स्पेनिस ला लिगा : रियल बेटिसको सानदार जित

Read Time = 3 mins

म्याड्रिड । स्पेनिस ला लिगाको तेस्रो स्थानमा रहेको रियल बेटिसले स्पान्योलमाथि सानदार जित निकालेको छ । शुक्रबार राति भएको खेलमा बेटिसले १० खेलाडीमा समेटिएको स्पान्योललाई उसैको मैदानमा ४–१ गोलले हरायो ।

रियल बेटिसको जितमा बोर्जा इग्लेसियसले दुई तथा गुइडो रोड्रिग्वेज र जोस विलियसले गोल गर्नुभयो । स्पान्योलका राउल डे टोमसको सुरुवाती गोल सान्त्वना गोलमा परिणत भएको थियो । राउल डे टोसमले १४औँ मिनेटमा गोल गर्दै घरेलु टोलीको उत्साह जगाउनुभएको थियो ।

तर, स्पान्योलको अग्रता लामो समय टिकेन । ३१औँ मिनेटमा बेटिसका बोर्जा इग्लेसियसले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । ३६औँ मिनेटमा गुइडो रोड्रिग्वेजले नविल फेकिरको पासमा गोल गर्दै पहिलो हाफमा बेटिसलाई २-१ गोलको अग्रता दिलाउनुभयो ।

दोस्रो हाफमा पनि सानदार प्रदर्शन गरेको बेटिसले ५३औँ मिनेटमा तेस्रो गोल गरेको थियो । बोर्जा इग्लेसियसले सर्जिओ कानालेसको पासमा गोल गर्दै बेटिसलाई थप बलियो बनाउनुभयो । त्यसपछि ७६औँ मिनेटमा जोस विलियसले नविल फेकिरको पासमा गोल गर्दै बेटिसलाई सहज जित दिलाउनुभयो ।

८१औँ मिनेटमा राउड डे टोमस दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएपछि स्पान्योल १० खेलाडीमा समेटिएको थियो । सुरुवातमै गोल गरेको स्पान्योल अन्त्यमा फराकिलो हार खेप्न बाध्य बन्यो । दुई गोल गर्नुभएका बेटिसका बोर्जा इग्लेसियस ‘म्यान अफ दि म्याच’ हुनुभयो ।

जितसँगै तेस्रो स्थानमा यथावत् रहेको बेटिसले २२ खेलबाट ४० अंक बनाएको छ । शीर्ष स्थानमा रहेको रियल म्याड्रिडको ४९ अंक छ । एक खेल कम खेलेको सेभिया ४५ अंकसहित दोस्रो स्थानमा छ । पराजित स्पान्योल २७ अंकसहित ११औँ स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?