17th February | 2020 | Monday | 7:40:57 AM

कुशलको शतकमा आर्मीको शान

हिमालय टाइम्स   POSTED ON : पुष २१, २०७६ (९:५९ AM)

कुशलको शतकमा आर्मीको शान

सुनसरी । कुशल मल्लले शतकीय पारी खेलेपछि त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बलको एपीएफ क्लबविरुद्ध १०८ रनको शानदार जित हात पारेको छ । सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘ए’ अन्तर्गतको पहिलो खेलमा आइतबार आर्मीले विजयी सुरुवात गरेको हो ।

इनरुवा क्रिकेट मैदानमा सम्पन्न खेलमा आर्मीले दिएको २८२ रनको लक्ष्य पछ्याउने क्रममा एपीएफले ३९.३ ओभरमा १७३ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो । एपीएफका लागि पृथु बास्कोटाले ३६, शंकर रानाले ३२, सुमित महर्जन र सन्दीप जोराले समान २३, कप्तान वसन्त रेम्गीले १७ रन बनाए । आसिफ शेख र अमर सिंह रौटेला खाता नखोली आउट भए । आर्मीको बलिंगमा देब्रे हाते स्पिनर शाहब आलमले सर्वाधिक ४ विकेट लिए । यस्तै कुशल मल्लले २ तथा विक्रम सोब, सुशन भारी र भीम शार्कीले १–१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिंग गरेको आर्मीले निर्धारित ४६ ओभरमा सबै विकेट गुमाएर २ सय ८१ रनको योगफल तयार गरेको थियो । आर्मीका लागि राष्ट्रिय क्रिकेटर कुशल मल्लले प्रतियोगिताकै पहिलो शतक प्रहार गर्ने क्रममा १ सय ११ रन बनाए । उनले ६३ बलमा १३ छक्का र ५ चौका प्रहार गरे ।

ओपनर राजु रिजाललाई ९ रन र तेस्रो नम्बरका हरिबहादुर चौहानलाई शून्य रनमै गुमाएको आर्मीलाई अनिल मण्डलसँग तेस्रो विकेटका लागि ८४ रनको साझेदारी गर्दै अघि बढाएका थिए । २७औं ओभरमा अनिल मण्डल ४१ रन बनाउँदै पवेलियन फर्किए । ८८ बलमा अनिलले ४ चौका प्रहार गरे । यस्तै राजेश पुलामीले ३८ रन तथा रोहित पौडेलले २१ रन बनाए ।

एपीएफको बलिंगमा कप्तान बसन्त रेग्मीले सर्वाधिक ४ विकेट लिए । उनले १० ओभरमा १ मेडन गर्दै ५४ रन खर्चिए । अमर सिंह रौटेलाले २ विकेट लिए भने अविनाश बोहरा, सूर्य तामाङ र प्रदीप ऐरीले समान १–१ विकेट लिए ।

प्रतियोगिता अन्तर्गत समूह ‘ए’को दोस्रो खेलमा सोमबार एपीएफ र स्थानीय टिम मनमोहन मेमोरियल क्रिकेट सेन्टर इनरुवाले प्रतिस्पर्धा गर्नेछन् । मनमोहन मेमोरियल क्रिकेट सेन्टर र इनरुवा नगरपालिकाको संयुक्त आयोजनामा जारी प्रतियोगितामा नेपालको सात प्रदेशका टिम, तीन विभागीय र आयोजक मनमोहन मेमोरियल क्रिकेट टिमले लिगमा प्रतिस्पर्धा गर्नेछन् । विजेताले ४ लाख ५ हजार र उपविजेताले २ लाख ५ हजार रुपैयाँ पाउनेछन् । 

खेल सुनसरीको इनरुवा रंगशालाको मैदानमा हुनेछ । सहभागी १२ टिमलाई चार समूहमा विभाजन गरेर खेल हुनेछ र चारवटै समूहका विजेता सेमिफाइनलमा प्रवेश गर्नेछ ।


Views: 131

सम्बन्धित सामग्री: