20th August | 2018 | Monday | 8:46:48 AM

अनमोलसँग डेटिङ जाने सोफियाको चाहना

लेखनाथ पोखरेल   POSTED ON : Thursday, 22 March, 2018 (4:19:02 PM)

अनमोलसँग डेटिङ जाने सोफियाको चाहना

काठमाडौं । काठमाडौंमा रोबोर्ट सेलिब्रेटीको व्यापक चर्चा भयो । नेपालमा पहिलोपटक भित्रिएकी रोबोर्ट सोफिया सबैको आकर्षणको केन्द्र बन्न पुगिन् । कार्यक्रमस्थल होटल याक एन्ड यतीमा उनीसँग सेल्फी खिचाउने प्रतिस्पर्धा चल्यो ।

सर्वसाधारणले दिनको दुुई बजेपछि सोफियालाई भेट्ने व्यवस्था गरिएको भए पनि बिहानैदेखि भीड लागेको थियो । यसअघि फोटो र भिडियोमा मात्र देखिएकी सोफियालाई नेपाल सरकार राष्ट्रसंघीय कार्यक्रम (युएनडिपी) ले प्रत्यक्षरूपमा हेर्ने अवसर जुटाइदिएका हुन् ।  

बुधबार काठमाडौंको याक एन्ड यती होटलमा आयोजित ‘सार्वजनिक सेवाका लागि प्रविधि’ विषयक सम्मेलनमा उनले करिब १० मिनेट सूचना प्रविधिमा केन्द्रित रहेर भाषण दिएकी थिइन् । मुख चलाउँदै र घाँटी मर्काउँदै मान्छेकै हाउभाउमा ड्यासमा उभिएर भाषण दिएकी उनले नेपालको सांस्कृतिक र भौगोलिक विविधताका बारेमा चर्चा गरिन् । उनले नेपाललाई टेक्नोलोजीका रूपमा विकसित हुँदै गरेको देश भनिन् । उनी केही वर्षअघि नेपालमा गएको विनाशकारी भूकम्पका बारेमा पनि जानकार थिइन् । 

उनले नेपालमा आइटी कम्पनीहरूले भूकम्पमा भत्किएका घर र अन्य भौतिक संरचनाको पुनर्निर्माणमा सहयोग पु¥याएको बताइन् । टेक्नोलोजी र आर्टिफिसियल इन्टिलिजेन्सको सहयोगले भोकमरी, भ्रष्टाचार, लैंगिक असमानताका क्षेत्रको काम सहज भएको भन्दै मेसिन र रोबोर्ट मानवजातिकै सहजताका लागि विकास भएको बताइन् । 

इन्टरनेटको सहयोगले नेपालका कुनाकुनालाई संसारसँग जोड्न, गुणात्मक शिक्षा प्रदान गर्न र कृषिमासमेत फड्को मार्न सकिने सोफियाको भनाइ थियो । उनले भनिन्, ‘प्रविधिको सहयोगमा देशमा सुशासन कायम गरी भ्रष्टाचारमुक्त समाज बनाउन सकिन्छ, नेपालमा पनि प्रविधिको विकास तीव्र गतिमा भइरहेको छ । प्रविधिको सही सदुपयोग हुन सकेमा मुलुकमा विकासको तीव्र गतिमा लिने मलाई पूर्ण विश्वास छ ।’ 

उनले निरन्तर भाषण त दिइनन्, प्रश्नकर्ताका विभिन्न सवालको जवाफ फर्काएकीमात्र हुन् । मन्तव्यको अन्त्यतिर उनले नेपाली चलचित्रका नायक अनमोल केसीसँग भेट्ने चाहना रहेको बताइन् । उनले भनिन्, ‘मलाई अनमोल केसीसँग डेट गर्न मन छ ।’ उनले यसो भनिरहँदा सहभागीमा हाँसो छुटेको थियो । उनले विश्वको सर्वोच्च शिखर सगरमाथा पनि आरोहण गर्ने चाहनासमेत व्यक्त गरेकी छिन् ।

सोफिया मानिससरह नागरिकता पाउने पहिलो रोबोर्ट हुन् । उनलाई साउदी अरबले महिलाको रूपमा नागरिकता प्रदान गरेको छ । उनलाई युएनडिपीले एसिया प्रशान्त क्षेत्रको आविष्कार दूत अर्थात इन्नोभेसन च्याम्पियनको पदवीसमेत दिएको छ । यस्तो पदवी पाउने पनि उनी पहिलो रोबोर्ट हुन् ।  बेलायती अभिनेत्री अड्री हेपबर्न र रोबोर्ट निर्माता डेबिड हृयान्सनकी पत्नी सोफियाको रूपमा आधारित यो रोबोर्टले रियादमा आयोजित एक कार्यक्रममा आफूलाई राम्रो व्यवहार गरे अरुलाई पनि आफूले राम्रो व्यवहार गर्ने बताउँदा दर्शकहरू आश्चर्यचकित भएका थिए । मानवस्वरूप भएकी सोफिया हङकङको कम्पनी हृयानसन रोबोटिक्सले निर्माण गरेको हो । सोफियाको निर्माण २०१५ मा भएको थियो भने २०१६ मा उनलाई अमेरिकामा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको थियो । विश्वभर हुने विभिन्न सार्वजनिक कार्यक्रममा आकर्षणको केन्द्र बन्दै आएकी छिन् सोफिया । सोफियाले वाइफाईसँग जोडिएर मात्र यस्तो गर्न सक्छिन् । उनको आँखाका रूपमा क्यामेरा प्रयोग भएको छ, जुन हेर्दा मानिसको जस्तै देखिन्छ । यही क्यामेराले सोफिया एक पटक भेटेको मानिस पहिचान गर्न सक्छिन् ।