21st August | 2018 | Tuesday | 3:27:04 PM

प्राविधिक शिक्षामा छात्रबृत्ति आह्वान – क्यान र एल बी ई एफद्धारा सम्झौता पत्रमा हस्ताक्षर

हिमालय टाइम्स   POSTED ON : Monday, 04 June, 2018 (6:20:31 PM)

प्राविधिक शिक्षामा छात्रबृत्ति आह्वान – क्यान र एल बी ई एफद्धारा सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौं । क्यान र एल बी ई एफ क्याम्पसले देशका सातै प्रदेशबाट प्राविधिक शिक्षामा छात्रबृत्तिका लागि आवेदन खुल्ला गरेका छन् ।

कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान) र प्राविधिक शिक्षा तर्फका विद्यार्थीलाई नेपालको पहिलो आई टी कलेज लर्ड बुद्ध एजुकेसन फाउण्डेसनको सहकार्यमा छात्रबृत्ति प्रदान गरिने भएको हो । 

आज मध्य बानेश्वरको एक होटलमा आयोजित पत्रकार सम्मेलनमा क्यान महासंघका तर्फबाट अध्यक्ष हेमन्त चौरसिया र लर्ड बुद्ध एजुकेशन फाउण्डेसनका तर्फबाट फाउण्डेसनका अध्यक्ष पंकज जलान दुवैले छात्रबृत्ति समझदारी पत्रमा हस्ताक्षर गरे ।

उक्त भेलामा विगत २० बर्ष देखि आई टी लगायतको विषय अध्यापन गराउँदै आएको काठमाडौंको मैतीदेविमा अवस्थित लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले क्यानसंगको सहकार्यमा यस बर्ष ४९ जना विद्यार्थीहरुलाई छात्रबृति प्रदान गर्न लागेको जानकारी गराइएको थियो ।

लर्ड बुद्ध एजुकेसन फाउण्डेसनका अध्यक्ष जलानले देश विकासका लागि आई टी एजुकेसनको ठूलो महत्व रहने दर्शाउँदै भावी दिनमा देशका दुर्गम गाउँबाट आई टीमा सयौं विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्न सकियोस् भन्ने विचार ब्यक्त गरे ।

उनले भने,  ‘हाम्रो उद्धेश्य मोसफलका जेहेन्दार विद्यार्थीलाई प्रविधि शिक्षामा सक्षम बनाउँदै देशका कुना काप्चामा आई टीको महत्व पुर्याउनु हो ।’ जसका लागि हामीले छात्रबृत्तिको  शुरुवात गरेको मात्र हो यसको फलोअर्समा अन्य कलेज पनि आउन सके गरिव तथा जेहेन्दार विद्यार्थीले अवसर पाउन सक्ने छन् ।’ उनले भने ।

‘नेसनल आईसीटी स्कलरसिप– २०७५’ नाम दिइएको यस छात्रबृत्ति अन्तर्गत देशको सातै प्रदेशका विद्यार्थीहरुले समान अवसर पाउने छन् । जसअनुसार प्रत्येक प्रदेशबाट १ जना छात्रालाई पूर्ण छात्रबृति र बाँकी ४२ जनालाई आंशिक छात्रबृति प्रदान गरिने बताइएको थियो ।

यस अन्तर्गत फिमेल मेरिट आईसीटी स्कलरसिप प्रत्येक प्रदेशबाट चार जनाका दरले २८ जना छात्रालाई प्रदान गरिनेछ भने आईसीटी मेरिट स्कलरसीप प्रत्येक प्रदेशबाट तीनजनाका दरले २१ जनालाई प्रदान गरिनेछ । 

सम्झौताअनुसार ४९ जना विद्यार्थीले एक करोड ८३ लाख ३६ हजार पाँच सय रुपैयाँ बराबरको छात्रबृत्ति पाउने क्यान अध्यक्ष चौरसियाले बताउँदै भने,  ‘छात्रबृति प्राप्त विद्यार्थीहरुले मलेसियाको एसिया प्यासेफिक यूनिभर्सिटी अफ टेक्नोलाजी एण्ड इनोभेसनको एफिलेसनमा सञ्चालित लर्ड बुद्ध एजुकेशन फाउण्डेसनमा स्नातक तह अन्र्तगत बि एस सी आईटी को अध्ययन गर्न पाउने छन् ।’

जसमा आवेदन दिन मान्यताप्राप्त शिक्षण संस्थाबाट ५० प्रतिशत अंकसहित प्लस टु अर्थात् सो सरह अध्ययन गरेका र कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत अंक ल्याई सीटीईभीटीबाट कम्प्युटर इन्जिनियरिङमा डिप्लोमा गरेकाहरुले छात्रबृत्तिका लागि आवेदन दिन सक्ने बताइएको थियो । छात्रबृतिका लागि कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरुले पनि आवेदन दिन सक्ने जानकारी दिइएको थियो ।

छात्रवृत्ति प्रदान गर्नका लागि क्यान महासंघले जिल्ला, प्रदेश र केन्द्रीय स्तरको छात्रबृति छनौट समिति गठन गर्ने समेत जानकारी दिइयो । छात्रबृत्तिका लागि इच्छुक विद्यार्थीले क्यान महासंघको वेबसाइट www.can.org.np र लर्डबुद्ध एजुकेसन फाउन्डेसनको वेबसाइट  www.lbef.org बाट आवेदन दिन सक्ने छन् ।