29th February | 2020 | Saturday | 6:46:06 AM

मनाङ मस्र्याङ्दी तेस्रो स्थानमा

हिमालय टाइम्स   POSTED ON : माघ २७, २०७६ (१०:५३ AM)

मनाङ मस्र्याङ्दी तेस्रो स्थानमा

काठमाडौं । नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लबले आइतबार न्यूरोड टिम (एनआरटी) लाई आइतबार ४–१ ले पराजित गरेको छ । जितसँगै २२ अंकसहित मनाङ मस्र्याङ्दी क्लब कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको अंक तालिकामा पुनः तेस्रो स्थानमा उक्लिएको छ ।

शीर्षस्थानको त्रिभुवन आर्मी क्लबको २६ र सानमिगेल मछिन्द्र क्लबको २५ अंक छ । चौथो स्थानमा झरेको रुस्लान थ्री स्टार क्लबको २० अंक छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आइतबार भएको खेलमा मनाङलाई जित दिलाउन अञ्जन विष्टले २ तथा विमल राना र दयानन्द सिंहले समान १–१ गोल गरे ।

खेलको ३५औं मिनेटमा गोल गर्दै विमलले मनाङलाई अग्रता दिलाएका थिए । कप्तान कमल श्रेष्ठको क्रस पासमा विमलले हेडमार्फत आकर्षक गोल गरेका थिए ।

४३औं मिनेटमा अञ्जनले पेनाल्टीमा गोल गर्दै मनाङको अग्रता दोब्बर पारे । पेनाल्टी बक्समा अञ्जनलाई एन्ड्री थिएरी बियकले फाउल गरेपछि मनाङले पेनाल्टीको मौका थियो भने उक्त मौकालाई अञ्जनले नै सदुपयोग गर्दै अग्रता दोब्बर पारेका हुन् ।

६५औं मिनेटमा लुइस भिडालको पासमा अञ्जनले अर्को गोल गरेपछि मनाङले ३–०को फराकिलो अन्तर बनायो । ८९औं मिनेटमा सकल रेग्मीले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए पनि इन्जुरी समयको अन्तिममा दयानन्द सिंहले गोल गर्दै मनाङलाई ४–१ को जित दिलाए ।

खेलमा मनाङले गोल गर्ने केही अवसरहरू गुमाएको थियो । १८औं मिनेटमा अञ्जन विष्टको क्रसमा विमलको हेडरलाई एनआरटीका गोलरक्षक अजित प्रजापतिले रोकेका थिए ।

यस्तै, २७औं मिनेटमा कमलको कर्नरमा विमलको हेडर क्रसबारबाट बाहिरिएको थियो । ३२औं मिनेटमा लुइस भिडालको पासमा अञ्जनले वान भर्सेस वानमा गोल गर्न चुके । ५१औं मिनेटमा लसइस भिडालको क्रसमा विमल रानाको हेडर क्रसबारमा लागेर फर्कियो । ५३औं मिनेटमा कमलको फ्रिकिकमा अन्जनले हेडमार्फत उत्कृष्ट गोल गरे पनि अफसाइड भएपछि मान्यता पाएन ।


Views: 43

सम्बन्धित सामग्री:

मनाङ उपाधि नजिक

हिमालय टाइम्स : फाल्गुन १५, २०७६ (१०:३३ AM)