19th January | 2020 | Sunday | 7:07:00 AM

शेर्पा र फ्रेन्ड्स जितविहीन

हिमालय टाइम्स   POSTED ON : पुष २३, २०७६ (१०:०२ AM)

शेर्पा र फ्रेन्ड्स जितविहीन

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको पाँचांै चरणका खेलहरू जारी रहँदा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबले जित हात पार्न सकेका छैनन् । मंगलबार यी दुई क्लब आमन्नेसामने हुँदासमेत खेल गोलरहित बराबरीमा रोकियो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा दुवै टोलीले अंक बाँडे । खेलको ४३औं मिनेटमा फ्रेन्ड्सका उत्तम राईले डिबक्सभित्रबाट गोल गर्ने सुन्दर मौका गुमाए । त्यसअघि खेलको २०औं मिनेटमा शेर्पाका सुरज हमालले डिबक्स बाहिरबाट हानेको प्रहारले पोष्टको दिशा लिन सकेन ।

दोस्रो हाफमा भने शेर्पाले केही उत्कृष्ट अवसर सदुपयोग गर्न सकेन । खेलको ७२औं मिनेटमा शेर्पाका सुरज हमाल वान भर्सेस वानमा गोल गर्न चुके । हमालले डिबक्सभित्रबाट हानेको प्रहार फ्रेन्ड्सका गोलकिपर देव लिम्बूले पञ्च गर्दै बाहिर पठाए । खेलको अन्तिम समयमा गोलकिपर बिट भएको अवस्थामा अनमार्क रहेका शेर्पाका विशन गुरुङ गोल गर्न चुके । उनले डिबक्सभित्रबाट हानेको बल क्रसबार माथिबाट बाहिरिएको थियो ।

लिगमा शेर्पाको यो तेस्रो बराबरी हो भने फ्रेन्ड्सको दोस्रो बराबरी हो । बराबरीसँगै शेर्पाले ५ खेलमा ३ अंक जोडेको छ । शेर्पा लिगको १२औं स्थानमा छ । ५ खेलमा २ अंक जोडेको फ्रेन्ड्स १३औं स्थानमा छ ।

खेलपछि फ्रेन्ड्सका ब्राजिलियन प्रशिक्षक मार्कुस डानटनले जित्नु पर्ने खेलमा बराबरीमा चित्त बुझाउनुपरेको बताए । ‘बराबरी खेल्नुपर्ने खेल यो थिएन् । हामीले जित्नुपर्ने खेल बराबरी भयो,’ मार्कुसले भने, ‘तर, पराजित हुनु परेन । अंक आयो यसैमा खुशी छौं । अबको दिनमा अझै राम्रो गर्ने छौँ ।’

प्रशिक्षक मार्कुसले यात्रा सहज नभए पनि फ्रेन्ड्सको लक्ष्य शीर्ष ६ रहेको बताए । शेर्पाका प्रशिक्षक सञ्जीव बुढाथोकीले पाएको अवसरमा गोल गर्न नसक्दा बराबरी खेल्नुपरेको बताए । ‘हामीलाई दबाब थियो । त्यसैले फरक रणनीतिमा थियौं । अट्याकिङ खेल्यौ तर दुर्भाग्य पाएको अवासर सदुपयोग भएन । नतिजाबाट खुशी हुने अवस्था छैन,’ बुढाथोकीले भने ।

लिगको विजेताले ५० लाख, दोस्रोले ३५ लाख, तेस्रोले २५ लाख, चौथोले १५ लाख, पाँचौंले ७ लाख र छैटौं स्थानमा रहने टोलीले ५ लाख प्राप्त नगद प्राप्त गर्नेछन् । म्याच मनिका रूपमा हरेक खेलको विजेता टोलीले ५० हजार प्राप्त छ । खेल बराबरीमा रोकिएमा १५–१५ हजार प्रदान गर्ने एन्फाले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट ५ स्ट्राइकर, मिडफिल्डर, डिफेन्स, गोलकीपर र प्रशिक्षकले १ लाख ५० हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ दी म्याचलाई १० हजार र प्रतियोगिताको फेयर प्ले टिमले १ लाख पाउनेछ ।


Views: 97