18th January | 2020 | Saturday | 4:13:05 AM

नेपालको विजयी सुरुवात

हिमालय टाइम्स   POSTED ON : कार्तिक २५, २०७६ (९:४२ AM)

नेपालको विजयी सुरुवात

काठमाडौं । नेपालले बंगलादेशमा जारी प्रथम एभिसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा अफगानिस्तानमाथि सहज जित निकाल्दै शानदार सुरुवात गरेको छ । ढाकास्थित शाहिद शुरवार्दी इण्डोर स्टेडियममा आइतबार भएको पहिलो खेलमा नेपालले अफगानिस्तानमाथि ३–० को सहज जित निकाल्यो । नेपालले कुनै पनि सेटमा अफगानिस्तानलाई दोहोरो अंक बटुल्न दिएको थिएन । पहिलो सेटमा २५–४ को सहज जित हात पारेको नेपालले दोस्रो सेटमा २५–९ र तेस्रो सेटमा २५–६ को जित निकाल्यो ।

स्पाइकर प्रतिभा माली खेलमा प्लेयर अफ दि म्याच घोषित भएकी छन् । उच्च प्रदर्शनसहित पूरै समय कोर्टमा बिताएकी प्रतिभाले पुरस्कारस्वरूप एक थान मोबाइल प्राप्त गरिन् । अघिकांश नयाँ खेलाडीलाई कोर्टमा उत्रदा पनि जित हात पारेपछि प्रशिक्षक जगदीश भट्टले खुशी व्यक्त गरे । उनले खेलपछि भने, ‘हामीले दोस्रो सेटमा ६ नयाँ खेलाडीलाई प्रतिभासँग खेलायौं । सिनियर खेलाडीले नयाँ खेलाडीलाई गाइड गर्नुपर्छ र प्रदर्शन राम्रो पनि भयो । आजको प्रदर्शन हेर्दा सबै नयाँ खेलाडी आवश्यक पर्दा खेलमा उत्रन तयार रहेको पाएँ ।’ 

जितसँगै नेपालले ३ अंक जोडेको छ । बंगलादेशले ३ तथा माल्दिभ्सले २ अंक जोेडेको छ । किर्गिस्तानले १ तथा दुई खेल खेलेको अफगानिस्तान अंकविहीन छ । अब नेपालले दोस्रो खेलमा सोमबार किर्गिस्तानसँग, मंगलबार आयोजक बंगलादेशसँग र बुधबार माल्दिभ्ससँग खेल्नेछ । 

राउण्ड रोविन लिगको शीर्ष दुई टोलीले उपाधिका लागि नोभेम्वर १४ मा खेल्नेछ । सोही दिन तेस्रो र चौथो स्थानको प्ले अफ हुनेछ । च्याम्पियनसिपमा नेपालसहित आयोजक बंगलादेश, अफगानिस्तान, माल्दिभ्स र किर्गिस्तानको सहभागिता छ । च्याम्पियनसिपका सबै खेलहरू शाहिद शुरवार्दी इन्डोर स्टेडियम मिरपुर ढाकामा हुनेछ ।

च्याम्पियनसिपमा नेपालसहित आयोजक बंगलादेश, अफगानिस्तान, माल्दिभ्स र किर्गिस्तानको सहभागिता छ । च्याम्पियनसिपका सबै खेलहरू शाहिद शुरवार्दी इन्डोर स्टेडियम, मिरपुर ढाकामा हुनेछ । दुई वर्षपछि पहिलो पटक प्रतियोगितामा उत्रिएको नेपाली टोलीको नेतृत्व नयाँ कप्तान अरुणा शाहीले गरेकी थिइन् । 

राउण्ड रोविन लिगअनुसार पहिलो चरणबाट शीर्ष २ टिमले स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । नेपाली टोलीले सोमबार प्रमुख प्रतिस्पर्धी किर्गिस्तानको सामना गर्नेछ । लिगको अन्तिम खेलमा नेपालले बुधबार बंगलादेशसँग खेल्नेछ ।

अरुणाको कप्तानीमा रहेको टोलीमा प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, रेश्मा भण्डारी, पुनम चन्द, जानकी भण्डारी, सुनिता खड्का, सोफिया पुन, उषा विष्ट, कमला पुन र सलिना श्रेष्ठ छन् ।


Views: 78