18th January | 2020 | Saturday | 3:07:57 AM

नेपाल ऐतिहासिक उपाधि नजिक

हिमालय टाइम्स   POSTED ON : कार्तिक २८, २०७६ (९:५८ AM)

नेपाल ऐतिहासिक उपाधि नजिक

काठमाडौं । नेपाली महिला भलिबल टोली पहिलो संस्करणको एभिसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि नजिक पुगेको छ । नेपालले राउण्ड रोबिनमा अपराजित रहँदै बुधबार शीर्ष स्थानमा रहँदै फाइनलमा स्थान बनाएसँगै नेपाल उपाधि नजिक पुगेको हो । 

नेपालले बुधबार बंगलादेशको ढाकामा जारी प्रतियोगिताको फाइनल खेल्ने प्रतिद्वन्द्वी माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै उपाधिको सम्भावना बलियो बनाएको हो । यो उपाधि जितेमा नेपाली महिला भलिबल इतिहासमा पहिलो अन्तर्राष्ट्रिय स्वर्ण हुनेछ । राउण्ड रोबनको दोस्रो स्थानमा रहँदै माल्दिभ्सले नेपालसँग उपाधि भेट पक्का गरेको थियो ।

लिगको अन्तिम खेलमा बुधबार नेपालले माल्दिभ्सलाई नै ३–० को सोझो सेटमा पराजित ग¥यो । जितसँगै नेपाल लिगको चार खेलबाट १२ अंक जोड्दै शीर्षस्थानमा रह्यो । पराजित माल्दिभ्सले ४ खेलबाट ८ अंक जोड्यो ।

ढाका मिरपुरस्थित शहिद शुरवार्दी इन्डोर हलमा पहिलो सेट नेपालले २५–१४ ले जितेको थियो । यस्तै, त्यसपछिका सेटमा भने नेपालले उत्कृष्ट प्रदर्शन ग¥यो । दोस्रो सेटमा नेपालले खेलको सुरुवातदेखि नै अग्रता बनाएको नेपालले २५–५ ले पराजित ग¥यो । तेस्रो सेटमा नेपालले उसलाई २५–१३ ले पराजित गर्दै उपाधि सम्भावना बलियो बनाएको हो ।

माल्दिभ्सविरुद्धको खेलमा मुख्य प्रशिक्षक जगदीश भट्टले यसअघिका तीन खेलमा उच्च प्रदर्शन गरेकी ब्लकर सुनिता खड्कालाई आराम दिएका थिए । उनका स्थानमा उषाकुमारी विष्टले मौका पाएकी थिइन् । बिहीबार नेपालले माल्दिभ्ससँग उपाधिका लागि खेल्नेछ । फाइनल खेल नेपाली समयअनुसार दिउँसो २ः४५ बजेपछि हुनेछ । 

ओपन स्पाइकर सरस्वती चौधरी माल्दिभ्सविरुद्धको खेलमा ‘प्लेयर अफ दि म्याच’ भइन् । उनले प्लेयर अफ द म्याचस्वरूप एक थान मोबाइल प्राप्त गरिन् ।

दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको तयारीमा लागि नेपालले यो प्रतियोगिता खेलेको हो । यसअघि, नेपालले थाइल्याण्डमा प्रशिक्षण गरेको थियो । पछिल्लो समय निरन्तर अभ्यास रहेको महिला टिमले पहिलो एभिसी सेन्ट्रल जोनमा स्वर्ण जित्ने लक्ष्य राखेको छ । 

यसै प्रतियोगिताका लागि अरुणा शाहीले पहिलो पटक नेपाली टोलीको नेतृत्व पाएकी हुन् । नेपाली टोलीमा उनीसँगै प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, जानकी भण्डारी, सफिया पुन, उषा कुमारी विष्ट, सुनिता खड्का, कमला पुन, रेश्मा भण्डारी, पुनम चन्द र सलिना श्रेष्ठ रहेका छन् ।


Views: 97