27th January | 2020 | Monday | 5:43:14 AM

रजत पदक विजेता महिला खेलाडी सम्मानित

श्याम कार्की   POSTED ON : पुष २७, २०७६ (४:१७ PM)

रजत पदक विजेता महिला खेलाडी सम्मानित

रौतहट । आठौँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा रजत पदक विजेता नेपाली महिला फुटबल टोलीका ५ जना रौतहटका खेलाडीहरुलाई उनीहरुको गृहजिल्ला रौतहटमा सम्मानित गरिएको छ । नेपाली महिला फुटबल टोलीमा रहेर फुुटबलको विकासमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै जिल्लाको चन्द्रपुर नगरपालिकामा रहेको साथी शिक्षा सहकारी संस्था लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारण सभाको अवसरमा उनीहरुलाई सम्मानित गरेको हो । 

यसरी सम्मानित हुने खेलाडीहरुमा रेनुका नगरकोटी, अनिता केसी, मन्जली कुमारी योन्जन,अन्जना राना मगर तथा पुन जर्गा मगरलाई रहेका छन् । सम्मानित पाँचैजना खेलाडीहरु चन्द्रपुर नगरपालिका निवासी हुन् । खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि विकास तथा प्राविधिक समितिका सभापति कल्याणी खड्का एवम् संस्थाका अध्यक्ष रामकुमार भट्टराईले सम्मान–पत्र, दोसल्ला तथा नगदले सम्मानित गरेका थिए ।  कार्यक्रममा बोल्दै सम्मानित खेलाडी रेनुका नगरकोटीले गृहजिल्लामा सम्मानित हुने अवसर पाउँदा निकै खुसी लागेको बताउँदै आफ्नो जिल्लाले गर्ने सम्मान सदैव विशेष हुने धारणा राख्नुभयो । आफुहरुले यसअघि गृहजिल्लामा कुनैपनि सम्मान नपाएको भन्दै उनले पहिलो पटक जिल्लामै सम्मानित हुन पाउँदा थप उर्जा मिलेको अनुभव बताइन् ।  ‘ यसरी सम्मान पाउँदा म आज निकै खुसी छुँ ।’ उनले भनिन्,  ‘ यसले हामीलाई थप उर्जाशिल बनेर फुटबल क्षेत्रमा लागिरहन प्रेरित गरेको छ । यस्ता सम्मानले खेलाडीलाई सदैव हौसला प्रदान गर्छ । ’

अखिल नेपाल फुटबल संघ प्रदेश नम्बर २ लिग संयोजक नेपाल कार्कीले रौतहट जिल्ला फुटबल संघले पहिलेदेखि हालसम्म निरन्तर रुपमा महिला फुटबल खेलाडी उत्पादन गर्न योगदान गरिरहेको भन्दै आगामी दिनमा यसलाई थप विकास र विस्तार गर्न ३ वटै तहको सरकारले पहल गर्नुपर्ने माग गरे । रौतहट जिल्लामा जन्मिएर खेलकुदको माध्यमद्धारा देशको नाम उच्च गरेको र साग खेलकुद प्रतियोगितामा रजत पदक जित्न सफल भएकाले उनीहरुको योगदानको कदर गर्न सम्मानित गरिएको संस्थाका महासचिव दिपक कुमार रेग्मीले बताए । 

विकास तथा प्राविधिक समितिका सभापति कल्याणी खड्काले वर्तमान सरकारले खेलकुदको विकासमा निरन्तर लागिपरेको भन्दै देशको नाम उच्च पार्ने हरेक खेलाडीलाई राष्ट्रले पनि उच्च कदर गर्नुपर्ने बताइन् ।  उनले रौतहट जिल्ला सदैव महिला फुटबलको उर्भर भूमिको रुपमा चिनिदैँ आएको र यस जिल्लाबाट फुटबल सिकेका महिला खेलाडीहरु विभिन्न विभागिय क्लव र राष्ट्रिय टोलीमा राम्रो स्थान बनाउन सफल भएकोमा खुसी व्यक्त गरिन् । 


Views: 145