10th April | 2020 | Friday | 2:45:50 PM

आर्मी उपाधि नजिक

हिमालय टाइम्स   POSTED ON : माघ २, २०७६ (१०:११ AM)

आर्मी उपाधि नजिक

इनरुवा । प्रदेश ३ लाई ६४ रनले पराजित गर्दै डिफेण्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लब सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा आर्मीले दिएको २ सय १७ रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश ३ ले ३८.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर १५२ रनमात्र बनाउन सक्यो । 

लक्ष्य पछ्याउने क्रममा प्रदेश ३ का लागि सोनु तामाङले सर्वाधिक ७४ रन बनाए । जुन क्रममा ७५ बलमा ६ छक्का र ४ चौका प्रहार गरे । इशान पाण्डेले १७ तथा सुबास खकुरेलले १५ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

प्रदेश ३ को बलिङमा देब्रेहाते स्पिनर सुशन भारीले सर्वाधिक ३ विकेट लिए । भारीले ८.१ ओभरमा ३ मेडन ओभर गर्दै २३ रन खर्चिए । अर्का देब्रेहाते स्पिनर शाहब आलमले २ विकेट तथा विक्रम सोब, हरिबहादुर चौहान , हरिकृष्ण झा र कुशल मल्लले समान १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको आर्मीले निर्धारित ४७ ओभरमा सबै विकेट गुमाएर २१६ रन बनाएको थियो । ढिला सुरु भएका कारण खेल ४७ ओभरमा झारिएको थियो । 

आर्मीको लागि ओपनिंङ ब्याट्सम्यान अनिल मण्डलले सर्वाधिक ४३ रन बनाए । जुन क्रममा ७३ बलमा ३ चौका प्रहार गरे । यस्तै कुशल मल्लले २६ बलमा ४ चौका र २ छक्का मद्दतले ३७ रन बनाए । रोहित पौडेलले २९, विक्रम सोबले २४, राजेश पुलामीले १७ तथा भीम सार्कीले १५ रन बनाए ।

प्रदेश ३ को बलिङमा तीव्र गति बलर गौतम केसीले ४ विकेट लिए जुन क्रममा ७.३ ओभर बलिङ गर्दै २२ रन खर्चिए । तिलकराज भण्डारी, नन्दन यादब र इशान पाण्डेले समान २ विकेट लिए ।

खेलको प्लेयर अफ द म्याच कुशल मल्ल चुनिए । प्रतियोगिताअन्तर्गत दोस्रो सेमिफाइनल खेलमा बिहीबार नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल शनिबार हुनेछ । 

मनमोहन मेमोरियल क्रिकेट सेण्टर र इनरुवा नगरपालिकाको संयुक्त आयोजनामा हुने प्रतियोगितामा १२ टिमले प्रतिस्पर्धा गर्दैछन् । जसमा मलेसियाको राष्ट्रिय टिमसमेत आउने आयोजकले जनाएको छ । नेपालका सात प्रदेशका टिम, तीन विभागीय र आयोजक मनमोहन मेमोरियल क्रिकेट टिमले लिगमा प्रतिस्पर्धा गर्नेछन् । विजेताले ४ लाख ५ हजार र उपविजेताले २ लाख ५ हजार रुपैयाँ पाउनेछन् । खेल सुनसरीको इनरुवा रंगशालाको मैदानमा हुनेछ । सहभागी १२ टिमलाई चार समूहमा विभाजन गरेर खेल हुनेछ र चारवटै समूहका विजेता सेमिफाइनलमा प्रवेश गर्नेछन् ।


Views: 115