17th February | 2020 | Monday | 1:23:50 PM

फ्रेन्ड्ससँग थ्रीस्टार स्तब्ध

हिमालय टाइम्स   POSTED ON : पुष २८, २०७६ (१०:४९ AM)

फ्रेन्ड्ससँग थ्रीस्टार स्तब्ध

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबलाई फ्रेन्ड्स क्लबले स्तब्ध पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा थ्री स्टार फ्रेन्ड्स क्लबसँग १–० गोल अन्तरले पराजित गरेको हो ।

थ्री स्टारविरुद्ध फ्रेन्ड्सलाई जित दिलाउन ब्राजिलियन खेलाडी वाग्नेर डी कार्मोले निर्णायक गोल गरे । कार्मोले खेलको १३औं मिनेटमा गोल गर्दै फ्रेन्ड्सलाई जित दिलाए । विश्व अधिकारीको फ्रीकिक बलमा उनले हेड गोल गरेका थिए ।

फ्रेन्ड्सको यो पहिलो जित हो । अघिल्ला ५ खेलमा फ्रेन्ड्सले ३ बराबरी र २ हार व्यहोरेको थियो । फ्रेन्ड्सले ६ खेलमा ५ अंक जोडेको छ । फ्रेन्ड्स लिगको ११औं स्थानमा उक्लिएको छ । फ्रेन्ड्ससँग पराजित भएसँगै थ्री स्टारले लिगको दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । थ्री स्टारले ६ खेलमा १० अंक जोडेको छ । थ्री स्टार लिगको चौंथो स्थानमा छ ।

खेलपछि थ्री स्टारका प्रशिक्षक मेघराज केसीले मौकाको सदुपयोग गर्न नसक्दा खेल गुमाएको बताए । ‘हामी स्कोरमा चुक्यौं । खेल त्यति उत्कृष्ट पनि खेल्न सकेनौं । त्यसमा पाएको मौकालाई सदुपयोग नै भएन,’ प्रशिक्षक केसीले भने, ‘यो हारले टिमको उपाधि होडमा धक्का लागेको छ ।’

लिगमा पहिलो जित निकालेपछि फ्रेन्ड्समा प्रशिक्षक मार्कुस डाण्टस खुशी देखिए । ‘धेरै राम्रो खेल जित्न सफल भयौं । ठूलो टिमसँग राम्रो जित निस्केको छ । खुशी छु,’ उनले भने ।

सरस्वतीलाई पहिलो अंक

यस्तै सरस्वती युथ क्लबले लिगमा पहिलो अंक जोडेको छ । दशरथ रंगशालामा आइतबार भएको खेलमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) सँग गोलरहित बराबरी खेल्दै सरस्वती क्लबले छैटौं खेलमा पहिलो अंक जोडेको हो । यसअघि ५ खेलमै सरस्वतीले हार बेहोरेको थियो । ५ खेलमा २ खेल जितेको बीबीसीको भने ७ अंक छ ।

लिगमा सोमबार २ खेल हुनेछन् । दिउँसो १२ बजे एनआरटी र नेपाल पुलिस क्लब तथा दिउँसो ३ बजे च्यालस युथ क्लब र नेपाल एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

लिगमा ए डिभिजनका १४ क्लबको सहभागिता छ । गतवर्ष रेलिगेसन सिस्टम नराखे पनि यसवर्ष भने पुछारको एक टोलीको बी डिभिजनमा घटुवा हुनेछ । लिग सञ्चालनका लागि कुल ६ करोड ३० लाख खर्च लाग्ने एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले बताए । सहभागी सबै क्लबलाई एन्फाले तयारीका लागि २०–२० लाख प्रदान गरिएको छ ।

लिगको विजेताले ५० लाख, दोस्रोले ३५ लाख, तेस्रोले २५ लाख, चौथोले १५ लाख, पाँचांैले ७ लाख र छैटौं स्थानमा रहने टोलीले ५ लाख प्राप्त नगद प्राप्त गर्ने छन् । म्याच मनिका रूपमा हरेक खेलको विजेता टोलीले ५० हजार प्राप्त छ । खेल बराबरीमा रोकिएमा १५–१५ हजार प्रदान गर्ने एन्फाले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट ५ स्ट्राइकर, मिडफिल्डर, डिफेन्स, गोलकीपर र प्रशिक्षकले १ लाख ५० हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ दी म्याचलाई १० हजार र प्रतियोगिताको फेयर प्ले टिमले १ लाख पाउनेछ ।


Views: 109