19th November | 2019 | Tuesday | 2:37:47 PM

नेपालको खराब ब्याटिङ

हिमालय टाइम्स   POSTED ON : कार्तिक २२, २०७६ (९:४५ AM)

नेपालको खराब ब्याटिङ

काठमाडौं । मेरिलोबन क्रिकेट क्लब (एमसिसी)विरुद्धको पहिलो इनिङ्समा नेपालले खराब ब्याटिङ गरेपछि दोस्रो दिनको समाप्तिमा एमसिसीले नेपालविरुद्ध काठमाडौंमा जारी तीन दिवसीय (पहिलो श्रेणी) क्रिकेटमा ३ सय २ रनको अग्रता बनाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार नेपाललाई सस्तैमा अलराउट पार्दै दोस्रो इनिङ्स सुरु गरेको एमसिसीले २१ ओभर खेल्दै २१ ओभरमा २ विकेट गुमाएर ९१ रन जोड्यो । उसका विल रोड्सले ३० तथा बिली गोडलम्यानले ३९ रनमा आउट भए । टम वेष्ट्ली १७ र मिल्स हामेन्ड ३ रनमा नटआउट छन् । नेपालका पवन सर्राफ र ललित राजवंशीले १–१ विकेट लिए ।

बिहीबार पहिलो शत्रमा ८७ ओभरमा ६ विकेट गुमाएर ३ सय ११ रनको अवस्थाबाट पहिलो इनिङ्स अघि बढाएको एमसिसीले बाँकी ४ विकेट गुमाउदा ५३ रन जोड्दै ३६४ रन जोडेको थियो । लगत्तै पहिलो इनिङ्सका लागि ब्याटिङ थालेको एमसिसीले ४४ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय ५३ रनमात्रै जोड्न सक्यो ।

त्योसँगै नेपाल एमसिसीसँग पहिलो इनिङ्समा २ सय ११ रनले पछि परेको थियो । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ३९ स्कोर गर्ने खेलाडी रहे । सन्दीपले २१ बलमा ४ छक्का र २ चौका प्रहार गर्दा त्रिवि क्रिकेट मैदानमा दर्शकहरू उत्साहित बनेका थिए ।

अन्तिम विकेटका लागि सन्दीपले ललित नारायण राजवंशीले ४२ रनको साझेदारी गर्दै नेपाललाई सो स्कोरमा पु¥याएका हुन् । त्यसअघि नेपालले ओपनर तथा कप्तान ज्ञोनेन्द्र मल्लले खाता नै खोल्न नपाई गुमाएको थियो । अर्का ओपनर राजु रिजालले पनि ८ रनमात्रै जोड्न सके ।

यस्तै अनुभवी खेलाडी शरद भेषावकरले पनि ४ रनमै पवेलियन फर्किए । ५२ बल खेले पनि आरिफ सेख १० रनमै पवेलियन फर्किए । उपकप्तान दीपेन्द्रसिंह ऐरी पनि एक रनमै पवेलियन फर्किँदा नेपाल संकटमा परेको थियो । 

विनोद भण्डारी र सोमपाल कामीले छैटौं विकेटका लागि ७५ रनको साझेदारी गर्दै नेपालको इनिङ्स उकासेका थिए । ३६ औं ओभरको तेस्रो बलमा विनोद भण्डारी ३६ रनमा पवेलियन फर्किए । भण्डारीले ५ चौकासहित ३६ रन जोडे । सोमपाल कामी ४ चौकासहित २६ रनमा आउट भए ।

त्यसअघि बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एमसिसीले खराब प्रकाशका कारण ८७ ओभरमा खेल रोकिँदा ६ विकेट गुमाएर ३ सय ११ रनको बलियो योगफल तयार पाएको थियो । 

नौं ओभरअघि रोकिएको पहिलो दिनको खेलमा खेलमा एमसिसीका तीन खेलाडीले अर्धशतकीय पारी खेले । बिहीबार एमसिसीका थप एक खेलाडीले अर्धशतक प्रहार गरे । एमसिसीको पहिलो इनिङ्समा नेपालका सन्दीप लामिछाने र करण केसीले ३–३ तथा सोमपाल कामी र शरद भेषावकरले २–२ विकेट लिएका थिए । 

नेपालले १४ वर्षपछि बुधबार प्रथम श्रेणीको क्रिकेटमा पुनरागमन गरेको हो । सन् २००५ पछि नेपालले त्रिवि क्रिकेट मैदानमा बुधबार विश्व प्रशिद्ध क्लब मेरिलेबन क्रिकेट क्लब (एमसिसी)सँग प्रथम श्रेणीको क्रिकेट खेलेको हो । 

गतवर्ष एकदिवसीय मान्यता पाएपछि एमसिसीले नेपालमा खेल्ने तीन दिवसीय खेललाई आइसिसीले फस्ट क्लास क्रिकेटको मान्यता दिएको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले टेष्ट मान्यता नपाएका राष्ट्रका लागि अन्तर महादेशीय कपको नाममा प्रथम श्रेणीको क्रिकेट सुरु गरेको थियो । सन् २००४ मा सुरु भएको यो प्रतियोगिताको नेपालले पहिलो पहिलो दुई संस्करण खेले पनि त्यसपछि प्रतियोगितामा छनोट हुन सकेन ।

सन् २००६ को आइसिसी अन्तर महादेशीय च्यालेन्ज कपमा नेपालले नामिबियाको मैदानमा बराबरी खेलेपछि कुनै पनि आइसिसीको पहिलो श्रेणीको क्रिकेट खेलेको छैन । 

एमसिसीले यसअघिको नेपाल भ्रमणको पहिलो एकदिवसीय खेलमा यु–१९ टोलीलाई ५ विकेटले पराजित गर्दै नेपाल भ्रमणको सुरुवात गरेको थियो । लगत्तै अर्कोदिन भएको खेलमा नेपाली राष्ट्रिय टोलीले एमसिसी ५ विकेटले पराजित गर्यो ।

तीन दिन प्रथम श्रेणीको क्रिकेट खेलेपछि एमसिसीको टोली पोखरा भ्रमणमा निस्कनेछ । पोखरामा पोखरा–११ र मुख्यमन्त्री–११ सँग मैत्रीपूर्ण खेल खेल्ने एमसिसीको कार्यक्रम छ । एमसिसी फाउन्डेशनले विकासिल देशहरूमा भ्रमण गर्ने उद्देश्यसहित यो टुरको आयोजना गरेको हो । 


Views: 73

सम्बन्धित सामग्री:

नेपाल बङ्गलादेशसँग पराजित

: मंसिर २, २०७६ (४:०५ PM)