8th April | 2020 | Wednesday | 1:54:54 AM

गांगुली बीसीसीआईको अध्यक्ष !

एजेन्सी   POSTED ON : आश्विन २८, २०७६ (११:१० AM)

गांगुली बीसीसीआईको अध्यक्ष !

दिल्ली । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)को अध्यक्षमा पूर्वभारतीय राष्ट्रिय क्रिकेट टोलीका कप्तान सौरभ गांगुली चयन हुने निश्चितजस्तै बनेको छ । आगामी अक्टोबर २३ मा बीसीसीआईको नयाँ निर्वाचन हुँदैछ । त्यसका लागि सोमबारसम्म मनोनयदर्ताको समय तोकिएकोमा आकांक्षी गांगुलीको नाममा सर्वसम्मत देखिएका छ । 

भारतीय सञ्चारमाध्यमका अनुसारअहिले बंगाल क्रिकेट एसोसिएनका अध्यक्षसमेत रहेका गांगुलीसहित शनिबारसम्म पूर्वभारतीय टोलीका ब्याट्सम्यान ब्रजेश पटेल र भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहका छोरा जय शाह पनि अध्यक्ष पदका दाबेदार थिए । तर आइतबार साँझ अबेर भएको छलफलपश्चात् अन्य दुईजना पछि हटेपछि गांगुली नयाँ अध्यक्ष बन्ने निश्चित जस्तै बनेको हो ।

सर्वसम्मतिमा अध्यक्ष बन्ने भएपछि प्रतिक्रिया दिँदै गांगुलीले भने, ‘मलाई यो पदमा नियुक्ति पाउने भएपछि खुशी लागेको छ । यो मेरा लागि ठूलो मौका हो । यसबेला बीसीसीआईको छवि राम्रो छैन् । म निर्विरोध चुनिए पनि या चुनावी प्रक्रियाबाट आएपछि यस संस्थाको छवि सुधार्नु मेरो मुख्य जिम्मेवारी हुनेछ ।’

अन्य अध्यक्षका प्रत्यासी ब्रजेश पेटललाई इण्डियन प्रिमियर लिग (आइपिएल) को अध्यक्ष, जय शाहलाई सचिव तथा बीसीसीआईका पूर्वअध्यक्ष तथा केन्द्रीय अर्थमन्त्रीका भाई अरुण धुमललाई कोषाध्यक्ष पद दिनेमा सबैको सहमति जुटेपछि गांगुलीले अध्यक्षमा बाजी मार्ने भएका हुन् ।

उनी २०२० जुलाईसम्म अर्थात् १० महिनामात्रै यो पदमा रहने भएका छन् । किनकी नयाँ विधानका अनुसार एक व्यक्तिले एक समयमा लगातार ६ वर्ष सम्ममात्रै कुनै पनि पदमा बस्न पाउँछन् । २०१५ देखि गांगुली लगातार बंगला क्रिकेट एसोसिएनसँग आबद्ध छन् ।

यस नियमबारे गांगुलीले भने, ‘यो नियम हो । हामीले यसअनुसार चल्नुपर्छ । मेरो पहिलो प्राथमिकता पहिलो श्रेणीका खेलाडीलाई ध्यानमा राख्नु हुनेछ । मैले यसअघि प्रशासकको समितिलाई पनि आग्रह गरेको थिए र उनीहरू पनि यसमा सकरात्मक देखिएका छन् । क्रिकेटरहरूको आर्थिक हितका लागि रणजी ट्रफी क्रिकेटमा ध्यान दिनेछु ।’


Views: 210