24th February | 2020 | Monday | 8:59:49 AM

सागमा भारतले फुटबल नखेल्ने

हिमालय टाइम्स   POSTED ON : मंसिर १०, २०७६ (१०:५० AM)

सागमा भारतले फुटबल नखेल्ने

काठमाडौं । दक्षिण एसियाली खेलुकद(साग)को मुख्य आकर्षणका रूपमा रहेको पुरुष फुटबलमा भारतले सहभागिता नजनाउने भएको छ । यही मंसिर १५ देखि नेपालले आयोजना गर्ने सागमा भारतले सन् १९८४ को पहिलो संस्करणपछि यसै संस्करणमा फुटबलमा सहभागिता नजनाउने नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जनाएको छ । 

भारतले हालसम्म महिला फुटबल टोलीको मात्रै नाम दर्ता गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी)ले जनाएको छ । पुरुष फुटबल भने नखेल्ने जनाउँदै भारतले खेलाडीको नाम नपठाएको र भारतीय ओलम्पिक कमिटीले पनि नखेल्ने एनओसीलाई खबर गरिसकेको छ । 

यद्यपि, मंगलबार(भदौ १०) हुने ‘डेलिगेसन रजिष्ट्रेशन मिटिङ (डिआरएम)’ले मात्रै कुन खेलमा को को सहभागिता जनाउनेबारे अन्तिम टुंगो लगाउने एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले बताए ।

‘मंगलबार डिआरएमको बैठक तोकिएको छ । त्यसले सागमा कुन खेलमा को को खेलाडीहरू सहभागिता हुने भन्नेबारे अन्तिम निर्णय गर्नेछ,’ श्रेष्ठले भने, ‘डिआरएमको बैठकपछि कुन प¥यो? परेन? भन्न सकिन्छ । त्यो मिटिङले फाइनल सूची तयार पार्नेछ र त्यसपछि तलमाथि केही हुँदैन ।’

तर, अखिल नेपाल फुटबल संघ (एन्फा)ले गत शुक्रबार भारतलाई समेत समेट्दै ‘ड्र’ सार्वजनिक गरिसकेको छ । ड्रअनुसार समूह ‘ए’ मा नेपालसँगै बंगलादेश र भुटान थिए भने समूह बीमा भारत, माल्दिभ्स र श्रीलंका थिए। तर भारत नखेल्ने भएपछि अब ५ टोलीको मात्रै सहभागिता हुनेछ । त्यसो हुँदा पुनः ड्र गर्नुपर्ने र राउण्ड रोबिनको आधारमा खेलाइने एन्फाका लिग निर्देशक सञ्जीव मिश्रले बताए । 

दक्षिण एसियाली फुटबलमा सबैभन्दा बलियो देश भारत सागमा नआउँदा नेपाललाई चुनौती थपिएको मिश्रले बताए । पाकिस्तानले यसअघि नै नखेल्ने जनाइसकेपछि पुरुष फुटबलमा ६ टोलीले खेल्ने तय भएको थियो । त्यसैअनुसार एन्फाले ड्र सार्वजनिक गर्दै सबै टोलीलाई २ समूहमा बाड्दै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने प्रावधान बनाएको थियो । 

ड्रअनुसार नेपाल सजिलो समूहमा परेकाले सेमिफाइनलको सम्भावना बलियो थियो । तर, ५ टोली मात्रै खेल्ने भएपछि अब लिगकम नकआउट नभई राउण्ड रोबिनका आधारमा सबै टोलीले एकअर्कासँग खेलेपछि मात्रै शीर्ष दुई टोलीले फाइनलका लागि प्रतिस्पर्धा गर्नेछन् । 

‘लिग कम नकआउट भएको भए हामीले एक खेल जिते मात्रै सेमिफाइनल पुग्ने सम्भावना थियो,’ फुटबल विश्लेषक मिश्रले भने, ‘राउण्ड रोबिन हुँदा हामीले चारवटै राम्रो देशसँग लिग चरणमै भिड्नुप¥यो । अहिले यस क्षेत्रमा सबै देशहरू उस्तैस्तरका छन् । थोरै पनि नतिजा तलमाथि हुँदा सेमिफाइनलमै नपुग्ने सम्भावना रहन्छ । त्यसले चुनौती थपेको छ ।’

सुजल कप्तान

यसैबीच, सागको नेपाली टोलीको कप्तानी मिडफिल्डर सुजल श्रेष्ठले गर्ने भएका छन् । सुजलले सिनियर टोलीको पनि कप्तानी गरिसकेका छन् । सुजलसँगै सागमा सिनियर खेलाडीको रूपमा मिडफिल्डर विक्रम लामा र गोलरक्षक विकेश कुथु रहेका छन् । सागको नियमअनुसार २३ वर्षमाथिका तीन खेलाडी टोलीमा समेट्न पाइने प्रावधान छ ।

सोमबार साग खेल्ने नेपाली टोलीले दशरथ रंगशालामा प्रशिक्षण गरेको थियो । ‘रंगशालामा खेल्न पाउँदा निकै खुसी छौं । यति लामो समयपछि यो मैदानमा फर्केका छौं । निकै उत्साहित छौं,’ उनले भने ।

सागका लागि प्रशिक्षक बालगोपाल महर्जनले अन्तिम टोलीको घोषणा गरिसकेका छन् । अनुशासनको कारबाहीका कारण फरवार्ड विमल घर्तीमगर, मिडफिल्डर अञ्जन विष्ट र डिफेन्डर दिनेश राजवंशीको स्थानमा राजीव लोप्चन, प्रेजेन तामाङ र राजेश परियारलाई राखिएको छ । 

साग खेल्ने नेपाली टोलीमा विकेश कुथु, अर्पण कार्की, दीप कार्की, अनन्त तामाङ, विकास खवास, विक्रम लामा, छिरिङ गुरुङ, सेसेहाङ आङदेम्बे, सुमन अर्याल, नितिन थापा, तेज तामाङ, रेजिन सुब्बा, अभिषेक रिजाल, राजेश परियार, प्रेजेन तामाङ, मिक्छेन तामाङ, हेमन्त थापामगर, सुजल श्रेष्ठ, सुनील बल र राजीव लोप्चन छन् ।

तीन देशका भलिबल टोली नेपालमा

१३औं दक्षिण एसियाली खेलुकद (साग) का लागि तीन देशका भलिबल टोलीहरू नेपाल आइपुगेका छन् । मंसिर १५ गते औपचारिक उद्घाटन हुने भए पनि त्यसअघि नै भलिबलका खेलहरू सुरु हुनेछन् । सोमबार बंगलादेश, श्रीलंका र माल्दिभ्सको भलिबल टिम नेपाल आइपुगेका छन् ।

पाहुना टोलीलाई राष्ट्रिय खेलकुद परिषद्(राखेप) तथा नेपाल भलिबल संघका पदाधिकारीहरूले स्वागत गरेका थिए । बुधबारदेखि सागअन्तर्गतका भलिबलका खेलहरू सुरु हुने कार्यक्रम छ । भारत र पाकिस्तान मंगलबार मात्रै नेपाल आइपुग्ने राखेपले जनाएको छ ।

सागमा पुरुषतर्फ समूह ‘ए’ मा नेपाल, भारत र बंगलादेश रहेका छन् । समूह ‘बी’मा श्रीलंका, पाकिस्तान र माल्दिभ्स रहेका छन् । महिलातर्फ समूह ‘ए’ मा नेपाल, भारत र बंगलादेश रहेका छन् । समूह ‘बी’ मा माल्दिभ्स, श्रीलंका र पाकिस्तान रहेका छन् । साग अन्तरगतको पुरुष भलिबलमा नेपालले पहिलो खेलमा बंगलादेशसँग खेल्ने भएको छ । दुई समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

पहिलो दिन लिग चरणमा बुधबार पुरुषततर्फ नेपाल र बंगलादेशबीच खेल हुनेछ । खेल दिउँसो ३ बजेपछि हुनेछ । सोही दिन माल्दिभ्स र पाकिस्तनबीच साँझ ५ बजे खेल हुनेछ । दोस्रो दिन श्रीलंका र पाकिस्तान तथा भारत र बंगलादेशबीच खेल हुनेछ । तेस्रो दिन भारत र नेपाल तथा श्रीलंका र माल्दिभ्सबीच खेल हुनेछ । प्रतियोगिताअन्तर्गत शनिबार सेमिफाइनलका दुवै खेल हुनेछ । सोमबार तेस्रो स्थानको लागि तथा मंगलबार स्वर्णपदकको लागि खेल हुनेछ ।

साग खेल्ने खेलाडीको बीमा

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा भाग लिने सम्पूर्ण खेलाडी तथा अफिसियलहरूको बीमा गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबीच सोमबार काठमाडौंमा खेलाडी बीमासम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

मंसिर १५ गतेदेखि २४ गतेसम्म काठमाडौं, ललितपुर, कास्की र जनकपुरमा हुने सागमा नेपालसहित ७ राष्ट्रका खेलाडीको सहभागिता रहनेछ । सागमा भाग लिने खेलाडी, अफिसियिल र पदाधिकारीको प्रतिव्यक्ति ५ लाख रुपैयाँको दरले सामूहिक बीमाको सम्झौता गरिएको हो । 

सम्झौता पत्रमा राखेप सदस्यसचिव रमेशकुमार सिलवाल र आइएमई इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृति युगेशभक्त बादे श्रेष्ठले हस्ताक्षर गरे । यस्तै, नेपाली खेलाडी तथा अफिसियलहरूका लागि भने १० लाखको बीमा गरिएको राखेपले जनाएको छ ।

सम्झौताअनुसार आयोजना अवधिभर आइएमई इन्स्योरेन्स आधिकारिक बीमा प्रायोजकका रूपमा रहनेछ । राखेप सदस्य सचिवसमेत रहेका सिलवालले सागका लागि इस्योरेन्स प्रायोजक भएकोमा आइएमईलाई धन्यावाद दिन आउने दिनमा सो कम्पनीसँग सेवा विस्तार गर्दै अघि बढ्ने बताए । 

सागमा झण्डै ४ हजारको हाराहारीमा विदेशी खेलाडी, पदाधिकारीको सहभागिता रहनेछ । सागमा २६ खेलका लागि ३ हजार बढी खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । आयोजक नेपालले सबै २६ खेलमा भाग लिएको छ ।


Views: 72