21st February | 2020 | Friday | 1:24:34 AM

थ्री स्टार तेस्रो स्थानमा

हिमालय टाइम्स   POSTED ON : माघ १०, २०७६ (१०:२८ AM)

थ्री स्टार तेस्रो स्थानमा

काठमाडौं । हिमालयन शेर्पा क्लबलाई हराउँदै थ्री स्टार क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो स्थानमा उक्लेको छ । दशरथ रंशालममा बिहीबार भएको खेलमा थ्री स्टारले हिमालयन शेर्पालाई ३–१ गोलले हराएको हो । जितका साथ थ्री स्टारको १४ अंक भएको छ । 

थ्री स्टारका लागि सुशील राई, सञ्जोग राई र विदेशी खेलाडी वासीयु ओलादिरानले गोल गरे । हिमालयनका लागि स्टेफेन समिरले सान्त्वना गोल गरे । खेलको छैटौँ मिनेटमा थ्री स्टारका सुशील राईले गोल गरेका हुन् । यस्तै ४४औँ मिनेटमा हिमालयन शेर्पाका स्टेफेन समीरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा पु¥याए । थ्री स्टारका सञ्जोक राईले खेलको ४५औँ मिनेटमा गोल गर्दै टिमलाई २–१ गोलको अग्रता दिलाए ।

दोस्रो हाफमा पनि थ्री स्टारले हिमालयन शेर्पालाई दबाबमा राख्यो । खेलको ५०औँ मिनेटमा वासीयु ओलादिरानले थ्री स्टारका लागि तेस्रो गोल गरे । त्यसपछिको समयमा भने उसले गोल गर्न सकेन । थ्री स्टार आठ खेलमा चार जित, दुईमा बराबरी तथा दुई खेलमा हारका साथ तेस्रो स्थानमा रहन सफल भएको छ ।

यस्तै हिमालयन शेर्पा आठ खेलमा एकमा जित, चारमा हार तथा तीन खेलमा बराबरी खेल्दै सात अंकका साथ लिगको ११औँ स्थानमा छ । खेलपछि थ्री स्टारका प्रशिक्षक मेघराज केसीले टोलीमा अझै सुधार गर्नुपर्ने धेरै कुरा रहेको बताए । 

‘खेलमा खासै रौनक थिएन । नीरसजस्तै भयो । तीन अंक आयो । तर, बढी गल्ति भयो । खेलको कमी कमजोर सुधार गर्नुपर्छ । प्रदर्शन उच्च छैन,’ प्रशिक्षक केसीले भने, ‘एकै किसिमको खेल खेल्न सकेका छैनौं । सुधार गर्नुपर्ने धेरै छ । आफ्नो प्रदर्शनमात्रै हैन अर्काको पनि हेर्नुपर्छ ।’

शेर्पाका प्रशिक्षक सञ्जीव बुढाथोकीले खेल सोचेकोजस्तो नभएको बताए । ‘जे सोचेको त्यो भएन । अनुशासित गेम भएन । खेलाडीले पाएको कर्तव्यमा खेलेनन्,’ उनले भने, ‘थ्री स्टारले पनि राम्रो खेलेन । पहिलो हाफ ठिकै भयो । दोस्रो हाफ झुर भयो ।’

एपीएफमाथि जवलाखेलको जित

रंगशालामा भएको अर्को खेलमा १० खेलाडीमा सीमित जावलाखेलले विभागीय टिम एपीएफ क्लबलाई १–० गोल अन्तरले हरायो । जावलाखेललाई जित दिलाउन विदेशी खेलाडी फोडे फोफानाले निर्णायक गोल गरे । फोफानाले खेलको ७१औं मिनेटमा गोल गरेका हुन् । खेलको ५७औं मिनेटमा जावलाखेल १० खेलाडीमा समेटिएको थियो । गोलकिपर टेकेन्द्र थापाले रातो कार्ड पाएपछि जावलाखेलले १० खेलाडीमा रहेर खेलेको थियो ।

एपीएफका आशिष लामासँग वान भर्सेस वानमा अवस्थामा डिबक्सको ठिकबाहिर हृयाण्ड गरेपछि रेफ्री कबिन व्यञ्जनकारले गोलरक्षक टेकेन्द्रलाई सिधै रातो कार्ड देखाएका थिए । तर, एपीएफले त्यसको फाइदा उठाउन सकेन । खेलमा जावलाखेलका फोडे म्यान अफ द म्याच चुनिए ।

एपीएफमाथिको जितसँगै जावलाखेल लिगको पाँचौँ स्थानमा उक्लिएको छ । जावलाखेलले ८ खेलमा १२ अंक जोडेको छ । पराजित एपीएफ ८ खेलमा ५ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

लिगमा ए डिभिजनका १४ क्लबको सहभागिता रहको छ । गतवर्ष रेलिगेसन सिष्टम नराखे पनि यसवर्ष भने पुछारको एक टोलीको बी डिभिजनमा घटुवा हुनेछ । लिग सञ्चालनको लागि कुल ६ करोड ३० लाख खर्च लाग्ने एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले बताए । सहभागी सबै क्लबलाई एन्फाले तयारीको लागि २०–२० लाख प्रदान गरिएको छ ।

लिगको विजेताले ५० लाख, दोस्रोले ३५ लाख, तेस्रोले २५ लाख, चौथोले १५ लाख, पाँचौले ७ लाख र छैटौँ स्थानमा रहने टोलीले ५ लाख प्राप्त नगद प्राप्त गर्ने छन् । म्याच मनिका रूपमा हरेक खेलको विजेता टोलीले ५० हजार प्राप्त छ । खेल बराबरीमा रोकिएमा १५–१५ हजार प्रदान गर्ने एन्फाले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट ५ स्ट्राइकर, मिडफिल्डर, डिफेन्स, गोलकिपर र प्रशिक्षकले १ लाख ५० हजार प्राप्त गर्ने छन् । प्रत्येक खेलको म्यान अफ दी म्याचलाई १० हजार र प्रतियोगिताको फेयर प्ले टिमले १ लाख पाउने छ ।


Views: 48