15th September | 2019 | Sunday | 7:54:48 PM

विश्वकप छनोटः नेपालको ऐतिहासिक जित

हिमालय टाइम्स   POSTED ON : भदौ २५, २०७६ (९:५१ AM)

विश्वकप छनोटः नेपालको ऐतिहासिक जित

काठमाडौं । नेपालले फिफा विश्वकप दोस्रो चरणको छनोटमा पहिलोपटक ऐतिहासिक जित हात पारेको छ । अञ्जन विष्ट नायक बनेपछि नेपालले मंगलबार चाइनिज ताइपेईलाई २–० ले पराजित गर्दै ऐतिहासिक जित हात पारेको हो ।

कुवेतविरुद्ध ७–० को हार ब्यहोरेको ५ दिनपछि नेपालले चाइनिज ताइपेईविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै ऐतिहासिक जित हात पारेको हो । नेपालको जितमा दुवै हाफमा अञ्जन विष्टले दुई गोल गरेका थिए ।

खेलको तेस्रो मिनेटमै अञ्जनको गोलमा नेपालले सुरुवाती अग्रता लियो । अञ्जनको झण्डै २५ यार्ड टाढाबाट गरेको फ्रिकिक गोलमा परिणत भएपछि नेपाली खेलाडीको मनोबल उच्च बनेको थियो । यस्तै ६२औं मिनेटमा अञ्जले दोस्रो गोल गरे । रवि पासवानको पासलाई सुजल श्रेष्ठले हेडर गर्दै अञ्जनलाई पास मिलाइदिएका थिए । उक्त पासलाई पेनाल्टी क्षेत्र नजिकैबाट पहिलो टचमै अञ्जनले दोस्रो गोल गरे ।

जितसँगै नेपालले महŒवपूर्ण तीन अंक हासिल गरेको छ । उक्त अंकसहित नेपाल अंक तालिकाको पुछारबाट माथि उक्लिँदै तेस्रो स्थानमा आइपुगेको छ । समान ३–३ अंक भए पनि गोलअन्तरका आधारमा जोर्डन शीर्ष स्थानमा छ भने कुवेत दोस्रो स्थानमा छ । अष्ट्रेलियाले कुनै खेल खेलेको छैन् । ताइपेई लगातार दोस्रो हारपछि पुछारमा छ । 

फिफा वरियतामा नेपालभन्दा ४१औं स्थानमाथि रहेको ताइपेईविरुद्ध नेपालको यो पहिलो जित हो । यसअघि नेपाल र ताइपेले तीन महिना मैत्रीपूर्ण खेल खेलेका थिए । जुन खेल १–१ को बराबरीमा सकिएको थियो । 

कुवेत गत बिहीबार ७–० को हार ब्यहोरेपछि नेपाली प्रशिक्षक योहान कालिनले यस खेलमा तीन खेलाडी परिवर्तन गरेका थिए । जसमध्येका यस खेलका नायक अञ्जन पनि एक थिए । मिडफिल्डर विक्रम लामाको स्थानमा अञ्जनलाई मौका दिइएको थियो । अञ्जनसँगै टोलीमा दिनेश राजवंशी र रजिन धिमालले पहिलो रोजाइमा स्थान बनाएका थिए ।

फिफा वरियताको शीर्ष ३४ भित्र परेपछि नेपालले पहिलो चरणको छनोट खेल्नुपरेको थिएन् । दोस्रो चरणको छनोटमा नेपालले अब असोज २३ गते अष्ट्रेलियाको सामना गर्नेछ । दोस्रो चरणमा विभिन्न ८ समूहमा बाडिएका ४० राष्ट्रले प्रतिस्पर्धा गर्देछन् । समूहका शीर्ष टोली र उत्कृष्ट चार उपविजेता टोली अन्तिम चरणमा पुग्नेछन् । नेपाल समूह बीमा छ । 

नेपालको समूहमा कुवेत, अष्ट्रेलिया र जोर्डन छन् । सबै टोलीले होम एण्ड अवेको आधारमा प्रतिस्पर्धा गर्नेछ । नेपालले होम खेलहरूमा मंसिर ३ गते कुवेत, चैत १३ गते चाइनिज ताइपे, चैत २८ गते अष्ट्रेलिया र २०७७ जेठ २२ गते जोर्डनविरुद्ध दशरथ रंगशालामा खेल्दैछ ।

चाइनिज ताइपेविरुद्ध नेपालको सुरुवाती ११ मा मौका पाउने खेलाडीहरू किरण चेम्जोङ दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, विशाल राई, रोहित चन्द, अञ्जन विष्ट, रवि पासवान, सुजल श्रेष्ठ र विमल घर्तीमगर थिए । 


Views: 64

सम्बन्धित सामग्री:

एनओसीकोे निर्वाचन शनिबार

: भदौ २६, २०७६ (१:४१ PM)