29th February | 2020 | Saturday | 5:20:15 AM

मागेको पोसाकले सिकेको कराते, जसले स्वर्णपदक चुम्यो

रामबहादुर थापा (रासस)   POSTED ON : माघ २८, २०७६ (१०:४१ AM)

मागेको पोसाकले सिकेको कराते, जसले स्वर्णपदक चुम्यो

बागलुङ । साथीले दिएको पोसाक लगाएर कराते सिकेको बिर्सेका छैनन् नवीन रसाइलीले । उनी १२ वर्षअघिको स्मृतिमा फर्किए, ‘स्कुलका साथीहरू प्रशिक्षण लिन्थे, हामी हेर्न जान्थ्यौँ, अरूको देखेपछि खेल्ने रहर जाग्यो, साथीहरूले आफ्ना पुराना पोसाक दिए, त्यही लगाएर कराते सिक्न सुरु ग¥यौँ ।’

तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) को स्वर्ण पदक चुम्दा नवीनले तिनै संघर्षपूर्ण दिन सम्झे । काठमाडौंको बालाजु कराते–डो प्रतिष्ठान र गुरु धु्रवविक्रम मल्लको नाम मनमनै लिए । बागलुङ, तमानखोला गाउँपालिका २ बाट काठमाडौं झरेकै वर्षदेखि सुरु भएको थियो, उनको कराते यात्रा । रसाइली परिवारभित्र २४ वर्षीय नवीनले मात्र करातेलाई लक्ष्य बनाएका छैनन् । २६ वर्षीय दाइ राजकुमारले पनि आफ्ना ऊर्जाशील १२ वर्ष करातेलाई दिइसकेका छन् । ‘बुबाआमासहित काठमाडौँ गएदेखि नै कराते खेल्न सुरु ग¥यौँ,’ उनले भने, ‘दुई भाइले सँगै सिक्यौँ, अहिले खेल्दैछौँ ।’ तेह्रौं सागमा पनि दुवैले भाग लिए ।

नवीनले स्वर्ण र राजकुमारले कांस्य पदक चुमे । ‘सागमा स्वर्ण जित्नु नै मेरो अहिलेसम्मकै ठूलो उपलब्धि हो,’ नवीनले भने, ‘जुन मिहिनेत र समर्पणका साथ करातेमा लागेँ, त्यसको प्रतिफल पाएँजस्तो लाग्छ ।’ करातेमा लाग्दाका कठिन र चुनौतीपूर्ण दिनलाई नै रसाइली दाजुभाइले सफलताको जग मान्छन् ।

बागलुङको सुदूर गाउँबाट काठमाडौं छिर्दा उमेर सानै थियो । कुनै ठूलो सपना थिएन । खेलमा भविष्य देख्नु त झन् टाढैको कुरा । तत्कालको उद्देश्य पढ्नु नै थियो । विद्यालय भर्ना भए । खुरुखुरु पढाइमा जान थाले । सँगैका साथीहरू बालाजु कराते–डो प्रतिष्ठानमा कराते सिक्थे । उनीहरू खेल हेर्न जान्थे । त्यही प्रतिष्ठान हो जहाँ रसाइली दाजुभाइले साथीको पोसाक लगाएर कराते सिकेका थिए ।

करातेमा लागेपछि उनीहरू पछाडि फर्कनुपरेन । एकपछि अर्को सफलताले पछ्याइरहृयो । खेल प्रतिभाको कदर गर्दै बालाजुको ज्ञानमन्दिर माविले राजकुमारलाई कक्षा ९ र १० छात्रवृत्तिमा पढायो । गोल्डेन गेट कलेजले कक्षा ११ र १२ मा ५० प्रतिशत छुट दियो । नवीनले भने एसएलसी ब्राइट हेभन स्कुलबाट गरे ।

दुवै भाइले पढाइसँगै खेल जीवनलाई अघि बढाए । ‘अहिले पनि बिहान २ र बेलुकी २ घण्टा प्रशिक्षणमै हुन्छौँ,’ राजकुमारले भने, ‘करातेमा हामीलाई यहाँसम्म ल्याउने बालाजु कराते–डो प्रतिष्ठान र गुरु धु्रवविक्रम मल्ल हुनुहुन्छ, उहाँ नेपाली करातेको गडफादर नै हो ।’

एक दशकभन्दा बढीको खेल जीवनमा रसाइली दाजुभाइले धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । नेपालका लागि खेल्न दर्जनभन्दा बढी देश पुगेका छन् । पदकमा तुलनात्मकरूपमा नवीन अगाडि छन् । उनले सन् २०१४, २०१६ मा भारत र २०१७ मा श्रीलंकामा भएको साउथ एसियन च्याम्पियनसिपमा लगातार स्वर्ण जितेर हृयाट्रिक गरेका थिए । राजकुमारले गत वर्ष बंगलादेशमा भएको सोही खेलमा रजत पदक हात पारेका थिए । उनले सन् २०१८ मा भएको कोरिया ओपन कराते च्याम्पियनशिपमा स्वर्ण जितेका थिए ।

सन् २०१० देखि नै व्यावसायिकरूपमा कराते खेल्न थालेको राजकुमारको भनाइ छ । ‘सन् २०१३ मा राष्ट्रिय खेलकुदमा भाग लिएँ, खेल्नकै लागि भारत, मलेसिया, कोरिया, जापान, थाइल्याण्डलगायत देश पुगेको छु,’ राजकुमारले भने । 

उनले सातौंमा कांस्य र यही वर्ष भएको आठौं राष्ट्रिय खेलकुदमा रजत पदक जितेका थिए । नवीनले भने आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि स्वर्ण पदक हात पारेका थिए । नवीन यही वर्ष जापानमा हुने ओलम्पिकमा समेत नेपालका तर्फबाट भाग लिन प्रयासरत छन् । ओलम्पिक छनोटका वल्र्ड सिरिज, प्रिमियर लिग, एसियाली खेलकुद र एसियन कराते च्याम्पियनसिप खेल्नुपर्ने मापदण्ड छ । 

‘ओलम्पिकको लक्ष्य लिएर केही सिरिज र लिग खेल्दैछु, विश्वभरका एक सय खेलाडीको ¥याङ्किङमा मेरो नाम ९९ मा छ, मापदण्ड पूरा गरेर अन्तिम ३२ मा परेँ भने ओलम्पिक खेल्न पाउँछु,’ नवीनले भने ।

आउँदो ओलम्पिकमा पहिलोपटक कराते समावेश हुँदैछ । ओलम्पिक खेल्न पाउनु नै नवीनका लागि जीवनकै ठूलो सफलता हुनेछ । ‘खेलले इज्जत दिएको छ, देशको गौरवका लागि खेल्न पाएका छौँ,’ रसाइली दाजुभाइ भन्छन्, ‘राज्यले पनि खेल क्षेत्र र खेलाडीलाई हेरोस् ।’ 

राजकुमारले अहिलेसम्म परिवारको सहयोगमा खेलमा लागे पनि अब परिवारलाई सहयोग गर्नेबेला आएको बताए । ‘हामीमा पनि परिवारको जिम्मेवारी थपिँदैछ, खेलाडीलाई आर्थिक सहायता, रोजगारीजस्ता कार्यक्रम सरकारले ल्याउनुपर्छ,’ उनले भने । अझै दश वर्ष सक्रियरूपमा करातेमा बिताउने योजना रसाइली दाजुभाइको छ ।

तेह्रौँ सागमा पदक जितेपछि गृहजिल्लावासीले उनीहरूलाई सम्झे । जिल्ला र देशकै गौरव बढाएकोमा खुसी साटासाट गरे । बागलुङ नगरपालिका, नेपाल कराते संघ बागलुङ, मालिका सेवा समाज बागलुङलगायत थुप्रै संघसंस्थाले नगदसहित सम्मानित गरे । एकाघरका दाजुभाइले खेलमा देखाएको समर्पण र पाएको सफलता खेलाडी एवं खेलप्रेमीमाझ प्रेरणा बनेका छन् ।


Views: 41

सम्बन्धित सामग्री:

मनाङ उपाधि नजिक

हिमालय टाइम्स : फाल्गुन १५, २०७६ (१०:३३ AM)