27th January | 2020 | Monday | 6:57:28 AM

थ्रीस्टारद्वारा ब्रिगेड ब्वाइज पराजित

हिमालय टाइम्स   POSTED ON : पुष २४, २०७६ (१०:४८ AM)

थ्रीस्टारद्वारा ब्रिगेड ब्वाइज पराजित

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा थ्रीस्टार क्लबले ब्रिगेड ब्वाइज क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको पहिलो खेलमा थ्रीस्टार ब्रिगेड ब्वाइज क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । 

थ्रीस्टारको जीतमा सुशान्त श्रेष्ठ, अनन्त तामाङ र विदेशी खेलाडी वासिउ ओलादिरान हाजमातले एक एक गोल गरे । खेलको १५औं मिनेटमा सुशान्तले गोल गर्दै थ्रीस्टारलाई पहिलो अग्रता दिलाए । उनले अशोक खवासको पासमा करिब सिक्स यार्ड बक्सभित्रबाट गोल गर्दै थ्रीस्टारलाई पहिलो अग्रता दिलाएका हुन् । 

त्यसपछि खेलको ४१औं मिनेटमा अनन्तले गोल गर्दै थ्रीस्टारलाई २–० को अग्रता दिलाए । उनले मिक्छेन तामाङको कर्नर पासमा हेड गोल गरेका थिए । त्यस्तै खेलको ५८औं मिनेटमा थ्रीस्टारका हाजमातले एक गोल थपे । 

ब्रिगेड ब्वाइजका खेलाडी रोशन रानामगरले खेलको ८९औं मिनेटमा एक सानत्वना गोल फर्काए । जीतसँगै थ्रीस्टारले पाँच खेलमा १० अंक जोडेर लिगको तेस्रो स्थानमा उक्लियो । पराजित ब्रिगेड ब्वाइज समान पाँच खेलमा ६ अंकका साथ सातांै स्थानमा छ ।

खेलमा तीन गोलले पछि परेको ब्रिगेड ब्वाइज खेलको ६६औं मिनेटमा दिपकराज सिंहले रातोकार्ड पाउँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित भएको थियो । थ्रीस्टारका अशोक खवासलाई खराब ट्याकल गरेर लडाएपछि उनले रातो कार्ड पाएका थिए । 

लिगमा ‘ए’ डिभिजनका १४ क्लबको सहभागिता छ । गतवर्ष रेलिगेसन सिस्टम नराखेपनि यसवर्ष भने पुछारको एक टोलीको ‘बी’ डिभिजनमा घटुवा हुनेछ । लिग सञ्चालनको लागि कुल ६ करोड ३० लाख खर्च लाग्ने एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले बताए । सहभागी सबै क्लबलाई एन्फाले तयारीका लागि २०–२० लाख प्रदान गरिएको छ ।

लिगको विजेताले ५० लाख, दोस्रोले ३५ लाख, तेस्रोले २५ लाख, चौथोले १५ लाख, पाँचौले ७ लाख र छैटौं स्थानमा रहने टोलीले ५ लाख प्राप्त नगद प्राप्त गर्ने छन् । म्याच मनिका रूपमा हरेक खेलको विजेता टोलीले ५० हजार प्राप्त छ । खेल बराबरीमा रोकिएमा १५–१५ हजार प्रदान गर्ने एन्फाले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट ५ स्ट्राइकर, मिडफिल्डर, डिफेन्स, गोलकिपर र प्रशिक्षकले १ लाख ५० हजार प्राप्त गर्ने छन् । प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १० हजार र प्रतियोगिताको फेयर प्ले टिमले १ लाख पाउनेछ ।


Views: 95