18th November | 2019 | Monday | 9:34:38 PM

पारसले इमर्जिङ एसिया कप नखेल्ने

हिमालय टाइम्स   POSTED ON : कार्तिक १९, २०७६ (१०:१५ AM)

पारसले इमर्जिङ एसिया कप नखेल्ने

काठमाडौं । नेपालले भारत बंगलादेशसहित टेष्ट राष्ट्रविरुद्ध इमर्जिङ एसिया कपमा खेल्ने अवसर पाएको भए पनि यो खेलमा राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्का नखेल्ने भएका छन् । टिमका स्टार बलर सन्दीप लामिछाने पनि यो खेल खेल्ने वा नखेल्ने टुंगो छैन । सन्दीपले पनि यो प्रतियोगितामा खेल्न चाहेका छैनन् ।

पारस र सन्दीप दुवैले नोभेम्बर १९ देखि सुरु हुने अबुधावी टी–टेन लिग खेल्नका लागि भन्दै इमर्जिङ कप नखेल्ने गरी राष्ट्रिय टिमबाट विदा माग्दै क्यानमा निवेदन दिएका छन् । क्यान उच्च स्रोतका अनुसार पारसलाई क्यानले यसका लागि नो अब्जेक्सन लेटर दिने भएको छ । तर सन्दीपले निवेदन दिन ढिलाइ गरेका कारण उनको विषयमा निर्णय हुन बाँकी नै छ । क्यानले उनलाई पनि एनओसी दिने निर्णय गरेमा उनी पनि इमर्जिङ कप खेल्ने छैनन् ।

इमर्जिङ एसिया कप १४ नोभेम्बरमा सुरु हुँदैछ । पहिले नेपाल यो प्रतियोगितामा थिएन तर प्रतियोगितामा भएको टिम युनाइटेड अरब इमिरेट्स नखेल्ने भएपछि नेपालले उसको स्थानमा मौका पाएको हो । अब युएइको ठाउँमा नेपालले यो प्रतियोगिता खेल्नेछ । बंगलादेशमा हुने यो प्रतियोगितामा नेपालले पहिलो खेल भारतको अण्डर २३ टिमसँग १४ नोभेम्बरमा खेल्नेछ ।

नेपालले दोस्रो खेल नोभेम्बर १६ मा हङकङसँग खेल्नेछ । तेस्रो खेलमा नेपालले १८ नोभेम्बरमा बंगलादेशको अण्डर २३ टिमसँग खेल्नेछ । समूह चरणको खेलबाट माथि जान सकेमा नेपालले श्रीलंका, पाकिस्तान, अफगानिस्तानजस्ता अन्य टेष्ट मान्यता प्राप्त देशका अण्डर २३ टिमसँग समेत खेल्न पाउने सम्भावना रहनेछ ।


Views: 78