27th January | 2020 | Monday | 6:31:11 AM

सन्तोषको सय गोल

हिमालय टाइम्स   POSTED ON : पुष २४, २०७६ (१०:३९ AM)

सन्तोषको सय गोल

काठमाडौं । सन्तोष साहुखलले ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा एक सय गोल पूरा गरेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार नेपाल पुलिस क्लबविरुद्ध सन्तोषले सयौं गोल गरे ।

च्यासल युथ क्लबका कप्तानसमेत रहेका सन्तोष खेलको १८औँ मिनेटमा गोल गर्दै नेपालको शीर्ष डिभिजनको फुटबलमा सयौँ गोल गर्ने पहिलो खेलाडी बनेका छन् । 

सय गोल गरेपछि सन्तोषले राष्ट्रिय टोलीबाट खेल्ने इच्छासमेत व्यक्त गरे । ‘मेरो निरन्तर अभ्यास र मिहिनेतले यो सफलता हात लाग्यो,’ उनले भने, ‘मेरो आवश्यकता ठानियो भने म देशका लागि अझै योगदान गर्न तयार छु ।’

हाल जापानमा बस्दै आएका सन्तोष समय मिलाएर ‘ए’ डिभिजन लिग खेल्न आउँछन् । जापानमा पनि उनी फुटबलमै सक्रिय छन् । यसपटक च्यासललाई उपाधि दिलाउनमा आफू केन्द्रित रहेको उनले बताए । उनले भने, ‘च्यासललाई जिताउनु थियो । टिमलाई उपाधि दिलाउनमा म केन्द्रित छु’ उनले थपे ।

सन्तोषकै दुई गोलको मद्दतमा बुधबार च्यासलले नेपाल पुलिस क्लबलाई २–२ को बराबरीमा रोक्दै अंक खोसेको थियो । हेमन्त थापामगरले हानेको फ्री–किक पुलिसका गोलकिपर शत्रुघन चौधरीले रोक्न नसकेपछि सन्तोषले गोलमा परिणत गर्दै आफ्नो सय गोल पूरा गरेका थिए ।

रोमान्चक खेलमा पुलिसका लागि नीरकुमार राई र सुमन लामाले १–१ गोल गरे । च्यासलका लागि दुवै गोल सन्तोष साहुखलले गरे ।

त्यसअघि, खेलको पाँचौं मिनेटमा नीरकुमार राईको गोलबाट पुलिसले अग्रता बनाएको थियो । १८औं मिनेटमा सन्तोषको गोलबाट च्यासलले बराबरी गरे पनि ४०औं मिनेटमा सुमन लामाको गोलले पुनः पुलिसले अग्रता बनायो । दोस्रो हाफको ४९औं मिनेटमा सन्तोषले दोस्रो गोल गर्दै सन्तोषले खेल बराबरीमा पु¥याए ।

२०६० सालमा थ्री–स्टारबाट लिगमा डेब्यु गरेका सन्तोषले यस क्लबमा ६ सिजन बिताए । त्यसक्रममा उनले  ५२ गोल गरे । थ्री–स्टारबाहेक सन्तोषले लिगमा मनाङ, एपिएफ र च्यासलको प्रतिनिधित्व गरे । २०६३ देखि २०६९ सालसम्मको लिगमा सन्तोष उच्च लयमा थिए । ‘ए’ डिभिजन लिगको सर्वाधिक सफल क्लब मनाङबाट समेत उनले १६ गोल गरेका छन् ।

सन्तोषको गोलयात्रा

२०६०– थ्री स्टार – ६ गोल

२०६१– एपिएफ– ६ गोल

२०६२– थ्री स्टार– ९ गोल

२०६३– थ्री स्टार– ११ गोल

२०६६–६७– थ्री स्टार– १९ गोल

२०६८– मनाङ – १६ गोल

२०६९– थ्री स्टार– १७ गोल

२०७०– थ्री स्टार– ९ गोल

२०७५– च्यासल– ३ गोल

२०७६– च्यासल– ५ गोल (जारी)



Views: 101