19th November | 2019 | Tuesday | 2:29:43 PM

काठमाडौंको उत्कृष्ट पुनरागमन

हिमालय टाइम्स   POSTED ON : कार्तिक १, २०७६ (१०:२३ AM)

काठमाडौंको उत्कृष्ट पुनरागमन

काठमाडौं । क्याट क्विन्स काठमाडौंले यहाँ जारी वुमन्स च्याम्पियन्स लिग (डब्लुसिएल) क्रिकेट प्रतियोगितामा उत्कृष्ट पुनरागमन गरेको छ । बुधबार पहिलो खेलमा पराजित भएको काठमाडौंले बिहीबार पोखरा पल्टनमाथि ८२ रनको शानदार जितसहित पुनरागमन गर्यो ।

कप्तान रुविना क्षेत्रीको उत्कृष्ट अर्धशतकीय प्रदर्शनपछि काठमाडौंले दोस्रो खेलमा पहिलो जित हात पारेको हो । काठमाडौंले दिएको १ सय ५३ रनको लक्ष्य पछ्याएको पोखराले १६.५ ओभरमा सबै विकेट गुमाएर ७० रनमा समेटियो । यो प्रतियोगिताको अहिलेसम्मकै कम स्कोरसमेत हो ।

पोखराका दुईबाहेक अरू खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । पोखराकी कप्तान सिता रानामगरले १७ रन जोडिन । १३ बलमा उनले ३ चौका प्रहार गरे । त्यो नै पोखराको उच्च स्कोर रहृयो । यस्तै बिन्दु रावलले १३ बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् । 

पोखराका ५ खेलाडी रनआउट भएका थिए । सीतासँगै रुवि पोद्दार(९), सरस्वती मगर (१), रेवती धामी (०) र अञ्जली चन्द(८) रनआउट भएका थिए । उसकातीन खेलाडी कविता कुँवर, मञ्जु बोकटी र शिला क्षेत्रीले खाता नै खोल्न सकिनन् । काठमाडौंकी अप्सरी बेगमले २ विकेट लिइन् । १.५ ओभरमा उनले ८ रन खर्चिन । यस्तै सरस्वती कुमारी चौधरीले २ तथा लक्ष्मी साउदले एक विकेट लिए । 

त्यसअघि रुविनाले ८३ रनको पारी खेलेपछि काठमाडौंले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५२ रन जोडेको थियो । रुविना नेपाली महिला फ्रेन्चाइजी क्रिकेटको इतिहासमा पहिलो अर्धशतक प्रहार गर्ने खेलाडी बनिन् । 

टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंका लागि रुविनाले ६७ बलमा १४ चौका र २ छक्का प्रहार गरिन् । उनले तेस्रो विकेटका लागि रोमा थापासँग ६४ रनको तथा छैटौं विकेटका लागि ईश्वरी विष्टसँग ६१ रनको साझेदारी गर्दै काठमाडौंलाई सो स्कोरमा पु¥याएकी हुन् । यस्तै काठमाडौंका लागि रोमा थापाले १९ रन जोडिन । २३ बल खेलेकी उनले ३ चौका प्रहार गरिन् । ईश्वरी विष्ट एक चौकासहित १० रनमा नटआउट रहिन् । काठमाडौंले राम्रो सुरुवात गर्न सकेन् । उसले २२ रनमा नै दुवै ओपनर गुमाएको थियो। शोभा आलेले १२ तथा रोशनी शर्मा चौलागाईले २ रनमात्रै जोड्न सके । पोखराका लागि अनुराधा चौधरीले उत्कृष्ट बलिङ गरिन । उनले ४ ओभरमा २८ रनमात्रै दिएर ४ विकेट लिइन् । यस्तै कविता कुँवरले एक विकेट पाइन् ।

ज्योतीको अर्धशतक

ज्योति पाण्डेको अर्धशतकीय पारीको मद्दतमा काठमाडौंमा जारी वुमन्स च्याम्पियन्स लिग (डब्लुसिएल) क्रिकेट प्रतियोगितामा विराटनगर टाइटन्सले ललितपुर फाल्कोन्सलाई ४ विकेटले पराजित गरेको छ । 

त्रिवि मैदानमा बिहीबार दिउँसो भएको खेलमा ललितपुरले दिएको १ सय २३ रनको लक्ष्य विराटनगरले १६ ओभरमा ६ विकेट गुमाएर भेटायो । विराटनगरकी ओपनर ज्योति पाण्डेले ६५ रनको शानदार अर्धशतकीय पारी खेलिन् । उनले ४३ बलमा १० चौका र एक छक्का प्रहार गरिन् । यस्तै विराटनगरकी सोनु खड्काले २४ रन जोडिन् । उनले २६ बलमा २ चौका र एक छक्का प्रहार गरिन् । 

त्यसअघि टस हारेर ब्याटिङको गरेको ललितपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २२ रन जोडेको थियो । उसका ममता चौधरीले २८ रनको पारी खेले । २४ बलमा उनले ३ चौका प्रहार गरे । यस्तै करुणा भण्डारीले २१ रन जोडिन् । यस्तै कृष्टि सेन र सम्झना खड्का समान १३–१३ रनमा नटआउट रहे । 

ललितपुरले राम्रो सुरुवात पाउन सकेन । ओपनर रोसनी बोहराले र शान्ती चौधरीले ९–९ रन जोडे । यस्तै विकेटकिपर सरिता मगरले १ तथा कप्तान नेरी थापाले ४ रनमात्रै जोडिन् । बलिङतर्फ विराटनगरका आरती विडारी र सवन राईले समान १–१ विकेट लिइन् । क्विन्स इभेन्ट्स म्यानेजमेन्टको आयोजनामा सुरु भएको प्रतियोगिता कात्तिक ७ गतेसम्म चल्नेछ । प्रतियोगितामा पाँच शहरका ५ टोलीहरू ललितपुर फाल्कोन्स, पोखरा पल्टन, क्याट क्विन्स काठमाडौं, चितवन राइनोज र विराटनगर टाइन्टस टोलीबीच प्रतिस्पर्धा भइरहेको छ । 

राउण्ड रोविनको आधारमा हुने प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली सिधैं फाइनलमा स्थान बनाउनेछ । दोस्रो र तेस्रो स्थानको टोलीले फाइनल प्रवेशका लागि क्वालिफयार खेल्नेछन् । विजेताले ७ लाख र उपविजेताले ३ लाख रुपैयाँमा प्राप्त गर्ने आयोजकले जनाएको छ । 


Views: 152

सम्बन्धित सामग्री:

नेपाल बङ्गलादेशसँग पराजित

: मंसिर २, २०७६ (४:०५ PM)