10th April | 2020 | Friday | 2:55:19 PM

उपाधिका लागि पुलिस र आर्मी भिड्ने

हिमालय टाइम्स   POSTED ON : माघ ३, २०७६ (१०:५१ AM)

उपाधिका लागि पुलिस र आर्मी भिड्ने

इनरुवा । इनरुवामा जारी मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने भएको छन् । बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा सुदूरपश्चिमलाई पराजित गर्दै पुलिसले फाइनलमा स्थान बनाएको हो । आर्मी यसअघि नै फाइनलमा पुगिसकेको छ ।

बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा सुदूरपश्चिमलाई ९९ रनले पराजित गर्दै पुलिसले फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग भेट पक्का गरेको हो । आर्मीले पहिलो सेमिफाइनलमा प्रदेश ३ लाई बुधबार पराजित गरेको थियो । उपाधिका लागि शनिबार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुनेछ ।

इनरुवा रंगशालामा सम्पन्न खेलमा पहिले ब्याटिङ गर्दै नेपाल पुलिस क्लबले दिएको २ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा सुदूर पश्चिमले ३३.४ ओभरमा १ सय ३० रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो । सुदूरपश्चिमको किरन ठगुन्नाले सर्वाधिक ३९ रन बनाए । आकाश चन्दले अविजित २३ , गजेन्द्र बोहराले १२ तथा खडक बोहराले १४ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

कप्तान सन्तोष भट्टले १, अरुन ऐरीले ६, लोकेश बमले ८ रन बनाए भने शेर मल्ल र दीपक बोहराले खाता खोल्न सकेनन् । सुदूरपश्चिमलाई सानो योगफलमा समेट्न पुलिसका देब्रे हाते स्पिनर सागर ढकालले ५ विकेट लिए । ६.४ ओभर बलिंग गर्दै ढकालले १ मेडन ओभर सहित ९ रनमात्र खर्चिए । यस्तै अर्का देब्रे हाते स्पिनर ललित राजवंशीले ३ विकेट लिए भने ललित भण्डारी र योगेन्द्रसिंह कार्कीले १–१ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिंग गरेको नेपाल पुलिस क्लबले ४९ ओभरमा सबै विकेट गुमाएर २२९ रन बनाएको थियो । पुलिसको लागि दीपेन्द्र ऐरीले सर्वाधिक ६८ रन बनाए जुन क्रममा ७६ बलमा ६ चौका र १ छक्का प्रहार गरे । ललित सिंह भण्डारीले ४० रन बनाए जुन क्रममा ४ छक्का र २ चौका प्रहार गरे। अनिल साहले ३१, योगेन्द्र सिंह कार्कीले २९ तथा कुशल भुर्तेलले १७ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

सुदूरपश्चिमको बलिंगमा शेर मल्ल, विनोद लामा र आकाश चन्दले समान ३ विकेट लिए । सन्तोष भट्टले १ विकेट लिए । खेलको प्लेयर अफ नेपाल पुलिसका द म्याच सागर ढकाल चुनिए । मनमोहन मेमोरियल क्रिकेट सेन्टर र इनरुवा नगरपालिकाको संयुक्त आयोजनामा हुने प्रतियोगितामा १२ टिमले प्रतिस्पर्धा गर्दैछन् । जसमा मलेसियाको राष्ट्रिय टिमसमेत आउने आयोजकले जनाएको छ । 

नेपालको सात प्रदेशका टिम, तीन विभागीय र आयोजक मनमोहन मेमोरियल क्रिकेट टिमले लिगमा प्रतिस्पर्धा गर्नेछन् । विजेताले ४ लाख ५ हजार र उपविजेताले २ लाख ५ हजार रुपैयाँ पाउनेछन् । खेल सुनसरीको इनरुवा रंगशालाको मैदानमा हुनेछ । सहभागी १२ टिमलाई चार समूहमा विभाजन गरेर खेल हुनेछ र चारवटै समूहका विजेता सेमिफाइनलमा प्रवेश गर्नेछ । 


Views: 118