8th April | 2020 | Wednesday | 10:21:14 AM

सम्पूर्ण खेल गतिविधि बन्द गर्ने निर्णय

हिमालय टाइम्स   POSTED ON : चैत्र ५, २०७६ (११:०० AM)

सम्पूर्ण खेल गतिविधि बन्द गर्ने निर्णय

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को जोखिमका कारण राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एकहप्ता सम्पूर्ण खेल गतिविधि बन्द गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालको अध्यक्षतामा बसेको बैठकले तत्काललाई एक हप्ताका लागि सम्पूर्ण खेल गतिविधि बन्द गर्ने र त्यसपश्चात् परिस्थिति हेरेर निर्णय गरिने निर्णय गरेको हो । यसका साथै खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी, कर्मचारीहरू, खेलसँग सम्बन्धित व्यक्तिहरू र आम जनमानसलाई सचेतना अपनाउन परिषद्ले आहृवान गरेको छ ।

विश्वका अधिकांश राष्ट्रमा फैलन गई भयावह अवस्था सृर्जना भएको र विश्वका ठूला राज्यले पनि यसका लागि विभिन्न सचेतना अपनाईरहेको अवस्थालाई नियाल्दै राष्ट्रिय खेलकुद परिषद्ले पनि उक्त जोखिमबाट बच्न सचेतना अपनाउनु अत्यावश्यक भएको हुँदा खेलकुदसग सम्बन्धित कुनै पनि प्रतियोगिता, प्रशिक्षण, सभा, सम्मेलन, गोष्ठी, सेमिनारलगायत मानविय भेला हुने सम्पूर्ण गतिविधि तत्काललाई एक हप्ताका लागि बन्द गरिएको राखेपले जनाएको छ ।

यसअघि युवा तथा खेलकुद मन्त्रालयले गत फागुन २२ गते सबै खेलकुद गतिविधि रोक्ने निर्णय गरेको थियो । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले पनि विश्वभर फैलिँदै गएको कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न खेलकूद गतिविधिलगायतको सम्पूर्ण कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको थियो ।

त्यसलगत्तै कोरोनाको जोखिमका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण, उपमेयर कप महिला लिग फुटबललगायतको खेलकुद गतिविधि रोकेको छ । फिफालेसमेत नेपालमा चैत १३ र १८ गते हुने विश्वकप तथा एशियन कप छनोटअन्तर्गत चाइनिज ताइपेई र अष्ट्रेलियासँगको खेलका स्थगित गरेको छ । कोरोना भाइरसकै कारण कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चैत १ देखि १५ गतेसम्म तय भएको एभरेष्ट प्रिमियर लिग (इपीएल) रोकिसकेको छ ।

बी डिभिजन लिग स्थगित

यसैबीच राखेपले एक हप्ता सम्पूर्ण खेलकुद गतिविधि बन्द गर्न निर्देशन दिएपछि एन्फाले जारी बी लिग स्थगित गरेको छ । एन्फाले मंगलबार प्रेस विज्ञप्ति निकाल्दै बी लिग आगामी चैत १२ गतेसम्मको लागि स्थगित गरेको जनाएको छ ।

बी लिगमा अहिले छैटौं चरणको खेलहरू सञ्चालन भइरहेको छ । यस्तै एन्फाले सातदोबाटोमा रहेको एन्फा सचिवालय, धरान र बुटवलमा रहेको एन्फा एकेडेमी पनि बन्द गरिएको जनाएको छ ।


Views: 43