा बराबरीको नतिजाले नेपाल उत्साहित छ । तर, नेपाली प्रशिक्षक कालिन पुरानो नतिजा हेरेरमात्रै नहुने बताउँछन् ।

खेलअघि उनले भने, ‘हामीले पुरानो नतिजा हेरेर हुन्न । उक्त खेल मैत्रीपूर्ण थियो भने यो प्रतिस्पर्धात्मक खेल हो । नतिजा निकै महŒवपूर्ण हुने कारण पनि दुवै टोलीको रणनीति फरक हुन सक्छ ।’ कुवेतविरुद्ध फराकिलो हारका विषयमा बोल्दै कालियनले उक्त नजिता आश्चार्यजनक भएको बताए । ‘हामीले खेलको सुरुवाती समयमा नै गोल खायौं । दोस्रो हाफमा सम्हालिन नसक्दा फराकिलो हार व्यहोर्नुप¥यो । डिफेन्समा साना गल्ति नै हामीले महँगो मूल्य चुकाउनु प¥यो । अब ताइपेईविरुद्ध ती गल्ती सच्याउनुपर्छ,’ उनले भने ।

विश्वकप छनोटमा नेपाल समूह बीमा छ । नेपालको समूहमा अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपे रहेका छन् । नेपाली टोलीमा किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ, सरोज दाहाल, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल र सुमन अर्याल छन् । 

यस्तै मिडफिल्डरमा रोहित चन्द, सुनिल वल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ र विशाल राई तथा फरवार्डमा विमल घर्तीमगर, अभिषेक रिजाल र विमल राना छन् ।


Views: 73

सम्बन्धित सामग्री:

एनओसीकोे निर्वाचन शनिबार

: भदौ २६, २०७६ (१:४१ PM)