18th November | 2019 | Monday | 11:08:28 PM

प्रथम श्रेणीको क्रिकेटमा पुनरागमन

हिमालय टाइम्स   POSTED ON : कार्तिक २०, २०७६ (१०:२९ AM)

प्रथम श्रेणीको क्रिकेटमा पुनरागमन

काठमाडौं । नेपालले १४ वर्षपछि बुधबार प्रथम श्रेणीको क्रिकेटमा पुनरागमन गर्दैछ । सन् २००५ पछि नेपाल त्रिवि क्रिकेट मैदानमा बुधबार विश्व प्रशिद्ध क्लब मेरिलेबन क्रिकेट क्लब (एमसिसी)सँग प्रथम श्रेणीको क्रिकेट खेल्न लागेको हो । 

हालैमात्रै नियुक्त भएका राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले नै नेपाली राष्ट्रिय टोलीबाट पहिलो पटक प्रथम श्रेणीको क्रिकेट खेल्न लागेका हुन् । ज्ञानेन्द्रसँगै टोलीका अधिकांश खेलाडीहरू पनि पहिलो पटक सेतो ड्रेश लगाएर बुधबार त्रिवि क्रिकेट मैदानमा उत्रनेछन् । 

‘प्रथम श्रेणीको क्रिकेटले यस खेलको विकाशमा महŒवपूर्ण भूमिका खेल्छ,’ नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्लले भने, ‘प्रथम श्रेणीको क्रिकेट लामो फम्यार्टको हुने भएकाले यसले खेलाडीको धैर्यता, मनोबल, क्षमता, बलियो पक्ष र कमजोर पक्ष लग्न सहयोग त पुग्छ नै साथै यसले खेलाडीलाई नयाँ अनुभूति पनि गराउनेछ ।’

एमसिसी खेल्ने खेल्ने नेपाली टोलीका सदस्यहरू शरद भेषावकरले २००५ मा प्रथम श्रेणीको क्रिकेट खेलेका थिए । त्यसबाहेक सोमबार कामीले २०१५ मा श्रीलंकामा प्रथम श्रेणी खेल्ने अवसर पाएका हुन् । गतवर्ष एकदिवसीय मान्यता पाएपछि एमसिसीले नेपालमा खेल्ने तीन दिवसीय खेललाई आइसिसीले फष्ट क्लास क्रिकेटको मान्यता दिएको हो ।

नेपाल र एमसिसीले लगतार तीन दिन सेतो जर्सी र रातो बलले त्रिवि क्रिकेट मैदानमा खेल्नेछन् । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले टेष्ट मान्यता नपाएका राष्ट्रका लागि अन्तर महादेशीय कपको नाममा प्रथम श्रेणीको क्रिकेट सुरु गरेको थियो । सन् २००४ मा सुरु भएको यो प्रतियोगिताको नेपालले पहिलो दुई संस्करण खेल्यो । त्यसपछि भने नेपाल प्रतियोगितामा छनोट हुन सकेको छैन् । 

सन् २००६ को आइसिसी अन्तर महादेशीय च्यालेन्ज कपमा नेपालले नामिबियाको मैदानमा बराबरी खेलेपछि कुनै पनि आइसिसीको फष्ट क्लास क्रिकेट खेलेको छैन । नेपालको सन् २००४ मा युएईविरुद्ध सारजाहामा पहिलो पटक प्रथम श्रेणीको क्रिकेट खेलेको थियो । बराबरीमा टुंग्गिएको उक्त खेलपछि सोही वर्ष नेपालले मलेसियासँग कीर्तिपुर मैदानमा पहिलो प्रथम श्रेणीको क्रिकेट खेल्यो । जसमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गरेको थियो ।

पहिलो र दोस्रो संस्करण खेलेको नेपालले चारमध्ये २ मा जित र २ मा बराबरी खेल्दै समूह उपविजेता बनेको थियो । एमसिसीले यसअघिको नेपाल भ्रमणको पहिलो एकदिवसीय खेलमा यु–१९ टोलीलाई ५ विकेटले पराजित गरेको थियो । यस्तैलगत्तै भएको नेपाली राष्ट्रिय टोलीसँगको एकदिवसीयमा भने एमसिसी ५ विकेटले पराजित भयो । तीनदिन प्रथम श्रेणीको क्रिकेट खेलेपछि एमसिसीको टोली पोखरा भ्रमणमा निस्कनेछ । पोखरामा पोखरा–११ र मुख्यमन्त्री–११ सँग मैत्रीपूर्ण खेल खेल्ने एमसिसीको कार्यक्रम छ । एमसिसी फाउण्डेशनले विकाशील देशहरूमा भ्रमण गर्ने उद्देश्यसहित यो टुरको आयोजना गरेको हो । 


Views: 68