17th October | 2018 | Wednesday | 9:57:27 PM

बलात्कारको प्रयास गरेको भन्ने आरोप प्रमाणित भए कारवाही भोग्न तयार छु : अमृत कार्की (भिडियोसहित)

  POSTED ON : Thursday, 04 October, 2018 (7:25:54 PM)

बलात्कारको प्रयास गरेको भन्ने आरोप प्रमाणित भए कारवाही भोग्न तयार छु : अमृत कार्की (भिडियोसहित)

काठमाडौं । अमृता फाउण्डेशन नेपालका सचिव अमृत कार्कीले आफूमाथि संस्थामा आवद्ध भोल्युनटिएर आँचल श्रेष्ठले यौन दुव्र्यवहार गरेको भनेर लगाएको आरोपमा कुनै सत्यता नरहेको भन्दै खण्डन गरेका छन् । 

बिहीबार रिपोर्टर्स क्लब नेपालमा उक्त संस्थाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कार्कीले आफूमाथि नियोजित षड्यन्त्र रचेर यस्तो आरोप लगाईएको स्पष्ट पारे । उनले भने,‘हाम्रो संस्थामा पहिले कार्यरत मनोविद रमा कार्की हुनुहुन्थ्यो, तर उहाँले संस्था छोडिसकेपछि षड्यन्त्रपूर्वक कसैलाई प्रयोग गरेर संस्थाको अस्मितामाथि प्रहार गर्न र मेरो व्यक्तिगत चरित्र हत्या गर्न आँचललाई प्रयोग गरेर यस्तो आरोप लगाउनुभएको हो । यसमा कुनै सत्यता छैन् ।’

रमा कार्कीले आफूहरुको संस्था गत जुन १५ मा नै छोडेको उनले स्पष्ट पारे । उनले भने,‘उहाँले हाम्रो संस्थाको कोषाध्यक्ष पद माँग्नुभएको थियो । तर, हाम्रो कार्यसमितिले उहाँलाई कोषाध्यक्ष नबनाउने निर्णय गरेपछि उहाँले अनेक जालझेल र प्रपञ्च रचेर संस्थाको विरुद्धमा यस्तो गतिविधि गर्नुभएको हो ।’

उनले रमा कार्कीले संस्थाको बजेट आफ्नो कब्जामा लिनसमेत प्रयास गरेको र नसकेपछि संस्थालाई नै बदनाम गराउन यस्तो हर्कत गरेको उल्टै आरोप लगाए । उनले आफूमाथि बलात्कारको प्रयास गरेको भनेर लागेको आरोप प्रमाणित भए जुनसुकै कानुनी कारबाही भोग्न पनि तयार रहेको सुनाए । 

कार्यक्रममा संस्थाका अध्यक्ष सोहन प्रधानाङ्गले व्यक्तिगत विवादलाई अमृता फाउण्डेशनजस्तो कडा खालका मानसिक रोगी तथा घरमा सम्हाल्न नसक्ने विरामीहरुको सेवा दिईरहेको संस्थालाई यसरी बाहिर ल्याउन नहुने धारणा राखे । उनले भने,‘हाम्रो संस्थालाई नकारात्मक प्रभाव परेमा संस्थामा सेवा लिईरहेका विरामीहरुको जिम्मा कसले लिन्छ ? उनीहरुको भविष्य के हुन्छ ? यसतर्फपनि सबैको ध्यान जाओस् भन्ने मेरो आग्रह गर्छ ।’

कार्यक्रममा संस्थाका सदस्य शंकर फुयालले व्यक्तिगत विवादको विषयले संस्थामा आवद्ध विरामी तथा अन्य सेवाग्राहीहरुलाई नकारात्मक असर पर्न नहुने धारणा राखे । उनले भने,‘संस्थामा आवद्ध सचिव अमृतजीमाथि लागेको बलात्कारको प्रयासको आरोप प्रमाणित भए उहाँ कारबाहीको भागिदार हुनुपर्छ ।’


Views: 78