10th April | 2020 | Friday | 5:35:50 PM

सेन्ट्रल जोन भलिबल ६ महिना स-यो

हिमालय टाइम्स   POSTED ON : फाल्गुन ५, २०७६ (११:०० AM)

सेन्ट्रल जोन भलिबल ६ महिना स-यो

काठमाडौं । बंगलादेशमा आयोजना हुने एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिप ६ महिनापछि सरेको छ । चीनबाट सुरु भएको कोरोना भाइरस विश्वव्यापी रूपमा फैलँदै गएपछि आयोजक बंगलादेश भलिबल फेडेरसनले चैतमा तय भएको प्रतियोगिता ६ महिना सारेको हो ।

बंगलादेशले कोरोना भाइरस मुख्य कारण देखाएर सहभागी राष्ट्रलाई पत्राचार गर्दै प्रतियोगिताको मिति सरेको जनाएको छ । नेपाल भलिबल संघले प्रतियोगिताको मिति सरेको पत्र बंगलादेशबाट प्राप्त भएको संघले जनाएको छ ।

६ महिना सरेको प्रतियोगिता भदौ २० देखि २७ गतेसम्म हुनेछ । यसअघि प्रतियोगिता चैत ९ देखि १५ गतेसम्म हुने भनिएको थियो । च्याम्पियनसिपका लागि नेपालले १८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिसकेको थियो । संघले १३ औं दक्षिण एसियाली खेलकुदको टिममा रहेका १३ खेलाडी र पाँच खेलाडी बाहिरको राख्दै प्रारम्भिक टोलीको घोषणा गरेको थियो ।

प्रतियोगिताको समय सरेपछि राष्ट्रिय भलिबल टोलीको बन्द प्रशिक्षण रोकिने भएको छ । संघका महासचिव जितेन्द्र चन्दका अनुसार सोमबारबाट बन्द प्रशिक्षण रोकिनेछ । छनोटमा परेका सबै १८ खेलाडी तीन विभागका हुने । ‘सोमबारबाट प्रशिक्षण स्थगित हुनेछ । अब च्याम्पियनसिपको दुई महिना अगाडि पुनः हामीले खेलाडीलाई प्रशिक्षणमा बोलाउनेछौं’, उनले भने ।

नेपालले यहि सेन्ट्रल जोनकै तेस्रो संस्करणमा काँस्य पदक जितेको थियो । नेपालको पुरुष टोलीले भलिबलमा जितेको त्यो अहिले सम्मकै एकमात्र अन्तर्राष्ट्रिय प्रतियोगिता हो । सेन्ट्रल जोनको पाँचौं संस्करण नेपालले यसै वर्ष काठमाडौंमा आयोजना गरेको थियो ।

नेपालले घोषणा गरेको प्रारम्भिक टिममा इम राना (कप्तान), राजेन्द्र विष्ट, धनबहादुर भट्ट क्षेत्री, हरिहजुर थापा, टेकराज अवस्थी, हरि अधिकारी, दुर्गा खड्का, द्वारिका थापा, ईश्वर थापामगर, विनोद चन्द, विशाल विक, शरणसम्री क्षेत्री, कुलबहादुर थापा, राजु शेरचन, दुर्गा महतो, दीपकराज जोशी र नरेन्द्र गिरी छन् ।


Views: 42