20th January | 2020 | Monday | 1:08:21 AM

सागमा हालसम्मकै धेरै स्वर्ण

हिमालय टाइम्स   POSTED ON : मंसिर २०, २०७६ (१०:३४ AM)

सागमा हालसम्मकै धेरै स्वर्ण

काठमाडौं । नेपालले दक्षिण एसियाली खेलकुद (साग)मा हालसम्मकै ठूलो उपलब्धि हासिल गरेको छ । यसअघि आठौं संस्करणमा सर्वाधिक स्वर्ण जितेको इतिहास उछिन्दै नेपालले हालसम्मकै ठूलो सफलता हात पारेको हो । 

जारी १३औं संस्करणमा नेपालले बिहीबार थप सातसहित ३६ स्वर्ण पदक हासिल गर्दै इतिहास रचेको हो । यसअघि आठौं सागमा नेपालले ३१ स्वर्ण हासिल गरेको थियो । त्यो नै साग इतिहासमा नेपालको ठूलो उपलब्धि मानिन्थ्यो । 

बिहीबार दिउँसो साइक्लिङका बुद्धिबहादुर तामाङले नेपालका लागि ३२औं स्वर्ण जितेसँगै आठौं सागको कीर्तिमान भंग भएको हो । त्यसपछि साँझसम्म थप चार स्वर्ण जितेपछि यो संस्करण नेपालका लागि सबैभन्दा सफल बन्यो ।

उसुको थाउलो–नान्दोमा बिहीबार नेपालका लागि पहिलो स्वर्ण निमा घर्तीमगरले दिलाइएकी थिइन् । यस्तै साइक्लिङ महिला क्रस कन्ट्रीमा लक्ष्मी श्रेष्ठले नेपालका लागि आठौं संस्करण बराबरी नै यस संस्करणमा ३१औं स्वर्ण जितिन् । लगत्तै साइक्लिङ कै क्रस कन्ट्रीमा बुद्धिबहादुर तामाङले ३२औं स्वर्ण जिते ।

दिनको सबैभन्दा ठूलो उपलब्धि पौडीमा गौरिका सिंहले दिलाइन् । गौरिकाले २ सय मिटर फ्रिस्टाइलको व्यक्तिगत स्पर्धामा देशका लागि पहिलो स्वर्ण दिलाइन् । अन्तर्राष्ट्रिय सहभागितामा पौडीको व्यक्तिगत विधामा यो नेपालको पहिलो स्वर्ण हो ।

यस्तै तेक्वान्दो ८७ केजीमा भुपेन श्रेष्ठले स्वर्ण जित्दा भारोत्तोलनको पहिलो स्वर्ण महिला ५९ केजीमा सञ्जु चौधरीले दिलाइन् । त्योसँगै उसुको महिला ५६ केजीमा जुनी राईले बिहीबार नेपालका लागि अन्तिम स्वर्ण जितेकी थिइन् ।

योसँगै पदक तालिकामा नेपाल दोस्रो स्थानमा यथावत् छ । नेपालको ३६ स्वर्णसहित २६ रजत र ३४ कास्य गरी कुल ९६ पदक छ । नेपालभन्दा अघि रहेको भारतको ५७ स्वर्ण, ४० रजत र २० कास्य छ । यस्तै १७ स्वर्ण, ३२ रजत र ५१ कास्यसहित श्रीलंका तेस्रो स्थानमा छ । पाकिस्तानको १२ तथा बंगलादेशको ४ स्वर्ण छ । माल्दिभ्सले एक स्वर्ण जित्दा भुटानले भने हालसम्म स्वर्ण जित्न सकेको छैन ।

 


Views: 73