18th January | 2020 | Saturday | 5:33:12 PM

पेनाल्टीमा एपीएफ भाग्यमानी

हिमालय टाइम्स   POSTED ON : मंसिर ४, २०७६ (९:५७ AM)

पेनाल्टीमा एपीएफ भाग्यमानी

काठमाडौं । गोलरक्षक अमृत चौधरीले पेनाल्टीमा दुई बचाएपछि विभागीय नेपाल एपीएफ क्लब सिएमजी क्लब संकटालाई पराजित गर्दै राजधानीमा जारी तेस्रो संस्करणको चन्द्रागिरी मेयर गोल्डकप ‘ए’ डिभिजन फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । एपीएफले संकटालाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएको हो ।

 निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । जसमा एपीएफ सफल भएको हो । एपीएफका सुदीप शिख्र्राकार, नवीन लामा, आशिष लामा र राजीव लोप्चनले गोल गरे । एपीएफका कप्तान अमित तामाङ र क्षितिजराज जिटीले मात्रै गोल गर्न सफल भए । मासऔके पिएरे र रोमन लिम्बूको प्रहार गोलरक्षक अमृत चौधरीले रोकिदिएका थिए । 

चन्द्रागिरी नगरपालिकास्थित नैकाप फुटबल मैदानमा मंगलबार भएको खेलमा एपीएफले खेलको ३२औं मिनेटमा सन्तोष नेपालीको गोलबाट अग्रता बनाएको थियो । सुदीप शिख्राकारको क्रस पासलाई संकटाका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई सन्तोषले पेनाल्टी बक्सभित्रबाट गरेको सशक्त प्रहार गोलरक्षक विनय श्रेष्ठले रोक्ने कुनै मौका नै पाएन । त्यसअघि १३औं मिनेटमा सन्तोषको प्रहारलाई गोलरक्षकले पञ्च गरेर बचाएका थिए । १८औं मिनेटमा रामकुमार कुमालको बक्स बाहिरको प्रहार पोष्टबाट थौर बाहिरिएको थियो । 

दोस्रो हाफको सुरुमै सुदीपको पासमा राजन गुरुङको हेडर पोस्६बाट थोरै बाहिरिँदा एपीएफले अग्रता दोब्बर पार्ने मौका खेर फाल्यो । लगत्तै आशिष लामाको प्रहारलाई गोलरक्षकले सहजै बचाइदिए । ४४औं मिनेटमा पेटाङ्गाको हेडर पोष्टबाट थोरै बाहिरियो । ४६औं मिनेटमा एपीएफका राजन गुरुङले गाल गर्न सकेन । ५५औं मिनेटमा संकटाले बराबरी गर्ने सुन्दर मौका गुमायो । 

राजेन्द्र रावलको बक्सभित्रको सशक्त प्रहार आकासिएको थियो । ६०औं मिनेटमा सुदीपकै क्रसमा राजीवले गोल गर्न सकेन । ६५औं मिनेटमा मासऔके प्रहारलाई गोलरक्षक अमृत चौधरीले बचाउदै सम्भावित बराबरी टारे । ७०औं मिनेटमा रोमन लिम्बूको पासमा रोशन पहारी चुके । खेलको अन्तिम तिर संकटाले एपीएफलाई दवावमा राख्दै बराबरी गोल गर्न सफल भयो । 

कप्तान अमित तामाङले इन्ज्युरी समयमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । दुई पेनाल्टी बचाएका एपीएफका गोलरक्षक अमृत चौधरी खेलको म्यान अफ दि म्याच घोषित भए । उनलाई ५ हजार रुपैयाँ र म्यान अफ दि म्याचको आवर्ड चन्द्रागिरि नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष गोपी सुर्खेतीले पुरस्कृत गरे ।

अब एपीएफले शनिबार सेमिफाइनल प्रवेशका लागि सरस्वती युथ क्लबसाग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा बुधबार कुनै खेल हुने छैन । बिहीबार क्वार्टरफाइनलको पहिलो खेलमा बिग्रेड ब्वाइज र विभागीय नेपाल आर्मी क्लबबीच खेल हुनेछ । 

 तेस्रो संस्करणको प्रतियोगितामा ‘ए’ डिभिजनका १० टोली र आयोजकको दुई गरी १२ टोलीको सहभागिता छ । १४ मंसिरमा फाइनल खेल हुनेछ । विजेताले ६ लाख ५० हजार रुपैयाँ पाउनेछ । दोस्रो हुनेले ३ लाख ५० हजार रुपैयाँ हात पार्नेछ ।सर्वाेत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार रुपैयाँ प्रदान गरिनेछ । पहिलो संस्करणमा हिमालय शेर्पा क्लब तथा दोस्रो संस्करणमा भ्याली च्यासल युथ क्लब च्याम्पियन बनेको थियो ।


Views: 100