20th February | 2020 | Thursday | 11:03:33 AM

नेपालविरुद्ध खेल्ने एमसिसीको बलियो टोली

हिमालय टाइम्स   POSTED ON : कार्तिक १६, २०७६ (१०:३३ AM)

नेपालविरुद्ध खेल्ने एमसिसीको बलियो टोली

काठमाडौं । विश्वकै सबैभन्दा पूरानो तथा प्रसिद्ध क्रिकेट क्लब इंग्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) नेपाल भ्रमणका लागि शनिबार नेपाल आइपुग्ने भएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका व्यवस्थापक सुमनराज कार्कीका अनुसार एमसिसीको टोली शनिबार बिहान साढे १० बजे नेपाल आइपुग्ने कार्यतालिका छ ।

एमसिसी फाउण्डेसनले एमसिसी टोलीको नेपाल भ्रमण तय गरेको हो । एमसिसीले २०१९ देखि २०२१ सम्म तीनपटक नेपाल भ्रमण गर्ने जनाएको छ । एक साता नेपालको भ्रमणमा रहने एमसिसीको टोलीले नेपाली राष्ट्रिय क्रिकेट टोलीसँगै यु १९ क्रिकेट टोलीसँग टी–ट्वान्टी, एक दिवसीय र प्रथम श्रेणीको क्रिकेट खेल्दैछ । एमसिसीसँगको खेलका लागि नेपालले कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा टिम घोषणा गरिसकेको छ ।

यसै शृंखलाबाट नेपालले १४ वर्षपछि प्रथम श्रेणीको क्रिकेटमा पुनरागमन गर्दैछ । सन् २००५ मा युएईसँग अन्तरमहादेशीय तीन दिवसीय खेल खेलेपछि त्यसयता नेपालले एमसिसीसँग त्रिवि क्रिकेट मैदानमा तीन दिवसीय शृंखला खेल्न लागेको हो । 

एमसिसीले नेपालविरुद्ध बलियो टोली मैदान उतार्दै छ । यसअघि नै एमसिसीले जिम्मी एडम्सको कप्तानीमा नेपाल भम्रणमा आउने १३ सदस्यीय टोली घोषणा गरेको छ । एडम्ससँगै टोलीसँगै यासिर अराफात, बिली गोड्लीमन, मिल्स हम्मोड, ओलिभर हानोन डाल्बे, कलम ज्याक्सन, विल रोड्स, एलेक्स स्पेन्सेर, एलेक्स थोमसन, विल भेन्देरस्पेर, एड योङ, टम वेष्ट्ले र क्रिस राइट् रहेका छन् ।

यासिर अराफातले यसअघि पाकिस्तानको राष्ट्रिय टोलीबाट खेलिसकेका छन् । यस्तै टम वेष्ट्लेले इंग्ल्यान्डबाट ५ टेष्ट खेलिसकेका हुन् । यस्तै कप्तान जिम्मी इंग्ल्याण्डको काउन्टि क्रिकेट टोली हृयाम्पसायरका पूर्वब्याट्सम्यान हुन् । यस्तै काउन्टीकै अर्को टोली डर्बीसायरका कप्तान बिली गोडलम्यानले पनि नेपालविरुद्ध खेल्नेछन् ।

यस्तै टिमको व्यवस्थापकमा रिचार्ड ग्रेटोरेक्स, प्रशिक्षकमा ओइन डोकिन्स, अम्पायरमा जेफ इमेन्स, स्कोरर एलान जोन्स रहेका छन् । एमसीसीले ३ नोभेम्बरमा नेपाल यु १९ टोलीसँग ५० ओभरको खेल खेल्नेछ । यस्तै ४ नोभेम्बरमा नेपाल राष्ट्रिय टिमविरुद्ध पनि ५० ओभरको खेल खेल्नेछ । ६ देखि ८ नोभेम्बर सम्म एमसीसी र नेपाल राष्ट्रिय टिमबीच तीन दिवसीय प्रथम श्रेणीको क्रिकेट हुनेछ । यस्तै अन्तिम खेल एमसिसीले ९ नोभेम्बरमा एमसीसी र नेपालको यु १९ र सिनियर टोलीसँगको मिक्स टिमविरुद्ध खेल्नेछ । 

त्यसपछि पोखरा जाने एमसिसीको टोलीले ११ नोभेम्बरमा पोखरा आमन्त्रण ११ सँग २० ओभर र १२ नोभेम्बरमा मुख्यमन्त्री ११ सँग २० ओभरको खेल खेल्नेछ । नेपालले शुक्रबारमात्रै तीनै फम्र्याटका लागि नेपाली टोली घोषणा गरेको छ । टी–ट्वान्टीका लागि १५ सदस्सीय नेपाली टोलीको घोषणा गरिए पनि बाँकी दुवै फम्र्याटका लागि १४–१४ सदस्यीय टोलीको घोषणा गरिएको हो । 

तीनै फम्र्याटको कप्तानी नवनियुक्त कप्तान ज्ञानेन्द्र मल्लले गर्नेछन । तीनहप्ता अघि कप्तानबाट राजीनामा दिएका पारस खड्काले एकदिवसीय खेलमात्रै खल्नेछन् । घोषणा गरिएको टोलीमा ८ खेलाडीले तीनवटै फम्र्याटमा स्थान बनाएका छन् । कप्तान ज्ञानेन्द्रसँगै सोमपाल कामी, सन्दीप लामिछाने, आरिफ शेख, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी र ललित नारायण राजवंशीले तीनवटै टिममा स्थान बनाएका हुन् ।

त्यसबाहेक टी–ट्वान्टीमा मात्रै स्थान बनाउनेमा अमित श्रेष्ठ र नन्दन यादव छन् । पहिलो श्रेणीको टोलीमा परेका राजु रिजाल र जितेन्द्र मुखिया अरू टोलीमा छैनन् ।


Views: 118