19th October | 2019 | Saturday | 8:25:58 PM

खराब मौसमका कारण पूर्वाञ्चल अन्तर्रा्ष्ट्रिय गोल्डकप स्थगन

  POSTED ON : आश्विन ९, २०७६ (६:५९ PM)

खराब मौसमका कारण पूर्वाञ्चल अन्तर्रा्ष्ट्रिय गोल्डकप स्थगन

झापा । झापाको विर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा यही असोज ११ गतेदेखि हुने भनिएको पूर्वाञ्चल अन्तर्रा्ष्ट्रिय गोल्डकप मौसम खराबका कारण स्थगन गरिएको छ । आज रङ्गशालामा पत्रकार सम्मेलन गरी आयोजक जायोन स्पोर्टस् क्लबले खराब मौसमकै कारण प्रतियोगिता स्थगन गर्नुपरेको जानकारी दिएको हो । 

आयोजक क्लबका प्रवक्ता अविनाश राईले मैदानको अवलोकनपछि खेल प्राविधिकहरुको निचोड र मौसमविद्को पूर्वानुमानलाई मध्यनजर गरी खेल स्थगन गरिएको जानकारी दिए । उनले खेल सञ्चालनका लागि कात्तिक २ गतेदेखि ९ गतेसम्म अर्को मिति तय गरिएको बताए । उनका अनुसार अर्को मितिका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई पत्राचार गरिएको छ ।

  प्राविधिकहरुका अनुसार मैदानमा पानी जमेकाले खेल सञ्चालन गर्दा हिलो हुने, खेलाडी लड्न गई चोटपटक लाग्ने सम्भावना बढी भएकाले पनि खेल स्थगन गरिएको उनको भनाइ थियो । प्रतियोगिताको तयारी पूर्ण अवस्थामा भएर पनि खेल स्थगन गर्नुपर्दा दुःख लागेको उनले पत्रकारहरुलाई बताए ।

असोज ११ गतेदेखि १८ गतेसम्म हुने भनिएको गोल्डकपमा यसअघि चार वटा ए डिभिजन क्लब, मोफसलका दुई र भारतका दुई टिमले सहभागिता जनाउने खेल तालिका सार्वजनिक गरिएको थियो ।


Views: 118