18th January | 2020 | Saturday | 4:55:21 PM

साग फुटबलः नेपालको पहिलो खेल भुटानसँग

हिमालय टाइम्स   POSTED ON : मंसिर १३, २०७६ (११:०० AM)

साग फुटबलः नेपालको पहिलो खेल भुटानसँग

काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले पहिलो खेल भुटानसँग खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार सार्वजनिक गरेको नयाँ खेल तालिकाअनुसार नेपालको पहिलो प्रतिद्वन्दी भुटान परेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले पहिलो खेल भुटानसँग डिसेम्बर ३ मा खेल्नेछ । यस्तै, नेपालले डिसेम्बर ४ मा श्रीलंका, डिसेम्बर ६ मा माल्दिभ्स र डिसेम्बर ८ मा बंगलादेशसँग खेल्नेछ ।

पाँच राष्ट्र सहभागी हुने पुरुष फुटबल राउण्ड रोबिन लिगका आधारमा हुनेछ । शीर्ष दुई टोलीले स्वर्ण पदकका लागि खेल्नेछ । भारतले अन्तिम समयमा टोली नपठाउने भएपछि एन्फाले नयाँ खेल तालिका निकालेको हो ।

नेपाल सागको साबिकको विजेता टोली हो । सन् २०१६ मा भारतमा भएको १२ औं साग फुटबलमा आयोजक टोलीलाई हराउँदै नेपाल च्याम्पियन बनेको थियो । सागमा यू २३ टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा ३ खेलाडी बढी उमेरका खेलाउन पाउने प्रावधान छ । त्यसले नेपालले सुजल श्रेष्ठ, विक्रम लामा र विकेश कुथुलाई सिनियर खेलाडीका रूपमा टोलीमा समेटेको छ । सुजलले टोलीको कप्तानी गर्नेछन् ।


Views: 67