7th July | 2020 | Tuesday | 6:35:04 AM

नेपाल र इंग्ल्याण्ड सी बीचको खेल स्थगित

हिमालय टाइम्स   POSTED ON : चैत्र ६, २०७६ (१०:१८ AM)

नेपाल र इंग्ल्याण्ड सी बीचको खेल स्थगित

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली र इंग्ल्याण्डको ‘सी’ टोलीबीच तय भएको मैत्रीपूर्ण फुटबल खेल स्थगित भएको छ । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण इंग्ल्याण्डमा हुने तय भएको पहिलो मैत्रीपूर्ण खेल स्थगन भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । एन्फाले एक विज्ञप्ति जारी गर्दै अर्को मिति तय नभएसम्म उक्त खेल स्थगन भएको जनाएको हो । मैत्रीपूर्ण खेल आगामी जेठ १२ गते तय भएको थियो । 

गत माघमा एन्फा र इंग्ल्याण्डको फुटबल एसोसिएसन (एफए)सँग दुई मैत्रीपूर्ण खेल खेलाउने सम्झौता भएको थियो । दोस्रो मैत्रीपूर्ण खेल भने सन् २०२१ मा नेपालमै हुने बताइएको छ ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा इंग्ल्याण्डको भ्रमणमा गएका बेला एफएले नेपाली फुटबलको विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । एफए पदाधिकारीसँगको भेटपछि नेपाली टोली पहिलोपटक इंग्ल्याण्डको सी टिमविरुद्ध खेल्ने तालिका बनेको थियो ।

कोरोनाको त्रासका कारण इंग्ल्याण्डले पनि आफ्ना सम्पूर्ण खेलकुद गतिविधि रोकिसकेको छ । इंग्ल्याण्डको प्रशिद्ध प्रिमियर लिग फुटबलमा कोरोनाको सबैभन्दा ठूलो प्रभाव परेको छ । विश्वभरका दर्शकहरूले रुचाउने प्रिमियर लिगमा यसपटक लिभरपुल शीर्ष स्थानमा छ । लिभरपुलले लिग जित्ने निश्चित भएपनि कोरोनाको कहरले यसको टुंग्गो भने लाग्न पाएको छैन् ।

यसैबीच इंग्ल्याण्डले बुधबारमात्रै दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल स्थगित गरेको छ । विश्वभर फैलिएको कोरोना भाईरसको संक्रमणलाई मध्यनजर गर्दै इंग्ल्याण्डले अष्ट्रिया र रोमानियासँगको मैत्रीपूर्ण खेल स्थगित गरेको हो । इंग्ल्याण्डले युरोकप अघि आगामी जुनमा अष्ट्रिया र रोमानियासँग खेल्ने तालिका रहेको थियो । इंग्ल्याण्ड र अष्ट्रियाबीच जुन २ र रोमानियासँग जुन ७ मा खेल्ने तालिका रहेको थियो ।

नेपालले पनि यसअघि नै आफ्ना सम्पूर्ण खेलकुद गतिविधि रोकिसकेको छ । युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषद्ले पत्रचार नै जारी गर्दै सबै खेलकुद गतिविधि रोक्ने निर्णय गरेको हो । एन्फाले विश्वकप छनोेट अन्तर्गतका खेलहरू रोकिएपछि नेपाली टोलीको प्रशिक्षणसमेत रोकेको छ ।

यस्तै मंगलबारमात्रै एन्फाले ‘बी’ डिभिजन लिग समेत रोकेको छ भने मोफसलका फुटबल गतिविधि पनि ठप्प छन् । नेपालमा हालसम्म एकजनामात्रै कोरोना संक्रमित देखिएपनि उनलाई ठीक भइसकेको छ । यद्यपि सरकारले बुधबारमात्रै अत्याश्यक कामबाहेक बाहिर ननिस्कन सबैलाई अपिएल गरेको छ ।


Views: 138