21st November | 2018 | Wednesday | 9:11:32 AM

प्रविधि र उपभोक्ता अधिकार छलफल

पार्वती थापामगर   POSTED ON : Sunday, 02 September, 2018 (7:07:49 PM)

प्रविधि र उपभोक्ता अधिकार छलफल

काठमाडौं । नयाँ प्रविधिको विकाससँगै प्रयोगकर्ताहरू पनि बढ्दै गएका छन् । जथाभाबी ‘एप डाउनलोड’ गर्नाले गोप्य कुरा बाहिर आइरहेकाले यसबारे युवाहरू सचेत हुन जरुरी रहेको जानकार सुझाउँछन् । 

अहिले कतिपय ‘एप’ हरू ‘डाउनलोड’ गर्ने वित्तिकै गोप्य कुरा बाहिर आइहाल्ने भएकाले पनि जुनसुकै ‘एप’ नबुझी ‘डाउनलोड’ गरिहाल्न नहुने पूर्वमन्त्री गणेश शाहको भनाइ छ । शनिबार राजधानीमा सेवा नेपालद्वारा आयोजित ‘स्पेसल टक प्रोग्राम अन युथ इम्पावरमेन्ट’ कार्यक्रममा पूर्वमन्त्री शाहले उक्त कुरा बताएका हुन् । 

पछिल्लो समय युवाहरू प्रविधिविना बाँच्नै नसक्ने भइरहेकाले पनि यस विषयमा जनचेतना कार्यक्रम पनि ल्याउनुपर्नेमा शाहको भनाइ थियो । पूर्वमन्त्री शाहले नयाँ प्रविधिको दुरुपयोगले अपराध पनि बढ्न थालेको बताए । ‘यसलाई सदुपयोग गर्न जानेमा जीवन स्वर्गझै राम्रो भएको उदाहरण पनि पाएको छु,’ उनले भने, ‘विशेष गरेर कलेज तथा विद्यालयका विद्यार्थीहरू नयाँ प्रविधिमा बढी आकर्षित भएकाले जनचेतना पनि यस्तै क्षेत्रमा जगाउनुपर्छ ।’ 

‘डिजिटल’को प्रयोगमा एकोहोरिएर लाग्ने युवाहरूले सचेतना पनि अपनाएर लाग्नु जरुरी रहेको नेपाल दूर सञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक पुरुषोत्तम खनालले बताए । उनले जथाभाबी प्रविधिको प्रयोग नियन्त्रण गर्न पाठ्यक्रममै उचित व्यवस्था गर्नुपर्ने उनले बताए । ‘पाठ्यक्रममै व्यवस्था गरियो भने युवाहरूले पढ्नै पर्ने विषयको रूपमा रहने भएकाले पनि जथाभाबी प्रविधि प्रयोगबारे युवाहरूले जान्ने मौका पाउनेछ । चेतना जगाउने मुख्य उपाय भनेकै पाठ्यक्रम भएकोले एउटा विषय बनाएर राख्नैपर्छ,’ निर्देशक खनालले भने ‘अनिमात्रै जुनसुकै एप डाउनलोड गर्नुभन्दा पहिला सचेत हुन्छन् । नबुझी डाउनलोड गर्दा थाहै नपाई ‘प्राइभेसी पब्लिक’ भइदिने खतरा हुन्छ ।’

जैविक प्रविधि तथा जैविक विविधता अनुसन्धान संस्थाका निर्देशक डा. निरञ्जन कोइरालाले नयाँ प्रविधि होसियारीपूर्वक प्रयोग गर्न सकिए गरिबी निवारणमा पनि सहयोग पुग्ने बताए । उनले ‘साइन्स् एन्ड टेक्नोलोजी’ सही तरिकामा प्रयोग गर्न सकिए विकास सजिलो हुने बताए । पछिल्लो समय कतिपय युवाहरूले जानअन्जानमा प्रविधिको गलत प्रयोग गर्दा विनाश हुने गरेको उनले बताए । उनका अनुसार कतिपय अवस्थामा वातावरण, स्वास्थ्य, पशुपक्षीमा ‘साइन्स् एन्ड टेक्नोलोजी’ ले नकारात्मक प्रभाव पारेको छ । 

उपभोक्ता अधिकार र मानव अधिकारको विषयमा पनि केही अधिकारकर्मीहरूले मन्तव्य राखेका थिए । काठमाडौं युनिभर्सिटीका ‘आइटी’ प्रमुख प्राडा मनीष पोखरेलले अधिकारभन्दा बढी उत्तरदायित्व जरुरी रहेको बताए । उपभोक्ता अधिकारको विषयमा समेत युवाहरू अन्जान भएको बताउँदै यस विषयमा पनि देशव्यापी जनचेतनामूलक कार्यक्रम ल्याउनुपर्नेमा प्राडा पोखरेलले जोड दिए । युवाहरू शक्तिशाली भए पनि चेतना नहुँदा नकारात्मक बाटोतिर हिँड्ने भएकाले उनीहरूलाई सकारात्मक बाटो देखाउन जरुरी रहेको उनले बताए । देश विकासमा पनि युवा नै लाग्ने भएकाले बजारको गतिविधिको विषयमा जान्ने अधिकार पाउनुपर्ने डा पोखरेलको भनाइ थियो । युवाहरूले प्रविधि चेतनशील तरिकाले प्रयोग गर्नसके जस्तोसुकै काम पनि सजिलै गर्न सक्ने उनले बताए । 

राष्ट्रिय मानवअधिकार आयोगका निर्देशक यज्ञप्रसाद अधिकारीले नेपाल कानुनीरूपमा बलियो भए पनि कानुन लागु गर्न नसक्दा संस्थागत विकासमा कमजोर रहेको बताए । उनले संविधानमा व्यवस्था भएका धेरै कुरा कार्यान्वयन हुन नसकेकै कारण संविधानका धाराहरू पनि पानी नआउने धारा जस्तै भएको बताए । कानुनी व्यवस्थाले सबैलाई अधिकारयुक्त बनाएको भएपनि उपभोक्ता अधिकार कमजोर रहेको उनको भनाइ थियो । ‘हरेक दिन उपभोक्ताहरू कुनै न कुनै तरिकाबाट ठगिएका छन्,’ उनले भने ।

सेवा नेपालकी अध्यक्ष कल्याणी शाहले देश विकासको काम गर्ने व्यक्ति युवाहरू नै भएकाले उनीहरूले कानुनमा व्यवस्था भएअनुसार अधिकार पाउनुपर्ने बताइन् । उनले नागरिकलाई चेतनशील बताउन चेतनामूलक कार्यक्रमहरू आयोजना गर्नुपर्नेमा जोड दिइन् ।

अध्यक्ष शाहले नागरिकले समय अवधि सकिएको औषधिसमेत चेतनाकै अभावमा सेवन गरेर थप बिरामी परिरहेको बताइन् । उनका अनुसार समय अवधि सकिएको औषधि बिक्रेतालाई कारबाहीको दायरामा ल्याउने संविधानमा व्यवस्था भएको कुरा पनि युवा तथा उपभोक्तामा चेतना जगाउनु जरुरी छ । 


Views: 21