3rd July | 2020 | Friday | 1:57:36 AM

आर्मी पहिलोपल्ट शीर्षमा

हिमालय टाइम्स   POSTED ON : पुष २५, २०७६ (१०:०३ AM)

आर्मी पहिलोपल्ट शीर्षमा

काठमाडौं । विभागीय क्लब त्रिभुवन आर्मी क्लब पहिलोपल्ट सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहिबार भएको खेलमा सरस्वती युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै आर्मी लिगको शीर्ष स्थानमा उक्लिएको हो ।

आर्मीको जितमा जर्जप्रिन्स कार्कीले निर्णायक गोल गरे । खेलको ३०औं मिनेटमा दिनेश हेन्जनको पासमा जर्ज प्रिन्सले गोल गरेका थिए । आर्मीको यो लिगमा चौंथो जित हो । जितसँगै शीर्ष स्थानमा उक्लिएको आर्मीले ५ खेलमा १२ अंक जोडेको छ । साविक विजेता मनाङ मस्र्याङ्दी क्लबलाई एक अंकले पछि पार्दै आर्मी शीर्ष स्थानमा उक्लिएको हो । दोस्रो स्थानमा रहेको मनाङको ५ खेलमा ११ अंक रहेको छ । सरस्वतीको यो लगातार पाँचौं हार हो । लिगको पुछारमा रहेको सरस्वतीले ५ खेलमा अंक जोड्न सकेको छैन । 

संकटाको दोस्रो जित

लिगमा संकटा क्लबले दोस्रो जित हात पारेको छ । बिहिबार भएको खेलमा विभागीय टिम एपीएफ क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्दै संकटाले लिगमा दोस्रो जित निकालेको हो । संकटाको जितमा अजयी मार्टिन्सले दुई गोल गरे । यस्तै लक्ष्मण रुचाल र कर्ण लिम्बूले एक–एक गोल गरे । एपीएफका नवीन लामा र आशिष लामा लामाले एक–एक गोल फर्काए ।

खेलको १९औं मिनेटमा लक्ष्मणले फ्रीकिकमा गोल गर्दै संकटालाई अग्रता दिलाए । ४४औं मिनेटमा कर्णले गोल गर्दा पहिलो हाफमा संकटा २–० ले अघि रहृयो । ५३औं मिनेटमा मार्टिन्सले गोल गर्दै संकटालाई ३–०को अग्रता दिलाए । त्यसको ३ मिनेट नबित्दै एपीएफका नवीनले पेनाल्टीमा गोल फर्काए । ७२औं मिनेटमा एपीएफका आशिषले गोल गर्दै खेल ३–२ को स्थितिमा ल्याए । खेलसकिन दुई मिनेट बाँकी रहँदा मार्टिन्सले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल संकटाले ४–२ले जित्यो ।

जितसँगै संकटा लिगको सातौं स्थानमा उक्लिएको छ । संकटाले ५ खेलमा ७ अंक जोडेको छ । एपीएफको ५ खेलमा ४ अंक रहेको छ । एपीएफ लिगको ११औं स्थानमा छ । खेलपछि संकटाका प्रशिक्षक विजय महर्जनले अब टिमको लक्ष्य शीर्ष ६ भित्र रहने बताए । यस्तै एपीएफका प्रशिक्षक राजेन्द्र तामाङले डिफेन्समा तालमेल नमिलेका कारण हार व्यहोरेको बताए ।

लिगमा ‘ए’ डिभिजनका १४ क्लबको सहभागिता छ । गत वर्ष रेलिगेसन सिस्टम नराखे पनि यस वर्ष भने पुछारको एक टोलीको ‘बी’ डिभिजनमा घटुवा हुनेछ । लिग सञ्चालनको लागि कुल ६ करोड ३० लाख खर्च लाग्ने एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले बताए । सहभागी सबै क्लबलाई एन्फाले तयारीको लागि २०–२० लाख प्रदान गरिएको छ ।

लिगको विजेताले ५० लाख, दोस्रोले ३५ लाख, तेस्रोले २५ लाख, चौथोले १५ लाख, पाँचांैले ७ लाख र छैटौं स्थानमा रहने टोलीले ५ लाख प्राप्त नगद प्राप्त गर्ने छन् । म्याच मनिका रूपमा हरेक खेलको विजेता टोलीले ५० हजार प्राप्त छ । खेल बराबरीमा रोकिएमा १५–१५ हजार प्रदान गर्ने एन्फाले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट ५ स्ट्राइकर, मिडफिल्डर, डिफेन्स, गोलकिपर र प्रशिक्षकले १ लाख ५० हजार प्राप्त गर्ने छन् । प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १० हजार र प्रतियोगिताको फेयर प्ले टिमले १ लाख पाउनेछ ।


Views: 153

सम्बन्धित सामग्री:

७०० गोलको कोशेढुंगा

एजेन्सी : असार १८, २०७७ (९:३५ AM)

एक वर्ष सर्यो साफ

हिमालय टाइम्स : असार १७, २०७७ (११:२८ AM)