18th August | 2019 | Sunday | 3:24:01 AM

विश्व तापमान अपूर्व वृद्धि

(बिबिसी)   POSTED ON : श्रावण १३, २०७६ (६:०५ AM)

विश्व तापमान अपूर्व वृद्धि

जेनेभा । विश्व तापमानको वर्तमान गति र विस्तार पछिल्ला दुई हजार वर्षयताकै उच्च रहेको अनुसन्धानकर्ताले बताएका छन् । पछिल्लो शताब्दीमा भएको तापक्रम वृद्धिको मात्रालाई ‘लिटिल आइस एज’ जस्ता चर्चित ऐतिहासिक घटनासँग पनि तुलना गर्न नसकिने उनीहरूले देखाएका छन् । 

अहिलेको तापमान वृद्धिदर पहिले मापन गरिएका सबै दरहरूभन्दा बढी रहेको अनुसन्धानले देखाएको छ । वैज्ञानिकले पछिला शताब्दीको सर्वेक्षण गरी विश्वको जलवायु परिवर्तनको इतिहासलाई हेर्दा त्यसमा कैयौं महŒवपूर्ण युगहरू देखापरेका छन् । ती युगहरू ‘रोमन वार्म पिरियड’ देखि सुरु भएका थिए र ‘लिटिल आइस एज’ सम्म पुगेका थिए । ‘रोमन वार्म पिरियड’ सन् २५० देखि सन् ४०० सम्मको थियो । 

त्यसबेला पनि युरोपमा असामान्य खालको गर्मी देखापरेको थियो । त्यस्तै सन् १३०० ताकादेखि ‘लिटिल आइस एज’ मा भने तापक्रमा असामान्य रूपमा कमी आएको थियो । ती घटनालाई विभिन्न शताब्दीमा विश्व कैयौं पटक तातो र चिसो बढेको प्रमाणहरूको रूपमा हेरिएको थियो । र, औद्योगिक क्रान्तिपछि देखिएको तापमान वृद्धि पनि त्यस्तै स्वरूपको रहेको थियो, त्यसले गर्दा त्यसबारे चिन्तित हुनुपर्ने कुनै कुरा थिएन । तीनवटा नयाँ अनुसन्धान पत्रहरूले चाहिँ त्यो तर्क अस्थिर जगमा अडिएको देखाएका छन् । 

वैज्ञानिकको समूहले विगत दुई हजार वर्षदेखिका सात सय प्रतिनिधि अभिलेखहरूलाई पुनर्निर्माण गरेर तापक्रम परिवर्तनको अध्ययन गरेका हुन् । उनीहरूले रूख, मुगा र तालहरूका अवशेषहरूको अध्ययन गरेका थिए । त्यसपछि उनीहरूले अहिलेको जस्तो विश्वस्तरमा जलवायु परिवर्तनको घटनाहरू पहिले नभएको निर्धारण गरेका हुन् ।

सन् ९५० देखि १२५० सम्मको ‘मिडिएभल वार्म पिरियड’मा मात्र पृथ्वीको ४० प्रतिशत भागमा तापक्रम वृद्धि भएको थियो अन्यथा अन्य अवस्थामा तापमान परिवर्तन क्षेत्रीय थियो । तर आजको तापक्रम वृद्धिले भने त्यसविपरीत पृथ्वीको अधिकांश भागलाई समेटेको छ । आधुनिक औद्योगिक युगभन्दा अघि जलवायु परिवर्तनको सबैभन्दा महŒवपूर्ण प्रभाव पार्ने कुरा ज्वालामुखी भएको पनि अनुसन्धानकर्ताले देखाएका छन् । उनीहरूले सूर्यको विकिरणमा आएको परिवर्तनले विश्व तापक्रममा प्रभाव परेको कुनै संकेत भेटेनन् । अनुसन्धानकर्ताका अनुसार वर्तमान समयमा प्राकृतिक परिवर्तनको मात्रा निकै धेरै छ । स्वीट्जरल्याण्डको बर्न विश्वविद्यालयका डा. राफेल न्युकोम भन्छन्, ‘पछिल्लो समयमा हामीले गणना गरेको प्राकृतिक तापमान वृद्धिका तुलनामा निकै बढी देखिन्छ । यो अहिलेको तापमानलाई देखाउने अर्को दृष्टिकोण हो ।’ अनुसन्धानकर्ताले वर्तमान जलवायु परिवर्तनका लागि मानव नै मुख्य प्रभावकार्ता हो भनेका छैनन् तर निष्कर्षमा भने त्यस्तै देखिएको छ ।

आफूहरूले पछिल्लो तापमान वृद्धिको कारण के हो भन्नेमा बढी ध्यान नदिएको तर प्रमाणले मानवनिर्मित कारणले नै त्यस्तो भइरहेको छ भन्ने देखाएको डा. न्युकोमले बताए । ‘हामी स्पष्टरूपमा त्यसलाई परीक्षण गर्न सक्दैनौं तर प्राकृतिक कारणले मात्र हाल तापमान वृद्धि भएको भने होइन,’ उनी भन्छन् । नयाँ अध्ययनले अन्य वैज्ञानिकहरू प्रभावित भएका छन् । धेरै विज्ञहरू नयाँ अनुसन्धानले पछिल्ला वर्षमा जलवायु परिवर्तनप्रति शंका व्यक्त गर्नेले गरेका दाबीहरूलाई खारेज गरिदिएको बताएका छन् । ती तीनवटा अनुसन्धानपत्र नेचर र नेचर जियो साइन्स नामक जर्नलहरूमा प्रकाशित भएका छन् । 


Views: 13