10th April | 2020 | Friday | 3:34:35 PM

सन्दीप काठमाडौंबाट इपिएल खेल्ने

हिमालय टाइम्स   POSTED ON : माघ २, २०७६ (१०:१४ AM)

सन्दीप काठमाडौंबाट इपिएल खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वाण्टी क्रिकेट काठमाडौं किंसबाट खेल्ने भएका छन् । आयोजक इपिएलले बुधबार नेपाली ग्लोबल आइकन सन्दीपले काठमाडौंबाट खेल्ने पक्का भएको जनाएको छ । काठमाडौं पूर्व कप्तान विनोद दासको प्रशिक्षणमा रहने छ ।

गत सिजन सन्दीपले च्याम्पियन टिम ललितपुर प्याट्रीयट्सबाट खेलेका थिए । तर, सन्दीप बीचमा इपिएल छाडेर बिगबास लिग खेल्न अष्ट्रेलिया गएका थिए । गत सिजन सन्दीपले ललितपुरबाट २ खेलमा ३ विकेट लिएका थिए । यस संस्करणको इपिएल चैत १ देखि १५ गतेसम्म हुनेछ । यस संकरणमा विश्व क्रिकेटका हस्तीहरू हसिम अमला, मोहमद शाहजाद, उपुल थरंगा, लियाम प्लुनकेट, ड्वाने स्मिथजस्ता खेलाडीले खेल्नेछन् ।

दुई विकेट

यसैबीच मेलबर्न स्टार्सको बुधबार बिगबास लिग (बिबिएल)मा पर्थ स्कोर्चसविरुद्धको खेलमा सन्दीपले दुई विकेट लिए । सन्दीपले आफ्नो तेस्रो ओभरमा २ विकेट लिएका छन् । सुरुवाती दुई ओभरमा विकेट लिन नसकेका सन्दीपले तेस्रो ओभरको तेस्रो र चौथो ओभरमा उनले विकेट लिएका हुन् । सन्दीपले मेडन ओभर बलिङ गर्दै २ विकेट लिएका हुन् । समग्रमा सन्दीपले ३ ओभरमा ७ रन खर्चिएर २ विकेट लिएका हुन् । यससँगै सन्दीपले यस सिजन ९ खेलमा ११ विकेट हात पार्न सफल भएका छन् ।


Views: 135