गहिरो अविश्वासबीच अमेरिका र इरान वार्ताको टेबलमा

काठमाडौं । मध्यपूर्वमा विगत ६ हप्तादेखि जारी भीषण युद्ध र त्यसले निम्त्याएको विश्वव्यापी ऊर्जा संकटलाई विश्राम दिने उद्देश्यले संयुक्त राज्य अमेरिका र इरानबीच पाकिस्तानको राजधानी इस्लामाबादमा ऐतिहासिक शान्ति वार्ता सुरु भएको छ । सन् १९७९ को इस्लामिक क्रान्तिपछि यी दुई चीरपरिचित शत्रु राष्ट्रका उच्च अधिकारीहरू पहिलोपटक एउटै टेबलमा प्रत्यक्ष वार्ताका लागि बसेका हुन् । पाकिस्तानको मध्यस्थतामा भइरहेको यो वार्तालाई विश्व कूटनीतिमा एउटा दुर्लभ र महत्त्वपूर्ण घटनाको रूपमा हेरिएको छ । प्राप्त उच्चस्तरीय सूचनाअनुसार, शनिबार अमेरिका, इरान र मध्यस्थकर्ता पाकिस्तानसहित तीनै पक्षको प्रत्यक्ष सहभागितामा पहिलो चरणको वार्ता सम्पन्न भएको छ ।

करिब अढाई घण्टा चलेको पहिलो चरणको छलफल निकै ‘सकारात्मक’ रहेको पाकिस्तानी सरकारी स्रोतले जनाएको छ । छोटो विश्रामपछि वार्ताको दोस्रो चरण सुरु हुने बताइएको छ । प्रत्यक्ष वार्ताको टेबलमा बस्नुअघि दुवै देशका प्रतिनिधिमण्डलले पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफसँग छुट्टाछुट्टै अनौपचारिक भेटवार्ता गरेका थिए ।

अमेरिकी वार्ता टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गरिरहनु भएको छ । कुनै पनि अमेरिकी उपराष्ट्रपतिले पाकिस्तानको भ्रमण गरेको २१ वर्षपछिको यो पहिलो घटना हो । अमेरिकी प्रतिनिधिमण्डलमा राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विट्कफ र राष्ट्रपतिका ज्वाइँ ज्यारेड कुश्नर जस्ता प्रभावशाली अनुहारहरू सहभागी हुनुहुन्छ ।

यता, इरानी टोलीको नेतृत्व त्यहाँका सभामुख मोहम्मद बाकर कलिबाफले गर्नुभएको छ । मध्यस्थकर्ताको भूमिकामा रहेका पाकिस्तानी प्रधानमन्त्री शरिफको साथमा उपप्रधान एवं परराष्ट्रमन्त्री र आन्तरिक मामिलामन्त्रीसमेत वार्ता प्रक्रियामा सक्रिय हुनुहुन्छ ।

ट्रम्पको दाबी : इरानले नराम्ररी हार्दै छ, होर्मुज खुलाउँदै छौँ
वार्ता चलिरहँदा वासिंगटनबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रामक तर निर्णायक सन्देश दिनुभएको छ । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा पोस्ट गर्दै इरानले यो युद्ध ‘नराम्रोसँग हारिरहेको’ दाबी गर्नुभएको छ । ‘केही सञ्चार माध्यमलाई इरानले जितिरहेको छ भनेर लेख्न मन पर्छ, तर इरानले हारिरहेको वास्तविकता अब सबैलाई थाहा भइसकेको छ,’ ट्रम्पले लेख्नुभएको छ ।

साथै, ट्रम्पले विश्वव्यापी इन्धन आपूर्तिको ‘लाइफलाइन’ मानिने र इरानले बन्द गरिदिएको ‘स्ट्रेट अफ होर्मुज’ जलमार्ग खुलाउने प्रक्रिया अमेरिकाले सुरु गरिसकेको घोषणा गर्नुभएको छ । समुद्रमा बिछ्याइएका धराप (माइन) हरू पन्छाउन सुरु गरिएको र धराप बिछ्याउने डुंगाहरूलाई अमेरिकी जलसेनाले डुबाइदिएको उहाँले बताउनुभएको छ । उक्त जलमार्ग हुँदै दुईवटा चिनियाँ पानीजहाज सुरक्षित रूपमा पार भएको तथ्यांकले अमेरिकाको उक्त दाबीलाई बल पुर्‍याएको छ । यो जलमार्गको सुचारु सञ्चालन अमेरिकाको प्रमुख सर्त रहँदै आएको छ ।

अविश्वासको पर्खाल र चेतावनी
दुई साताअघि मात्र पाकिस्तानकै पहलमा दुवै पक्षले युद्धविराम गरेका थिए । तर, युद्धविरामको सर्त उल्लंघन गरेको भन्दै दुवैले एक-अर्कामाथि आरोप लगाइरहेका छन् । दशकौँ लामो दुश्मनीका कारण दुवै पक्षबीच गहिरो अविश्वास छ ।

इरानी प्रतिनिधिमण्डलका नेता सभामुख कलिबाफले वासिंगटनले सही र न्यायपूर्ण सम्झौताको प्रस्ताव ल्याएमा र इरानको अधिकार सुनिश्चित गरेमा तेहरान सहमतिका लागि तयार रहेको बताउनुभएको छ । यद्यपि, उहाँले अमेरिकासँग आफूहरूको ‘विश्वास नरहेको’ प्रष्ट पार्नुभयो ।

उता, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि वार्ता सुरु हुनुअघि नै इरानलाई अमेरिकासँग ‘कुनै पनि प्रकारको खेलबाड नगर्न’ कडा चेतावनी दिनुभएको छ । दुवै पक्षको कडा अडानका कारण एकै दिनमा जादुमय परिणाम आउन गाह्रो हुने कूटनीतिक विश्लेषकहरू बताउँछन् ।

पाकिस्तानमा उत्सवको माहोल
आफ्नै आन्तरिक राजनीतिक अस्थिरता र धराशायी बन्दै गएको अर्थतन्त्रसँग जुधिरहेको पाकिस्तानका लागि यो शान्ति वार्ता एउटा ठूलो कूटनीतिक ‘सञ्जीवनी’ बनेको छ । राजधानी इस्लामाबादका सडकहरूमा अमेरिका र इरानका झण्डाको बीचमा पाकिस्तानको प्रतीक चिन्ह राखिएका ‘इस्लामाबाद वार्ता’ लेखिएका ठूला डिजिटल बोर्डहरू सजाइएका छन् । विश्वका कुनै पनि शक्तिशाली राष्ट्रले गर्न नसकेको काम आफूले गरेको भन्दै पाकिस्तान सरकारले यो ऐतिहासिक सफलताको खुसियाली मनाउन दुई दिने सार्वजनिक बिदा नै घोषणा गरेको छ । सहरभरि सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ ।

दक्षिण एसियाली मामिलाका विज्ञहरूका अनुसार, यदि यो युद्ध नरोकिएको भए इरानसँग जोडिएको पाकिस्तानलगायत सिंगो दक्षिण एसिया नै युद्धको भुमरीमा तानिने खतरा थियो । पाकिस्तानले मध्यस्थता गरेर एउटा सम्भावित भयानक विपत्ति टारेको छ । विश्वभरका नेताहरू र ऊर्जा बजारको नजर यतिबेला इस्लामाबादमा टिकेको छ । यो वार्ताले मध्यपूर्वको युद्धलाई पूर्णविराम लगाउँछ या फेरि अर्को संकटको बाटो खोल्छ, त्यो भने आगामी चरणका छलफलहरूले तय गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *