21st February | 2020 | Friday | 10:49:13 AM

‘क्यान’माथिको निलम्बन फुकुवा

हिमालय टाइम्स   POSTED ON : आश्विन २८, २०७६ (१०:१४ AM)

‘क्यान’माथिको निलम्बन फुकुवा

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले नेपाल क्रिकेट संघ (क्यान)माथि लगाएको निलम्बन सशर्त फुकुवा गरेको छ । दुबईमा सोमबार सम्पन्न आइसिसीको बोर्ड बैठकले क्यानमाथिको निलम्बन सशर्त फुकुवा गर्ने निर्णय गरेको हो ।

बैठकपछि जारी आइसिसीको विज्ञप्तिमा निलम्बन फुकुवाको शर्तबारे भने खुलाइएको छैन । ‘नेपालमा भएको प्रगतिलाई मध्यनजर गर्दै अब एसोसिएट सदस्यताको सबै मापदण्डहरू पालना गर्न नेपाल क्रिकेट संघको संक्रमणकालीन योजना बनाइनेछ, जसमा नियन्त्रित फण्डिङ पनि हुनेछ,’ आइसिसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

नेपाली क्रिकेटमा सरकारी हस्तक्षेप भएको र निर्वाचन स्वतन्त्र र निष्पक्ष नभएको भन्दै आइसिसीले २०७३ वैशाखमा क्यानलाई निलम्बन गरेको थियो । त्यसपछि आइसिसीकै प्रत्यक्ष संग्लग्नतामा गठन गरिएको सल्लाहकार समिति र स्वतन्त्र समितिको मातहत जिल्ला, प्रदेश र असोज ३ गते केन्द्रीय निर्वाचन सम्पन्न भएको थियो ।

चतुरबहादुर चन्दको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति निर्वाचित भएसँगै क्यानमाथिको निलम्बन फुकुवाको बाटो खुलेको हो ।


Views: 123