18th August | 2019 | Sunday | 3:36:59 AM

प्रदेशमा आइटी पार्क निर्माण गर्ने–मुख्यमन्त्री राई

  POSTED ON : बैशाख २७, २०७६ (१:२८ PM)

प्रदेशमा आइटी पार्क निर्माण गर्ने–मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई सूचना प्रविधिको क्षेत्रमा उत्कृष्ट बनाउनका लागि आइटी पार्क निर्माण गर्ने बताएका छन् ।

आइसिटी मिडियाद्वारा आज यहाँ आयोजित स्टार्टअप एण्ड इनोभिएशन  दुई दिने मेलाको उद्घाटन गर्दै उनले सूचनाको प्रविधिको प्रयोग गरी प्रदेशमा सुशासन कायम गर्नुका साथै स्वास्थ्य, शिक्षा, पर्यटन र रोजगारी क्षेत्रमा ठूलो अवसर सिर्जना गर्ने जानकारी दिए  ।

मुख्यमन्त्री राईले प्रदेश सरकारले आयोजना गर्ने बहुराष्ट्रिय सूचना प्रविधि सम्मेलनका लागि निजी क्षेत्रलाई सहयोग गर्न आग्रह गर्दै यसको माध्यमबाट प्रदेशको समूचित विकासमा सहयोग पुगी समृद्ध कायम हुने विश्वास व्यक्त गरे ।

उनले प्रदेशको आवधिक योजना तयार गर्ने कार्य अन्तिम चरणमा पुगको र नीति तथा बजेटमा सूचना प्रविधिको प्रयोगमा जोड दिएको उल्लेख गर्दै  डिजिटल प्रदेश बनाउने कार्यको शुरुवात आगामी आर्थिक वर्षदेखि शुरु हुने जानकारी दिए ।

मुख्यमन्त्री राईले प्रदेश सरकारले रोजगारी, उत्पादनमूलक क्षेत्रमा आगामी बजेट खर्च गर्ने बताउँदै सूचना प्रविधिलाई विद्यालयस्तरबाट शिक्षामा जोडी १० वर्ष्भित्र प्रदेशबाट कोही विदेशमा श्रम बेच्न जानु नपर्ने अवस्थामा सिर्जना गरिनेछ भने । 

आसिटी मिडियाका अध्यक्ष राजन लम्साल, क्यानका सन्तोष दाहाल, प्रविन कुण्डलिया, निर्मल थापा, हरि अधिकारी, पुसेट कलेजका मनोज साह, प्याब्सनका प्रेमलाल साह र नेपाल पत्रकार महासङ्घ मोरङ अध्यक्ष बन्धु पोखरेलले उत्तर–दक्षिण बाटोको सुविधा, पर्यटन पूर्वाधार निर्माण र जलविद्युत् उत्पादनमा ध्यान केन्द्रीत गरेमा रोजगारी र आर्थिक समृद्ध कायम हुने विचार व्यक्त गरे ।

स्टार्टअप र स्थानीय उद्यमशीलतालाई स्थानीयस्तरमा प्रवद्र्धन गर्नु मेलाको उद्देश्य रहेको छ । मेलामा सूचना प्रविधिसम्बन्धी ५० वटा स्टलमा विभिन्न विषयमा प्रयोगात्मक रुपमा जानकारी प्रदान गरिएको छ ।


Views: 79