21st February | 2020 | Friday | 1:01:23 PM

पोर्चुगलको जितमा रोनाल्डोको कीर्तिमान

एजेन्सी   POSTED ON : भदौ २६, २०७६ (९:४३ AM)

पोर्चुगलको जितमा रोनाल्डोको कीर्तिमान

लण्डन । क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनसँगै पोर्चुगलले युरो कप २०२० को छनोटअन्तर्गत मंगलबार राति भएको खेलमा लिथोनियालाई ५–१ गोलअन्तरले पराजित गरेको छ । त्यसक्रममा रोनाल्डोले हृयाट्रिकसहित चार गोल गरे । 

चार गोलसँगै अन्तर्राष्ट्रिय फुटबलमा रोनाल्डोको ९३ गोल पुगेको छ । इरानका अली दाईको विश्व कीर्तिमानी अन्तर्राष्ट्रिय गोलसंख्या भन्दा यो १६ कम हो । युरो छनोटमा भने रोनाल्डो सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । यी चार गोलसँगै युरो छनोटमा रोनाल्डाको गोलसंख्या २५ पुगेको छ । उनले आयरल्यान्डका रोबी किनको २३ गोलको कीर्तिमानलाई तोडेका हुन् । 

खेलको सातौं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । मिकोलिउनासले जोओ फेलिक्सलाई फल गरेपछि प्राप्त पेनाल्टीमा रोनाल्डोले सहजै गोल गरे । २८औं मिनेटमा भेटाउटास एन्ड्रियुसकेभिसले बराबरी गोल फर्काउँदा पहिलो हाफ बराबरीमा सकिएको थियो ।

६२औं मिनेटमा राफा सिल्भाको पासमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरेपछि पोर्चुगल खेलमा २–१ले अघि बढ्यो । त्यसको तीन मिनेटपछि नै बर्नाडो सिल्भाको पासमा रोनाल्डाले हृयाट्रिक पूरा गर्दा पोर्चुगल खेलमा ३–१ले अघि बढ्यो । 

रोनाल्डोले ७६औं मिनेटमा बर्नाडोकै पासमा चौथो गोल गरे । अन्तिम मिनेटमा विलियम कार्भाल्होले गोल गर्दै पोर्चुगललाई ५–१को फराकिलो जित दिलाए ।

पोर्चुगलले समूह ‘बी’मा ४ खेलबाट ८ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । लिथुआनिया १ अंकसहित पुछारमा छ । यही समूहको अर्काे खेलमा सर्वियाले लक्जेमवर्गलाई ३–१ले हरायो । सर्विया ७ अंकसहित तेस्रो तथा लक्जेमवर्ग ४ अंक जोडेर चौथो स्थानमा छ ।

मार्टिनेजको हृयाट्रिक

अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई ४–० गोल अन्तरले पराजित गरेको छ । अर्जेन्टिनाको जितमा लाउटारो मार्टिनेजले हृयाट्रिक गरे । यस्तै लिएन्ड्रो डानिलले एक गोल थपे । अर्जेन्टिनाले पहिलो हाफमै चार गोल गरेको थियो । 

१७औं र २२औं मिनेटमा मार्टिनेजले तथा ३३औं मिनेटमा डानिलले पेनाल्टीमा गोल गरेका थिए । ३९औं मिनेटमा मार्टिनेजले हृयाट्रिक पूरा गर्दै अर्जेन्टिनालाई ४–० को जित दिलाए । 

ब्राजिल पराजित

मंगलबार राति नै भएको अर्को अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिललाई पेरुले १–० गोल अन्तरले पराजित गरेको छ । पेरुलाई जित दिलाउन लुइस अब्रामले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा पेरुले गोल गरेको थियो । खेलको ८४औं मिनेटमा अब्रामले गोल गरेका थिए ।

उरुग्वे र अमेरिकाको बराबरी

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमै उरुग्वे र अमेरिकाले १–१ गोलको बराबरी खेलेका छन् । अमेरिकामा बुधबार विहान भएको खेलको ५०औं मिनेटमा ब्रेन रोड्रिगेजले गोल गर्दै उरुग्वेलाई अग्रता दिलाएका थिए । खेलको ७९औं मिनेटमा जोर्डन मोरिसले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा टुंग्गाए ।


Views: 118