24th February | 2020 | Monday | 8:14:19 AM

मछिन्द्र र मनाङको बराबरी

हिमालय टाइम्स   POSTED ON : पुष २२, २०७६ (११:४९ AM)

मछिन्द्र र मनाङको बराबरी

काठमाडौं । साबिक विजेता मनाङ मस्र्याङ्दी क्लबले सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबारको खेलको बहुप्रतीक्षित खेलमा अर्को उपाधि दाबेदार क्लब मछिन्द्रसँग बराबरी खेलेको छ । दशरथ रंगशालामा अन्तिममा खेलाडीहरू हात हालाहालमा उत्रिएको खेल २–२ को बराबरीमा टुंगिएको हो ।

मनाङ २–१ ले पछि परेको अवस्थामा खेल सकिन दुई मिनेट अघि विमल रानाले बराबरी गोल फर्काएका थिए । जगजित श्रेष्ठको क्रसमा गोलरक्षक विशाल श्रेष्ठले पञ्च गरे पनि रिवाउण्डमा वैकल्पिक खेलाडीका रूपमा मैदानमा प्रवेश गरेका विमलले ६ यार्ड बक्सभित्रबाट बराबरी गोल फर्काए ।

लगत्तै थपिएको ५ मिनेटमा कुनै गोल हुन सकेन । थपिएको समय पनि सकिएपछि मनाङ र मछिन्द्रका खेलाडीहरू एकापसमा भिडेका थिए । प्रहरीले मैदानमै गएर खेलाडी छुट्टाउनुपर्ने अवस्था सिर्जना भएको थियो । प्रहरीले नै दुवै टोलीका खेलाडीलाई ‘स्कर्टिङ’ गरेर ड्रेसिङ रूमभित्र ल्याए ।

खेलपछि मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले खेलपछिको उत्पन्न परिस्थिति खेलाडीको अनुशासन विपरीतको काम भएको बताए । उनले भने, ‘खेलमा एग्रेसिभ हुनु स्वाभाविक हो तर टेक्निकलरूपमा भएको भए राम्रो हुन्थ्यो । मनाङका धेरै खेलाडीहरू मछिन्द्रमा आएकाले पनि त्यस्तो हुनपर्छ ।’

यता मनाङका प्रशिक्षक धनेश्वर प्रजापतिले भने यसबारेमा आफूलाई थाहा नभएको बताए । उनले भने, ‘मैले त सबैलाई ब्लक गरिरहेको थिएँ । के भएको हो मलाई नै थाहा छैन । हाम्रा खेलाडीहरू हाम्रै कण्ट्रोलमा छन् तर खेलाडीलाई मैदानमा गएर सम्हाल्न सकिँदैन नि तर यो दुःख लाग्दो विषय हो ।’

खेलको दोस्रो मिनेटमा नै मनाङले खेलमा अग्रता बनाएको थियो । अञ्जन विष्टको क्रसमा आडेवुमी फेमीको हेडरमार्फत गोल गरे । अञ्जन एन्फाको अनुशासनको ४५ दिने कारबाहीबाट यही खेलमार्फत फुटबलमा फर्किएका हुन् । खेलको ४६औं मिनेटमा सुजल श्रेष्ठले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

८१औं मिनेटमा एडिलाजा सोमिडेले गोल गर्दै मछिन्द्रलाई २–१ को अग्रता दिलाए । उनको प्रहारलाई गोलरक्षकले रोक्ने कुनै मौका नै पाएनन् । खेल सकिन अन्तिम दुई मिनेटमा विमलले गोल गर्दै खेललाई बराबरीमा ल्याए । मछिन्द्रसँगको बराबरीसँगै मनाङले पाँच खेलमा ११ अंक जोडेको छ । र, मनाङ शीर्ष स्थानमा यथावत् रहेको छ । यस्तै पाँच खेलमा १० अंक जोडेको मछिन्द्र दोस्रो स्थानमा रहेको छ ।

एनआरटी र जावलाखेलको पनि बराबरी

यस्तै अर्को खेलमा न्यूरोड टिम एनआरटी र जावलाखेल युथ क्लबले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् । दुवै टोलीले गोलको अवसर बनाएपनि गोल गर्न चुकेका थिए । यो बराबरीसँगै जावलाखेलले लिगको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । चौथो स्थानको जावलाखेलले ४ खेलमा ९ अंक जोडेको छ । आठौं स्थानको एनआरटीले ४ खेलमा ५ अंक जोडेको छ ।

लिगमा ए डिभिजनका १४ क्लबको सहभागिता रहको छ । गत वर्ष रेलिगेसन सिष्टम नराखेपनि यसवर्ष भने पुछारको एक टोलीको बी डिभिजनमा घटुवा हुनेछ । लिग सञ्चालनको लागि कुल ६ करोड ३० लाख खर्च लाग्ने एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले बताए । सहभागी सबै क्लबलाई एन्फाले तयारीको लागि २०–२० लाख प्रदान गरिएको छ ।

लिगको विजेताले ५० लाख, दोस्रोले ३५ लाख, तेस्रोले २५ लाख, चौथोले १५ लाख, पाँचौले ७ लाख र छैटौं स्थानमा रहने टोलीले ५ लाख प्राप्त नगद प्राप्त गर्ने छन् । म्याच मनिका रूपमा हरेक खेलको विजेता टोलीले ५० हजार प्राप्त छ । खेल बराबरीमा रोकिएमा १५–१५ हजार प्रदान गर्ने एन्फाले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट ५ स्ट्राइकर, मिडफिल्डर, डिफेन्स, गोलकीपर र प्रशिक्षकले १ लाख ५० हजार प्राप्त गर्ने छन् । प्रत्येक खेलको म्यान अफ दी म्याचलाई १० हजार र प्रतियोगिताको फेयर प्ले टिमले १ लाख पाउने छ ।


Views: 117