13th December | 2019 | Friday | 3:35:00 PM

साग खेल भव्य उद्घाटन

हिमालय टाइम्स   POSTED ON : मंसिर १६, २०७६ (११:११ AM)

साग खेल भव्य उद्घाटन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले १३औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन गरेकी छन् । आइतबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा २० वर्षपछि नेपाल फर्किएको क्षेत्रीय खेलकुदको सबैभन्दा ठूलो इभेन्ट भव्य सारमोहमा राष्ट्रपतिबाट उद्घाटन भएको हो । करिब १५ हजार दर्शकहरू उपस्थित दशरथ रंगशालाबाट सागको उद्घाटन गरिएको हो ।

राष्ट्रपति भण्डारीले सागको उद्घाटन भएको घोषणा गरेसँगै आतिसवाजी गर्दै उल्लास मनाइएको थियो । उद्घाटन भएको घोषणा गरेसँगै आतिसवाजी गरिएको थियो । त्यसलगत्तै पूरै देश घुमाएर ल्याइएको ओलम्पिक टर्च नेपालको पहिलो ओलम्पियन जितबहादुर केसीले रंगशालामा ल्याउँदा सबैले उठेर सम्मान दर्शाएका थिए । 

रंगशालामा नेपाली ओलम्पियनहरूले उक्त ओलम्पिक टर्च एकअर्काले बोक्दै घुमाए । उक्त टर्च यसअघि तय भएअनुसार चारपटकका स्वर्ण विजेता तेक्वान्दो खेलाडी दीपक विष्टले दीप प्रज्वलन गरे । लगत्तै राष्ट्रिय क्रिकेट टोलीको कप्तान पारस खड्काले खेलाडीका तर्फबाट र ब्याटमिन्टनका अम्पायर दीपक थापाले प्रशिक्षकका तर्फबाट सपथ ग्रहण गरेका थिए । यस्तै आनन्द कार्की, कुन्ती मोक्तान, इन्दिरा जोशी, सत्यराज आचार्य र मिलन आमात्यले सार्क गीत गाएका थिए । 

यस्तै, साँझ साढे ६ बजे देशका विभिन्न भूभागका कला संस्कृतिहरू प्रस्तुत गर्ने क्रममा सातैं प्रदेशका सास्कृतिक झाँकीहरू प्रदर्शन गरिएको थियो । कला प्रदर्शनीसँगै कलाकारहरूले मौलिक नृत्य प्रदर्शन गरेका थिए ।

उद्घाटन कार्यक्रममा लेजर बिम, लाइटिङ तथा ड्रोनबाट समेत विशेष प्रस्तुतिहरू दिइएको थियो । पाँच सय जनाले नेपाली मौलिक बाजाहरू घन्काएका थिए । राति आतिस बाजीसहित उद्घाटन समारोहको समापन गरिएको थियो ।

त्यसअघि साँझ पाँच बजे राष्ट्रपतिको आगममा नेपाली मौलिक बाजाका साथ राष्ट्रपतिलाई रंगशालामा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्मालगायतले स्वागत गरेका थिए । लगत्तै नेपाली सेनाको एक टुकडीले राष्ट्रिपतिलाई राष्ट्रिय गानसहित स्वागत गरेको थियो । लगत्तै सबै देशहरूका खेलाडी तथा अफिसियलहरूको मार्च पास भएको थियो । मार्चपासमा यो नेपाली शिर उचाली संसारमा लम्कन्छौं... नेपाली हामी रहौंला कहाँ नेपालै नरहे.... लगायत गीत बजाइएका थिए । 

दक्षिण एसियाली ओलम्पिक काउन्सिल तथा नेपाल ओलम्पिक काउन्सिलका अध्यक्षसमेत रहेका जीवनराम श्रेष्ठले स्वागत मन्तव्य प्रकट गर्दै साग खेल आफ्नो जन्म भूमिमा फर्किएको भन्दै खुशी व्यक्त गरेका थिए । सन् १०८४ मा पहिलो सागको सुरुवात नेपालबाट भएको थियो ।

उनले तेस्रो पटक आयोजना गर्न पाउँदा निकै गौरवान्वित भएको र यसलाई भव्यताका साथ सम्पन्न गर्नु सबैको दायित्व भएको बताए । साग कार्यकारी समितिका अध्यक्ष रमेशकुमार सिलवालले मन्तव्य राख्दै बुद्ध भूमि र सगरमाथाको देशमा सबैलाई स्वागत गरे । शान्ति, समृद्धि र भाइचार यो सागको मुख्य नारा रहेको भन्दै सिलवालले भिजिट नेपाल २०२०को पूर्वसन्ध्यामा यो कार्यक्रम भइरहेकाले यसले देशको पर्यटनमा समेत टेवा पुग्ने बताए ।

उद्घाटन कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेललगायत मन्त्री तथा सांसदहरूको उपस्थिति थियो । एसियाका आयोजक नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, माल्दिभ्स र भुटानको सहभागिता छ । 

यसपटक सागमा विभिन्न २६ खेलहरू आयोजना हुँदैछन् । भलिबल यसअघि नै सुरु भइसके पनि आइतबार अन्य खेल सुरु भएका छन् । खेलमा ३२४ स्वर्ण तथा त्यति नै रजत पदक र ४८७ कास्यका लागि प्रतिस्पर्धा हुनेछ । यसअघि बंगलादेशमा २०१० मा भएको सागमा २३ इभेन्ट तथा २०१६ मा २२ इभेन्ट थिए । २००६ मा श्रीलंकामा भएको सागमा यसअघि सबैभन्दा बढी २ सय २५ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।

आयोजकका हैसियतले नेपालले यसपटक कीर्तिमानी कम्तीमा ५० स्वर्ण जित्ने लक्ष्य राखेको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले बताए । ‘यसअघि १९९९ मा भएको आठौं सागमा नेपालले ३१ पदक हात पारेको थियो । उक्त कीर्तिमान तोड्दै नेपालले यसपटक १३औं सस्करणमा नेपालले कम्तीमा ५० वटा स्वर्ण पदक ल्याउने लक्ष्यसहित पदक तालिकामा दोस्रो बन्ने लक्ष्य छ,’ सिलवालले भने ।


Views: 55