20th February | 2020 | Thursday | 11:39:49 AM

नेपाल र कुवेतबीच भुटानमा खेल हुने

  POSTED ON : कार्तिक २६, २०७६ (११:०७ AM)

नेपाल र कुवेतबीच भुटानमा खेल हुने

काठमाडौं । नेपाल र कुवेतबीच आगामी मंसिर ३ गते हुने विश्वकप तथा एसियाली छनोटको खेल भुटानमा हुने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी)ले स्वीकृति दिएसँगै उक्त खेल भुटानमा हुने भएको हो । यसअघि, नेपालले आफ्नो घरेलु मैदानमा उक्त खेल आयोजना गर्ने तय थियो । तर, एएफसीका प्रतिनिधिहरूले दशरथ रंगशाला निर्माणाधिन रहेको भन्दै खेल्न आयोग्य रहेको ठहर गरेपछि नेपालले तटस्थ भूमिका रूपमा भुटानलाई प्रस्ताव गरेको थियो । तर, कुवेतले भने आफ्नो वातावरणअनुकूल नभएको भन्दै भुटानमा खेल्न आनाकानी गरिरहेको थियो । नेपाल र कुवेत फुटबल संघको रस्साकस्सीपछि अन्ततः खेल नेपाली वातावरण सुहाउँदो भुटानको चाङलिमिथाङ रंगशाला हुने पक्का भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको छ ।

नेपालले भदौमा कुवेतविरुद्ध अवे खेल खेल्दै विश्वकप तथा एसियाली छनोटको सुरुवात गरेको थियो । उक्त खेलमा नेपाल ७–० को लज्जास्पद हार व्यहोर्न बाध्य भयो । त्यसको ५ दिनपछि चाइनिज ताइपेईलाई भने नेपालले उसैको मैदानमा २–० ले पराजित गर्यो । नेपालका लागि दुवै गोल अञ्जन विष्टले गरेका थिए । त्यसपछि नेपालले अष्ट्रेलियासँग ५–० को र जोर्डनसँग ३–० को हार बेहोरेको छ । अब नेपालले चारै टोलीसँग घरेलु मैदानमा खेल्ने कार्यक्रम थियो । तर, पहिलो घरेलु मैदानको खेल दशरथ रंगशाला तयार नभएपछि भुटानमा गर्नुपरेको हो ।

किरण, रोहित र नवयुग बाहिरिए

काठमाडौं । मंसिर १५ गतेबाट नेपालमा सुरु हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) को लागि नेपाली यु–२३ राष्ट्रिय पुरुष फुटबल टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले सोमबार २० सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । बालगोपाल महर्जनको मुख्य प्रशिक्षकत्वमा रहेको टोलीमा सिनियर टोलीहरू गोलरक्षक किरण चेम्जोङ र मिडफिल्डर रोहित चन्द र नवयुग श्रेष्ठ परेनन् । उनीहरू सागकै समयमा विश्वकप छनोट खेल्ने भएकाले यस टिममा नपरेका हुन् । सागमा सिनियर टोलीका ३ सदस्य राख्न पाउने प्रावधान छ । 

टोलीमा सिनियर खेलाडीको रुपमा मिडफिल्डर सुजल श्रेष्ठ, गोलरक्षक विकेश कुथ र मिडफिल्डर विक्रम लामालाई टोलीमा समावेश गरिएको छ । नेपाली टोलीको गोलरक्षक विकेश कुथु, अर्पण कार्की र दीप कार्की, डिफेन्डरमा अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, विक्रम लामा, विकास खवास, छिरिङ गुरुङ छन् । यस्तै, मिडफिल्डरमा सुजल श्रेष्ठ, सुनील बल, हेमन्त थापामगर, नितिन थापा, सेसेहाङ आङदेम्बे, तेज तामाङ, मिक्छेन तामाङ र फरवार्डमा विमल घर्तीमगर, अभिषेक रिजाल, रेजिन सुब्बा र अञ्जन विष्ट छन् । नेपालले अघिल्लो संस्करणको फाइनलमा भारतलाई पराजित गर्दै उपाधि जितेको थियो । 


Views: 104