21st November | 2018 | Wednesday | 10:25:15 AM

ऊर्जा आयात न्यूनीकरणमा मलमूत्रीय फोहर

  POSTED ON : Thursday, 06 September, 2018 (6:41:29 PM)

ऊर्जा आयात न्यूनीकरणमा मलमूत्रीय फोहर


काठमाडौँ । मानव मलमूत्रीय फोहरलाई व्यवस्थितरुपमा सङ्कलन गरी व्यावसायिकरुपमा प्रयोग गर्नसके ऊर्जा आयात न्यूनीकरणमा सघाउ पुग्ने बताइएको छ । 

सोसाइटी अफ पब्लिक हेल्थ इञ्जिनियर्स नेपाल (सोफेन)द्वारा आज यहाँ आयोजित मानव मलमूत्रीय फोहर व्यवस्थापनसम्बन्धी अन्तरक्रियामा सहभागी वक्ताले यस्तो फोहरलाई प्रशोधन गरी कृषि मल, ऊर्जाजस्ता बहुआयामिकरुपमा प्रयोग गरेर स्थानीयवासीलाई लाभान्वित गर्न सकिने सुझाव दिएका छन् । 

कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले अव्यवस्थित बसोबास र बढ्दो शहरीकरणका कारण समाजमा वातावरणीय पक्षको संरक्षण गर्न चुनौती थपिएको बताउँदै मलमूत्रीय फोहरलाई समुचितरुपमा व्यवस्थापन गर्न सकेमा नदी तथा वातावरण संरक्षणमा योगदान पुग्ने बताए । उनले यस किसिमको परियोजनालाई सफल बनाउन आवश्यक नीति, निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै स्थानीय तहका सरकारले विज्ञ तथा सरोकारवाला पक्षसँग समन्वय गर्नुपर्नेमा जोड दिए । 

पूर्वमन्त्री गणेश साहले पानीका विभिन्न स्रोत तथा नदीमा भएको प्रदूषणको भारलाई न्यूनीकरण गर्न यस प्रविधि उपयुक्त हुने विश्वास व्यक्त गरे ।

खानेपानी विभागका महानिर्देशक तेजराज भट्टले अप्रशोधित मानव मलमूत्रीय फोहरले सतह र जमीनमुनिका पानीका स्रोतमा प्रदूषण तथा जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने हुँदा ढल व्यवस्थापन र सरसफाइबारे स्थानीयवासीलाई बुझाउन खाँचो रहेको बताए ।

तेस्रो साना शहरी खानेपानी तथा सरसफाइ क्षेत्रगत आयोजनाका विज्ञ हरिप्रसाद शर्माले ठूला शहरमा सरकारले योजनाबद्धरुपमा ढल व्यवस्थापन गरी सङ्कलन भएको फोहरलाई व्यवस्थापन गर्न सक्ने भए पनि ग्रामीण भेगमा प्रशोधनसहित ढलको व्यवस्थापन गर्न समस्या रहेको बताए ।

विज्ञ डा विन्दुनाथ लोहनी, धुलिखेल नगरपालिका प्रमुख अशोक बेञ्जु, सोफेनका उपाध्यक्ष सञ्जीवविक्रम राणा तथा कार्यक्रमका संयोजक रामदीप साहलगायतले पछिल्लो समय विकास भएका नयाँ प्रविधिको प्रयोग गरी फोहरलाई व्यवस्थित गर्न सकेमा मल तथा ग्यासको आयात न्यूनीकरण गर्न सकिने विचार व्यक्त गरे । रासस

–––


Views: 20