19th October | 2019 | Saturday | 8:04:27 PM

अष्ट्रेलियालाई चुनौती दिने लक्ष्य

हिमालय टाइम्स   POSTED ON : आश्विन १५, २०७६ (११:२३ AM)

अष्ट्रेलियालाई चुनौती दिने लक्ष्य

काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ को दोस्रो चरणको छनोटअन्तर्गत समूह चरणको तेस्रो अवे खेलमा नेपालले आगामी असोज २३ गते अष्ट्रेलियाविरुद्ध उसैको मैदानमा खेल्दैछ । 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार अष्ट्रेलियासँग खेल्ने नेपाली टिमको बिदाइ गरेको छ । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेश सिलवाल, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, उपाध्यक्ष पंकज नेम्बाङलगायतले बिदाइ गरेका थिए । 

नेपाली टिम बुधबार अपराहृन त्यसतर्फ जाने छन् । छनोटको समूह ‘बी’ मा रहेको नेपालले असोज २३ गते अष्ट्रेलियासँग उसैको मैदानमा खेल्नेछ । विश्वकप खेलेको अष्ट्रेलियालाई नेपालले कडा चुनौती दिने लक्ष्य राखेको छ । अष्ट्रेलिया फिफा वरियतामा ४४ औं स्थानमा छ भने नेपाल १६१ औं स्थानमा छ । 

नियमित कप्तान विराज महर्जन टोलीमा नपरेपछि यसपटक पनि टोलीको कप्तानी किरण चेञ्जोङले गर्दैछन् । उनले आफूहरू अष्ट्रेलियाविरुद्ध खेल्न तयारी अवस्थामा रहेको बताए । ‘हाम्रो टिम तयार छ। चाइनिज ताइपेविरुद्ध जित हात पारेपछि हामीले तयारी थालेका हौं,’ उनले भने, ‘अष्ट्रेलिया जस्तो बलियो टोलीसँग खेल्न पाउँदा म लगायत टिमका सबै सदस्यहरू उत्साहित छौं । हामी विश्वमा गोर्खाली भनेर चिनिन्छौं । गोर्खालीकोे प्रिट भनेको कहिले हार्ने हुँदैन् । हामी पनि हार मान्दैनौं । म्याच नसकिएसम्म उनीहरूसँग फाइट गर्नेछौं । केही गरेर आउँछौं भन्ने लागेको छ ।’

अष्ट्रेलियासँग खेल्ने नेपाली टोलीको घोषणा मंगलबारै भइसकेको छ । नेपाली टिमको गोलकिपरमा किरण चेम्जोङ, विकेश कुथु र विशाल श्रेष्ठ छन् । यस्तै रक्षकमा सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल र सुमन अर्याल छन् ।

यस्तै मिडफिल्डरमा रोहित चन्द, सुनिल वल, रवि पासवान, अञ्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ र विशाल राई छन् भने फरवार्डमा विमल घर्तीमगर, अभिषेक रिजाल र नवयुग श्रेष्ठ छन् । 

नेपाली प्रशिक्षक योहान कालिनले अष्ट्रेलिया निकै बलियो प्रतिद्वन्द्वी भए पनि आफूहरू आफ्नो गेममा ध्यान दिने बताए । ‘हामी विपक्षी जस्तो भए पनि आफ्नो गेममा ध्यान दिनेछौं । उनीहरूको खेलमा ध्यान दिए हामी कन्फुज हुन सक्छौं,’ उनले भने, ‘उनीहरूविरुद्ध हामीले सक्दो बलियो प्रदर्शन गर्नुपर्छ । हामीले राम्रो प्रदर्शन गर्ने अपेक्षा गरेका छौं ।’ 

‘गेममा के हुन्छ भन्न सक्दैन । रिजल्टलाई कन्ट्रोल गर्न सकिँदैन,’ उनले भने, ‘हामीले कडा मिहिनेत गरेका छौं । तर हाम्रो विपक्षी पनि सुपर बलियो छ । हामीले गेम प्लान फलो गर्न सक्यौं भने अंक आउँने आशा गरेका छौं ।’ 

छनोटमा नेपाल २ खेलमा ३ अंक जोडेर चौंथो स्थानमा छ । छनोटको पहिलो खेलमा नेपालले कुवेतसँग उसैको मैदानमा ७–० को हार व्यहोरेको थियो । तर, दोस्रो खेलमा चाइनिज ताइपेलाई २–० ले हराउँदै उत्कृष्ट पुनरागमन गरेको थियो । अष्ट्रेलिया १ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा छ । यस समूहमा २ खेलमा ३ अंक जोडेको कुवेत शीर्ष स्थानमा छ । ३ अंक जोडेको जोर्डन तेस्रो र अंकविहीन ताइपे पुछारमा छ ।

खेलाडीले पाए पुरस्कार रकम

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले यसअघि घोषणा गरेको पुरस्कार रकम खेलाडीलाई वितरण गरेको छ । एन्फाले मंगलबार एक कार्यक्रमबीच खेलाडी तथा अफिसियललाई पुरस्कार रकम वितरण रहेको हो । 

एन्फाले विश्वकप छनोटअन्तर्गत चाइचिज ताइपेविरुद्व खेल्ने सिनियर फुटबल टिमका सदस्यलाई जनही २५ हजार रुपैयाँ दिने भएको छ । उक्त रकम बुधबारै खेलाडीको खातामा हालिदिने एन्फाले जनाएको छ । विश्वकप छनोटमा आफूभन्दा माथिल्लो वरियताको ताइपेलाई २–० ले हराएपछि एन्फाले सिनियर टोलीका सदस्यलाई पुरस्कार रकम दिएको हो । 

यस्तै भारतको कोलकत्तामा अघिल्लो महिना भएको साफ यु–१५ मा उपविजेता बनेको टिमका सदस्यलाई जनही २५ हजार रुपैयाँ दिने एन्फाले जनाएको छ । उक्त रकम पनि बुधबार सबै खेलाडीको खातामा पुगिसक्ने एन्फाले जनाएको छ । 

साफ यु–१८ मा समूह चरणबाट बाहिरिएका खेलाडीलाई समेत जनही १० हजार दिने घोषणा गरेको छ । यस्तै एन्फाले कीर्गिस्तानमा भएको नादेझ्दा कप फुटबल प्रतियोगितामा उपविजेता बनेको महिला टिमका सदस्यलाई जनही ५० हजार रुपैयाँ दिने भएको छ । संघले पुरस्कार रकम खेलाडीको खातामा तत्काल राखिदिने बताएको हो ।

यस्तै एन्फाले गतवर्ष भएको पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगका व्यक्तिगत स्पर्धामा उत्कृष्ट बनेका खेलाडी र प्रशिक्षकलाई उनीहरूकोे पुरस्कारबापतको मोटरसाइकल र ५० हजार नगद पनि प्रदान गरेको छ । लिग गत पुष २४ गते सकिएको थियो । जसमा मनाङ मर्स्याङ्दी च्याम्पियन बनेको थियो ।

लिगमा मनाङका विशाल श्रेष्ठ उत्कृष्ट गोलरक्षक, हेमन गुरुङ उत्कृष्ट मिडफिल्डर र सुमन श्रेष्ठ उत्कृष्ट प्रशिक्षक चुनिएका थिए । यस्तै थ्रीस्टारका रेजिन धिमाल उत्कृष्ट डिफेन्डर र आर्मीका भरत खवास उत्कृष्ट फरवार्ड चुनिएका थिए ।

यस्तै एन्फा डेका दिन घोषित उत्कृष्ट जिल्ला फुटबल संघ मोरङलाई १ लाख, उत्कृष्ट क्लब मनाङ मस्र्याङ्दीलाई १ लाख, उत्कृष्ट पुरुष रेफ्री लव खत्रीलाई स्कुटर र १ लाख, उत्कृष्ट महिला रेफ्री अस्मिता मानन्धरलाई स्कुटर र १ लाख तथा उदीयमान खेलाडीद्वय अभिषेक रिजाल र मञ्जली कुमारी योन्जनलाई पनि एन्फाले स्कुटर हस्तान्तरण गरेको छ ।

त्योसँगै लाइफ टाइम एचिभमेन्ट अवार्डबाट पूर्वप्रशिक्षक भगिरथ आलेले ३ लाख ५० हजार र एक थान मोटरसाइकल पुरस्कार भएका छन् भने विशेष पुरस्कार स्वरुप अनु लामा र जुमानु राई जनही १५ लाख घोषित पुरस्कार एन्फाले हस्तान्तरण गरेको छ । 


Views: 99